नेपालमा कार्यरत विदेशी डाक्टरलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माको माग

चैत्र २५, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरूलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् । नेपालका विभिन्न अस्पतालमा सयौँको सङ्ख्यामा भारतीयसहित विभिन्न मुलुकका डाक्टरहरू वर्षौँअघिदेखि कार्यरत रहेकाले उनीहरूलाई पनि स्वास्थ्य बिमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माले माग गरेका हुन् । 

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुने र उनीहरू उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ ।   

‘कोरोना रोकथाम र सङ्क्रमितसँगको फन्ट लाइनमा डाक्टरहरू नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरू पनि धेरै छन् ।’ सञ्चार कर्मीसँगको कुराकानीमा उनले भने ‘यस्तो बेला स्वदेशी विदेशीबिच फरक नछुट्ट्याई सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।’ 

फरक पसंंगमा उनले अहिले स्वदेशमै रहेकामा पनि सङ्क्रमण देखापरिसकेकाले अब स्वाब परीक्षणको मात्रा बढाउनुको विकल्प नभएको दाबीसमेत गरे । उनले भने,‘लक्षण नदेखिँदै पनि सङ्क्रमण भइसकेको हुनसक्छ । यस्तो अवस्थामा धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नु पर्छ ।’   

सम्भावित महामारी रोकथामका लागि मुलुकका अधिकांश जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाएर हजारौँ व्यक्तिको परीक्षण गर्ने वातावरण मिलाउन डा.शर्माको सुझाव छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =