नयाँ वर्षः न हर्ष न उमंग, छैन मन खुशी !

आज नयाँ वर्ष, २०७७ सालको पहिलो दिन । ढल्दै छ दिन, धुम्म छ आकाश । छैन मन खुशी । न जनवरी १ हाँसीखुशी मनाउन पाइयो, न वैशाख १ मा रमाउन पाइयो ।  

ह्याप्पी न्यू इयर भन्दै न परिवारसँग भेट्न पाइयो, न पालुवा पलाउँदै गरेका प्रकृति नियाल्न पाइयो । न त बाह्र पटक पल्टिएको त्यो भित्ताको क्यालेन्डर नै फेर्न पाइयो । 

हरेक नयाँ सालको पहिलो दिन पुराना कामको समिक्षा हुन्थ्यो, अनेकौं संकल्प बुनिन्थ्यो । बिहान पूजा पाठ हुन्थ्यो, किताब पढिन्थ्यो । अँह, छैन मुड यो वर्ष । मात्र धुम्म छ मन, आजको आकाश जस्तै धमिलो, अँधेरो । धुम्म । रुन्चे ।  

हिजोसम्म ठिकठाक थियो, नयाँ साल लागेसँगै बेचैनी झन् बढ्यो । चसक्क चस्कियो छाती जब भोकले पिरोलिएर काठमाडौंबाट रुँदै घर फर्किएका ती दाजुको भिडियो नियालें । 

घर सिन्धुली र नाम नारायण विश्वकर्मा बताउने ती दाजुले भिडियोमा रुँदै भनेका छन् कि काठमाडौंमा खान र बस्न नसक्ने भएपछि बिहान ३ बजे कोठाबाट घर हिँडेको ! घर बनाउने ठाउँमा ज्याला मजदुरी गर्ने उनलाई ठेकेदारले रित्तै पठाएछन्, संकटका बेला ।  

‘एकमुठी चामल र पानीसम्म दिने मान्छे पनि भेटिएनन् काठमाडौंमा । खानलाई केही पनि छैन, दुःख पाइयो धेरै !’–उनको भक्कानिँदो आवाज सुनेर मेरा गला अवरुद्ध भए । आँखा रसाए ।  

उदयपुरका सुमन मगरको जवाफ पनि त्यस्तै थियो–‘कोठा बस्नेलाई पनि राहत दिने भनिएको थियो तर घरभेटीहरुको नागरिकता चाहिने भनेपछि, गाह्रो मानियो दिन । नदिने जस्तो कुरा गरियो अनि हिँडेको घर ।’ 

एक दिनअघि हिमालय टिभीको फेसबुक पेजमा हालिएको उक्त भिडियो १० लाख बढीले हेरिसकेका छन् भने ३८ हजार बढीले प्रतिक्रिया राखेका छन् आजसम्म । पेजबाट मात्रै १५ हजार सेयर भएको छ भने अन्य ग्रुपबाट हजारौँ पटक सेयर भएका छन् ।  

ती सबैको मन रोएको छ, जसले सेयर गर्दै प्रतिक्रिया राखे–कस्ता निर्दयी घरभेटी ? नागरिकताको नम्बर दिन घरै धितो राख्नुपरे जत्तिकै ! कतिले सरकारलाई गाली गरे त कतिले आक्रोश पाेखे । 

एउटा उखान छ नि–नयाँ वर्षको पहिलो दिन जे गर्यो, वर्षभरी त्यही हुन्छ ! 

साँच्चै यो वर्ष नै कोरोनामय हुन्छ ? यसको भय जाँदैन ? के सिन्धुलीका ती दाजै वर्षभरी नै भोकै हिँडिरहनु पर्छ ? परिवार भेट्न पाउँदैनन् ? त्यो गरिब बस्तीको चुलो बल्दैन यो वर्ष ? सालैभरी खाली पेट सुत्नुपर्छ ? किसानका बाली खेतैमा कुहिन्छन् ? धनीले मात्रै खान पाउँछन् ? प्रश्न अनेक छन्, छैनन् उत्तर ! छन् त केवल डर र त्रास ।  

खैर, यी सब भ्रम हुन् र भ्रममै सिमित रहून् ! 

हुन त नेपालमा लकडाउन लम्बिएदेखि नै दैनिक ज्यालामजदुरीमा आफूसहित परिवारको पेट भर्दै आएका धेरै मजदुरहरुको रुवावासी चलिरहेको छ । नेपालमा मात्रै होइन, जति नै विकसित भनिने देशमा पनि मजदुरको अवस्था यस्तै छ, दयनिय ! हरेक देशका नागरिक तितरवितर भएका छन् । कयाैँ विदेशी नागरिक नेपालमा थुनिएका छन्, कयाैँ नेपाली नागरिक विदेशमा अलपत्र परेका छन् । अन्य देशले आफ्नो नागरिक फर्काउन सुरु गरिसकेका छन्, नेपालले भने अझैसम्म आँट गर्न सकेको छैन !  

नागढुंगा होस् या बनेपा धुलिखेलको सडक, गन्तव्यका लागि सयौँ कोश छिचोलिरहेका हरकोहीको जवाफ आउँछ– ‘हामीलाई राहत कसैले दिँदैनन्, लिन गए लिस्टमा नाम छैन भन्छन् ।’ 

आदेश दिनेले दिइहाले, देश बनाउने किसान र मजदुरको चित्कार कसले सुन्ने ! 

भोको पेट सडकमै रात कटाउनुपर्ने बाध्यता एकातिर, अर्कातिर प्रहरीको लाठी सहनुपर्छ । दुःखेसो पोख्छन्–‘यो सरकार पनि कस्तो निर्दयी, न काठमाडौंमा खान दिन्छ न घर जान दिन्छ ! अप्ठेरोमा परेका जनतामाथि नै लाठी बर्साउँछ !’ 

कोरोना भाइरस (कोभिड १९) रोकथाम कोषमा अरबौँ रुपैयाँ जम्मा भइसक्यो, नेपाली मजदुर, किसान दाजुभाईका परिवार रोइरहेका छन् । खै कसरी मनाऊँ नयाँ वर्ष ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिँदै आजै मात्र अर्को घोषणा गर्नुभएछ–‘देश कोरोनामुक्त नभएसम्म तलब लिन्न । सम्पूर्ण पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्छु ।’  

प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना सन्देशमा अरु पनि भन्नुभएको छ–‘आवश्यक पर्दा हुनेको गाँस काटेर, नहुनेलाई बचाउने त हाम्रो परम्परा पनि हो ।’ 

–‘कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ ।’ 

हो, अप्ठेरो पर्दा हुनेको गाँस काटेर, नहुनेलाई बचाउने नेपाली संस्कार । तर सबै ‘हुनेहरू’ गाँस काटेर नहुनेलाई दिन तयार छैनन् संकटमा ! होलान् कोही, तर अधिकांशको लालचले वास्तविक मजदुर र गरिब भोकै परेका छन् । खै भएको रोजीरोटीको जोहो ? ती राहतबाट कहिले हुँदा खानेहरुलाई पुग्नु अनि गरिबको पोल्टामा पर्नु ? 

कोही हुँदा खानेहरु समेत सहयोगका लागि तत्पर छन् भने कोही राहतमा आएका सामान पनि झेलीखेली गरिरहेछन् । महामारीको मौकामा चौका हान्नु छ कसैलाई, लामो हात गर्दैछन् राज्यको ढुकुटीमा । लुट्नु जो छ नागरिकको पसिना ! 

प्रधानमन्त्रीज्युले भन्नुभएको ठिकै हो, –‘देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ । संकटको समाधान प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हतियार हुन् ।’ 

यी सबै जनताका लागि घोकन्ते पाठ र सुझावका रुपमै सिमित भएका छन् प्रधानमन्त्रीज्यू । खै तपाइँका छेउछाउका मान्छेहरुले ऐक्यबद्धता देखाउनु भएको ? राज्यको ढुकुटी देख्ने उहाँहरुको नजरले खै जनताको दुःख र पीडा देखेको ? 

उहाँहरु नै एकापसमा मिल्न सक्नुभएको छैन, कसरी सिक्छन् जनताले एकजुट हुन ? सम्झाउनुस् प्रधानमन्त्रीज्यू, समय छ अझै ! 

सरकारको लकडाउनको आदेश पालना गरी कोरोना फैलन नदिन जनताले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । तर यो समयमा ज्याला-मजदुरी गरेर दैनिकी चलाउनेहरुको लागि राहतको उचित प्रबन्ध गर्न सरकारले सकेको छैन । यो सरकारको कमजोरी हो ।  

सरकारको यही कमजोरीका कारण राहत नपाउँदा नागरिकहरु आफ्नो घर पुग्ने र भाेक मेट्ने आशामा स–साना छोराछोरीलाई पिठ्यूँमा बोकेर अत्यन्त कष्टका साथ पैदल हिँडिरहेका छन् । 

राहतका नाममा नागरिकता मागेर रुवाइएको छ, उनीहरुलाई । भोकै पारिएको छ काठमाडौंमा । न त अलपत्र परेकाहरुलाई घर पुर्याउन पहल नै गरिएको छ ।  

अपरझट लकडाउनको निर्णय लिइएको अवस्थामा सरकारले मजदुरको पेटको जिम्मेवारी लिनैपर्छ । सरकारको दायित्व हो यो । भोकजत्तिको खतरनाक चीज के हुन्छ र सरकार ? यही हो नागरिकले सरकार खोज्ने बेला । 

आम नागरिकले प्रश्न गरिरहेछन्–‘चुनावको बेलामा मासु र भात खान दिने, अहिले जनताको यस्तो अवस्था हुँदा के हेरिरहेको छ सरकार ? आपतमा परेका नागरिकको भोक र शोकको व्यवस्थापन गर्न नसक्ने सरकार के काम ?’ 

त्यो सरकारले के गर्छ ? भन्ने मौका दिनु भएन ! आम नागरिकलाई सरकारको अर्थ बुझाउने बेला यही हो प्रधानमन्त्रीज्यू ! ताकि अर्को चुनावमा जनतालाई ‘मासु भातमा विकेछु’ भनेर पश्चाताप नहोस्, हृदयदेखि नै भोट दिऊन् ! 

हुन त गरिब जनतालाई सहने बानी परेको छ, भूकम्पमा पनि सहेकै हुन् । बाढी पहिरोमा पनि सहैकै थिए । फरक यति हो, त्यतिखेर ओत लाग्ने छत र खानका लागि संघर्ष गर्नुपरेको थियो भने अहिले घरभित्रै कैद भएर एकछाक खान संघर्ष गर्नुपरिरहेछ ।  

भूकम्पले दिएको घाउ पुरिन नपाउँदै अर्को विपत्ति आइलागेको छ । विश्वमा लाखौँले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइरहँदा नेपालमा १४ जनामा संक्रमण फेला परिसकेको छ । धन्न प्रकृतिको कृपाले नेपालमा कसैले ज्यान गुमाउनु परेको छैन आजको दिनसम्म ।  

पक्कै पनि भूकम्पका घाउका खतहरु मेटिँदै गएजस्तै कोरोना संकटको याे घाउ पनि एकदिन मेटिजाला । आशा गरौँ, कोरोनाको औषधि छिट्टै फेला पर्नेछ र यो भय एकदिन त्यसैगरी दुर हुनेछ जसरी भूकम्पको भएको थियो ।  

बाँकी रह्यो नयाँ वर्ष, आजको दिन त्रास र दुःखमा गयो त के भयो ? ३६४ दिन अझै बाँकी छन् रमाइलो गर्न, खुशी हुन, परिवारसँग बिताउन ! 

बाटोमा रुँदै हिँडेका ती दाजुको पनि खुशी फर्किने छ, जब सानो छोरो, श्रीमती र आमाको दर्शन पाउने छन् । उनीसँगै पैदल हिँडेका हजारौं दाजुभाई–दिदीबहिनीको घरमा नयाँ वर्ष अवश्य भित्रिने छ, जब उनीहरु घरको आँगन टेक्नेछन् ! 

…र आगामी संकटका घडिमा गरिब र मजदुरले पनि काठमाडौंमा ‘एकमुठी चामल र एक अंजुली पानी’ दिने मान्छे सजिलै भेटुन् ! धनीको मात्र शहर नबनोस् काठमाडौं ! 

रोग, शोक नाश होऊन् सबैको । रक्षा गरुन् पशुपतिनाथले ! 

ढिलै भएपनि नयाँ वर्षको शुभकामना सम्पूर्णमा ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *