नेप्सेको सीईओको लागि आवेदन खुला, यस्ता छन् योग्यता र सर्तहरू

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्तिका लागि आवेदन माग गरिएको छ ।
अर्थ मन्त्रालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।
आवश्यक योग्यता र प्रावधान
सूचनाअनुसार नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।
अनुभवको हकमा, उम्मेदवारसँग पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ। जसमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।
नेप्सेको कार्यकारी प्रमुखका लागि आवेदन दिने उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन दस्तुर कति ?
यस पदका लागि आवेदन दिने व्यक्तिले ५ हजार रुपैयाँ आवेदन दस्तुर बुझाउनुपर्नेछ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१ र राजस्व शीर्षक १८२२४ मा जम्मा गरी सक्कल भौचर आवेदनका साथ पेस गर्नुपर्नेछ। प्रमुख कार्यकारी अधिकृतले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरू नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम हुने सूचनामा उल्लेख छ।
छनोट प्रक्रिया
प्राप्त भएका आवेदनहरू मध्येबाट छनोट समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र प्रस्तुतीकरणका आधारमा उपयुक्त व्यक्तिलाई सिफारिस गर्नेछ। समितिले कुनै पनि आवेदनलाई कारण खुलाएर वा नखुलाई रद्द गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ।
यदि कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेको पाइएमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाहीसमेत हुने चेतावनी दिइएको छ।








