कोरोनाले रोजगारी गुमेको छ ? सरकारलाई सघाउनुस्, राहत पाउनुस् !

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि घोषणा गरेको लकडाउनका कारण कयौँ श्रमिक तथा मजदुरको रोजगारी गुमेको छ ।

निर्माण कार्य ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु आर्थिक अभावको चपेटामा परिरहेका बेला सरकारले रोजगारी दिने निर्णय गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार काम नगर्नेहरुले काम गर्नेहरुले पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् । राहत लिनको लागि आफ्नो परिवारमा कुनैपनि व्यक्ति स्वरोजगार नभएको, औपचारीक रोजगारीमा नभएको वा अन्य कुनै आम्दानीको स्रोत नभएको स्व–घोषणा गर्नुपर्ने छ। यदि गलत घाेषणा गरी राहत लिइएकाे पाइएमा त्यस्ता व्यक्तिबाट सरकारी वाँकी सरह असुल गर्ने बताइएकाे छ ।

‘हाल रोजगारी या कामविहिन भएका श्रमिकलाई स्थानीय तहमा स्थानीय तह वा प्रदेश वा संघीय कार्यालयबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने । यसरी काम वा श्रम गराउँदा उनीहरुलाई दैनिक ज्याला नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री खतिवडाले भने ।

राेजगारी बापत प्रदान गरिने ज्याला प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहका विकास कार्यक्रमहरू र कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको रकम पनि परिचालन गरिने छ ।

औपचारीक क्षेत्रमा काम गर्ने कोरोना भाइरसको रोकथामका कारण बन्द हुन पुगेका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरु एवं रोजगारदाताले वैैशाख महिनाको ५० प्रतिशत तलब तत्काल उपलब्ध गराउने र बाँकी रकम व्यवसाय सुरु भएपछि उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *