नोबेल अस्पतालमा बढ्यो बिरामीको भीड

चैत्र २१, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिरामीको भीड बढेको छ ।  

कोरोना भाइरसको संक्रमणका कारण देशभर गरिएको लकडाउनले केही साता यता अस्पतालहरुमा बिरामीको चाप ह्वात्तै घटेको थियो । तर, अहिले पुनः बिरामीको चाप बढ्न थालेको हो । 

नोबेलको आकस्मिक कक्षमा अहिले दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको इमर्जेन्सी इन्चार्ज डा. अमित अग्रहरीले जानकारी दिए । ‘बिगत एक हप्ता भन्दा बढी समययता बिरामी धेरै कम थिए,’ उनले भने, ‘अहिले दुई दिनयता बिरामीको चाप ह्वात्तै बढेको छ । लगभग पहिलेकै अवस्थामा बिरामी आउन थालिसकेका छन् ।’  

अहिले दम, रुघाखोकी, मुटुरोग र नसा सम्बन्धि समस्याका बिरामी बढी आइरहेको डा.अग्रहरीको भनाइ छ ।  

कतिपय निजी अस्पतालहरुले कोरोनाको डरले बिरामी लिन नमानिरहेका बेला केही दिनअघि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले कोरोनासहित जस्तासुकै समस्या भएका बिरामीको उपचारमा नोबेल अस्पताल २४ सै घण्टा खुल्ला रहेको उद्घोष गरेका थिए ।  

नोबेलमा कोरोनाका सम्भावित बिरामी र अन्य समस्याका बिरामीलाई छुट्टाछुट्टै कक्षमा राखेर उपचार गरिँदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् । ‘बिरामीहरुलाई संक्रमणबाट जोगाउनका लागि बेग्ला–बेग्लै उपचार कक्षको व्यवस्था मिलाएका हौं’ उनले भनिन् । 

नोबेलले स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगाउन र बिरामीमा पनि संक्रमण फैलन नदिनका लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएको छ ।  

दैनिक करिव ३ हजार बिरामीको उपचार गर्दै आएको नोेबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सबैभन्दा ठूलो र स्तरीय अस्पताल हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =