सीमापारी रहेका नेपालीले पाए प्रवेश अनुमति, दुई हजार बढीको उद्धार

अंकुश कुँवर- धनगढी । सरकारले बिहीबारदेखि सीमापारी रहेका नागरिकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको छ । प्रवेश अनुमति दिएसँगै आज सुदूरपश्चिमका विभिन्न तीन नाकाबाट दुई हजार बढी नेपाली नागरिकलाई उद्धार गरिएको छ ।

लकडाउन भएपछि भारतीय सीमा पिथौरागढका धार्चुला क्षेत्रमा रहेका नागरिकलाई दार्चुलाका दुई र वैतडीको एक नाकाबाट नेपाल प्रवेश गर्न दिइएको हो ।

दार्चुलाको दत्तु र खलंगा नाकाबाट १३ सय नेपालीलाई नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । यो नाकाबाट विशेषगरि वैतडी, बझाङ र दार्चुलाका बासिन्दाहरु नेपाल भित्रिएका छन् । उद्धार गरिएका सबैको स्वास्थ्य जाँच गरेर गन्तव्यमा पठाइएको उनले जानकारी दिए । कैलाली र कञ्चनपुरसहित पूर्वी जिल्लाका नागरिकलाई भने खलंगाकै क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट एक हजार ५० जनालाई नेपाल प्रवेश दिइएको छ । उनीहरु सबैको स्वास्थ्य जाँच गरेर स्थानीय तहको जिम्मा लगाइएको स्थानीय प्रशासनले जनाएको छ । सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने सहमतिअनुसार स्थानीय तहको जिम्मा लगाइएको हो ।

यस्तै, कञ्चनपुरको सीमा पारी दुई सय ५१ र कैलालीको त्रिनगर सीमा पारी एक सय २० जना नेपाली रहेका छन् । क्वारेन्टाइन अवधि सकिएपछि स्थानीय तहले आफ्ना नागरिकलाई नेपाल प्रवेश गर्न दिनुपर्ने पहल गरिरहेका थिए । सो प्रयासस्वरुप बिहीबार दार्चुला र बैतडीको सीमापारि रहेका नागरिकलाई नेपाल प्रवेश दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *