भारतीय सीमामा अलपत्र परेका नेपाली हाम्रा नागरिक हैनन् र ?

सरकार, कोरोना भाइरस कोभिड १९, को कहरले विश्वनै आतंकित भएको कुरा फेरी एक पटक जानकारी गराएँ । पेट पाल्नको लागि मेरा नेपाली दाजुभाइ देश विदेशमा काम गर्न गएको कुरा जानकारी छँदैछ । विश्व नै आक्रान्त भएको यस अवस्थामा चीनको वुहानमा भएका भाइबहिनीलाई नेपालबाट हवाईजहाज पठाएर घर फर्काउँदा सारा नेपालीले बधाई र आशीर्वाद दिएकोमा म पनि गदगद भए ।  

अरू टाढाका देशमा भएका दाजुभाइ त टाढा भएको र हवाईजहाज नै चल्न बन्द भएकोले फर्किने इच्छा हुँदाहुँदै पनि फर्किन सकेनन् । जहाँ छौँ त्यतै सुरक्षित बस है ! भन्दै घरबाट आमा, बाबु र परिवारले दिनदिनै फोन गरेर सम्झाइ राखेका छन् । तर, नजिक रहेको भिसा र पासपोर्ट नै नचाहिने वैदेशिक रोजगारीको मुख्य र सजिलो गन्तव्य भारतमा ५० लाखभन्दा बढी नेपाली दाजुभाइ छन् । तिनीहरू मध्ये केही त भारतमै सुरक्षित बस्न सक्ने आफ्नो व्यवस्था भएकाले उतै सुरक्षा अपनाउँदै बसिरहेका छन् ।  

तर, केही त्यस्ता दाजुभाइ छन्, जो भारतमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । वाचमेन र कुल्ली भई काम गर्छन् । जसको बस्नलाई सुरक्षित ठाउँ छैन । घर र अफिसका सिँढीहरूमा कागजको कार्टुनको ओछ्यान बनाएर सुत्ने गर्छन् । गोदाम र छतको पानी ट्याङ्की मुनी गुजारा गरेर बसिरहेका छन् । कोरोना संक्रमणका कारण काम बन्द भए पछि घरमा छोडेका लालाबालालाई सम्झेर घर फर्किए । मरेसँगै मरौँला, बाँचे सँगै बाँचौला, बिरामी भए एक अर्कोलाई सहयोग गरौँला भन्दै श्रीमती छोरा छोरी बुढा बा आमालाई सम्झेर घर फर्किए । कतिपय त घर पुग्न पाए । तर, अझै सैयौं दाजुभाइ बोर्डरमै रोकिए ।  

काम गर्ने ठाउँबाट हिँडेकाहरू कैयौँ अर्को सहरमा पुग्ने बित्तिकै भारत सरकारले लकडाउन गरेको कारण बिच बाटोमै रोकिन पुगे । सरकारलाई जानकारी हुनुपर्ने हो, मुम्बईबाट ट्रेनमा हिँडेका तर, दिल्लीमा पुगेपछि भारतमा भएको लकडाउनले गाडी नपाएर पैदल भोक भोकै दिल्लीको सडकमा हिँडिरहेकाहरूको अवस्था । एक डेढ महिने बालकलाई काखीमा च्यापेकी महिला र सँगै हिँडिरहेका ८/१० जना दाजुभाइको अवस्था । भारतीय टेलिभिजन च्यानलले उनीहरूको दुःखको अवस्था देखाउँदा छाती चिरिएर आयो ।  

‘दुई दिन देखि पानी मात्र खाएकी छु । खान नपाएकोले दूध पनि आउँदैन । काखको बच्चा रोइरहेको छ’ भनेको सुन्दा आँखाबाट बरर आँसु झर्‍यो । यस्तो लाग्यो मसँग अहिले हेलिकप्टर भएको भए तिनीहरूलाई उडाएर ल्याउँथे र घरमा पुर्‍याइदिन्थे । तर के गर्नु सरकार ! हामी जनतासँग हेलिकप्टर कहाँबाट हुन ? तर सरकारसँग त थियो नि हैन ? एक पटक त्यो दर्दनाक दृश्य तिमीले देखेको भए अवश्य ल्याएर आउँथ्यौ होला । दुखद तिमीलाई फुर्सद भएन होला टेलिभिजन हेर्ने । उनीहरू दिल्लीबाट जति दिन लागे पनि नेपाल पुगेर छाड्छौँ भनेर पैदल आउँदै छन् । बसौँ भने पनि उनीहरूका आफन्त कोही छैनन् त्यो बिरानो ठाउँमा ।   

सरकार, 

तिमीलाई थाहा छ, नेपालमा लकडाउन भएका कारण बोर्डरमा आएका हजारौँ दाजुभाइले नेपाल प्रवेश गर्न नपाएपछि सरकार विरोधी नारा लगाउँदा कति खिन्नता महसुस भएको थियो । भुटानी शरणार्थी वर्षौँ नेपाल आएर बसे नेपालले बास दियो । बंगलादेशबाट आएका रोहिंगा शरणार्थीलाई बास दिइरहेको छ । तर, आफ्नै नागरिकलाई देश छिर्न नदिन पुलिस लगाउँदा तिमीहरूको मन दुखेन ? यो कस्तो व्यवस्था आफ्नै देशमा नागरिक छिर्न नपाउने ? महामारी फैलियो भन्दैमा आफ्नै देशका नागरिकलाई अनागरिक जस्तो व्यवहार गर्नुपर्छ भनेर कुन संविधानमा लेखिएको छ । कुन ग्रन्थमा उल्लेख छ ?   

धार्चुलाको सीमामा स्वदेश छिर्न भोक भोकै बसिरहेकाहरूले राज्य सञ्चालक विरुद्ध दिएको गाली र सराप सायद सरकारले सुन्न पाएन होला । तर, हामीले सुनेका छौँ । वुहानबाट नेपाली फर्काएर ल्याएकोमा सरकारले पाएको स्याबासी र इज्जत भारतीय सीमामा स्खलित भएको छ । इज्जत कमाउन वर्षौँ लाग्छ गुमाउन एक छिन । दुई तिहाइको स्थायी सरकार तीन करोड सबै नेपालीको होइन र ? दैनिक ज्यालादारीकै लागि विदेशी भूमिमा रगत पसिना बगाएका जनताको रक्षाको लागि रहेनछ ।   

अझै केही नेपाली दाजुभाइ नेपाल–भारतको सीमामा अलपत्र छन् । सरकार सुन्यौ कि सुनेनौँ ? कतिपयलाई बोर्डर पारी भारतीय एसएसवीले कोरेन्टाइनमा राखेको छ । कतिपय बोर्डर पारीको पेटीहरूमा रात बिताइरहेका छन् । तिमीलाई थाहा छैन ? गएको चुनावमा तिनीहरूले मतदान गरेर ५ वर्षको लागि स्थीर सरकार बनाऊ, देशमा विकास गर, भ्रष्टाचार निर्मूल गर भनेर म्यान्डेट दिएर ज्याला मजदुरी गर्न बिदेशिएका थिए ।   

सरकारले अहिले उनीहरूले तिमीहरूलाई लगाएको ऋण चुक्ता गर्ने महत्त्वपूर्ण अवसर आएको छ । सायद यस्तो अवसर फेरी आउला नआउला । कोरोनाले अवसर जुराएको छ । आफ्ना नागरिक कहाँ छन्, कुन अवस्थामा छन् ? खोज्ने काम राज्यको हो । आज राज्यले विदेशी भूमिमा अलपत्र परेका नागरिकलाई खोज्न सकेन भने भोलि तिनीहरूको सराप लाग्नेछ । सरकार हिम्मत गर, एक पटक राष्ट्रिय झन्डा सहितको गाडी लिएर भारतीय सीमामा अलपत्र परेका नेपालीलाई सुरक्षित स्वदेश फर्कने वातावरण बनाऊ ।   

तिमीले नेपालमा रहेका विदेशी पर्यटकलाई देशका विभिन्न कुनाबाट खोज्दै हवाईजहाज चढाएर काठमाडौँ ल्यायौ । ती देशले ठुला जहाज पठाएर आफ्नो देश लगेको त आफ्नै अगाडी देखेका छौ त ! तिमी अलिकति त सिकन त्यसबाट । ठुला हवाईजहाज लिनुपर्दैन भारतीय भूमिमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन । जीवनमा हवाईजहाज नचढेका, डराउँछन् त्यसको आवाज सुनेर उनीहरू । सामान्य सवारी साधनबाटै उनीहरूलाई बोर्डर क्रस गराउन सकिन्छ । सरकार,  पारीबाट नेपालसम्म ल्याऊ र आफ्नै देशका क्वारेन्टाइनमा हप्ता राख । भारतीय भूमिबाट आएका नेपाली नागरिकलाई खुवाउनलाई सरकारले हात थाप्यो भने मनकारी मनहरू धेरै छन् नेपालमा । घरघरबाट माना चामल उठाएर पनि खुवाउँछन् त्यसको चिन्ता नलेऊ ।   

एक पटक गएर हेरिदेऊ, बिन्ती छ । र अर्को कुरा नेपाल–भारतको बोर्डरमा नेपाली सीमामा रहेका भारतीयलाई नेपालले राख्ने र पारी भारततिरका नेपालीलाई भारतीयले नै क्वारेन्टाइनमा राख्ने भनी बोर्डरका सिपाही बिच सहमति भयो रे ! तर, यो कुरा पारी बसेका नेपाली थाहै छैन । उनीहरू यति मात्र बुझ्छन् कि, सरकारले हाम्रो वास्ता गरेन । बरु भारत सरकारले पो हाम्रो वास्ता गरेको छ । हामीलाई कम्तीमा बस्न त दिएको छ । हामीलाई हाम्रै सरकारले स्वदेश छिर्न पाउने नागरिक तथा संवैधानिक अधिकारबाट वञ्चित गर्‍यो भन्ने मानसिकता विकास भइरहेको छ । हाम्रो मानव अधिकारलाई सरकारले कुण्ठित गर्‍यो, हरण गर्‍यो भनिरहेका छन् सीमामा अलपत्र परेका नेपाली नागरिकहरूले । एउटै देशभित्र रहेका नागरिकलाई फरक व्यवहार भइरहेको छ । यसले सरकार प्रति नागरिकमा वितृष्णा पैदा हुन्छ । राज्यको सिष्टम प्रति आक्रोश बढ्छ । 

त्यसैले सरकार पुनः बिन्ती छ, समयमै बुद्दी पुर्‍याएर भारतीय सीमामा अलपत्र परेका नेपाली दाजुभाइलाई आफ्नै देशमा आएर बस्न पाउने अधिकारको सम्मान गर । बाँकी तिम्रो मर्जी, 

                                                                                                                                                                                                                 उही तिम्रो राम्रो चिताउने एक नागरिक  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *