कोरोना भाइरसको औषधि भन्दै ‘रक्सी’ पिउने ६०० जनाको मृत्यु !

फाइल तस्विर 

चैत्र २६, काठमाडौं । ईरानमा कोरोना भाइरस (कोभिड १९) को औषधि भन्दै विषाक्त रक्सीको सेवन गर्ने ६ सय जनाको मृत्यु भएको छ ।  

विषाक्त रक्सी सेवनबाट ३ हजार मानिसहरु बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बिरामी सबैलाई अस्पताल भर्ना गरिएको छ ।  

डेली मेलको रिपोर्ट अनुसार ती बिरामी तथा मृतक व्यक्तिहरुले कोरोना भाइरसको औषधि भन्दै विषाक्त अल्कोहल सेवन गरेको मंगलबार ईरानका प्रवक्ता घोमल हुसेन इस्माइलीले पुष्टि गरे ।  

इस्माइलीका अनुसार विषाक्त अल्कोहलको सेवनबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । तस्निम न्यूज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘अल्कोहल पिएर रोग निको हुँदैन, यसले ज्यान समते लिन सक्छ । यस घटनामा धेरै मानिसहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेका मानिसहरुलाई आपराधिक गतिविधिमा मुद्दा चलाइने छ ।’ 

ईरानमा ६२ हजार बढी मानिसहरु कोरोना भाइरस संक्रमित छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ३३ पुगेको छ । तर ईरानले जारी गरेको कोरोना भाइरसको तथ्यांकमा प्रश्न उठिरहेको छ । सरकारले मृतकको संख्या कम देखाएको आरोप छ ।  

ईरानको संसदको कम्तीमा ३१ सदस्यमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छ । सांसदहरुमा कोरोना संक्रमण देखिएपछि संसद बन्द गरिएको थियो । मंगलबारदेखि भने संसदको कामकारवाही पुनः सुरु गरिएको छ ।  

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार २६ पुगेको छ भने १४ लाख ३० हजार ९ सय ८१ जनामा संक्रमण भएको पुष्टि भएको छ। 

संक्रमितमध्ये ३ लाख १ हजार ८ सय २८ जना उपचारपछि निको भई घर फर्केका छन् । हालः विश्वमा १० लाख ४२ हजार ७ सय ८६ जना कोरोना भाइरसका संक्रमित उपचारत छन् । उपचारतमध्ये ४७ हजार ९ सय १२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ९ लाख ९४ हजार ८ सय ७४ जनाको अवस्था सामान्य छ । 

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा देखिएको थियो । त्यसयता यो भाईरस विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिएको छ ।   

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, क्यानडा र ब्राजिल रहेका छन् ।   

पछिल्लो समय कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा स्थिति झनै भयावह हुँदै गएको छ । मंगलबार मात्रै त्यहाँ थप १ हजार ९ सय बढीको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च हो । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने हालसम्म ४ लाख ३ सय २३ मानिसहरु संक्रमित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *