‘लकडाउन’ उलङ्घन गर्ने २ हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौं । प्रहरीले आदेश उल्लङ्घन गर्ने २ हजार ६ सय ७६ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार अटेर गरी सञ्चालन गरेका सवारी साधनलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे २ हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ । घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको छ ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताए ।
सरकारले कोरोना भाइरस फैलिन नदिन यही चैत ११ गतेदेखि चैत २५ गतेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।








