लकडाउनमा पनि रोकिएन पूर्वाधार निर्माणको काम


वैशाख ४, काठमाडौं। नेपालमा कोरोना भाइरस महामारीको जोखिम कम गर्न घोषित ‘लकडाउन’मा पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ। कोरोना रोकथामका सुरक्षा मापदण्ड पूरा गरी सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ।
सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड कायम गरी आयोजनाका कामहरुलाई निरन्तरता दिइएको विभागले जनाएको छ। विभागका महानिर्देशक केशवकुमार शर्माले काममा खटिने जनशक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक सतर्कताका साथ पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको बताए।
उनले कोरोना संक्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूको पालना गरी मुलुकभरि सडक र पुलसँगसम्बन्धित डेढ सय आयोजनाको भइरहेको जानकारी दिए। जसमा साठी वटा पुल र बाँकी सडक रहेका छन्। कोरोना महामारी फैलिएको नभए अहिले मुलुकभरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुने शर्माको भनाइ छ।
उनका अनुसार निर्माण सामग्री र जनशक्ति उपलब्ध हुने ठाउँहरुको आधारमा आयोजनाहरु प्राथमिकतामा राखी काम भइरहेको छ। यी आयोजनाहरुमा करिब तीन हजार जनशक्ति परिचालन गरिएको छ। लकडाउन अघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए।
