सत्तारुढ नेकपाको सचिवालय बैठक निष्कर्ष विहिन, अर्को बैठक २० गते

काठमाडौं । झण्डै तीन घण्टा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक निष्कर्ष विहिन भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद मत्थर पार्न कुनै निष्कर्ष निकाल्न सकेन ।

अध्यादेश प्रकरणपछि पार्टीभित्र चर्किएको विवाद समाधनार्थ बसेको बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुदृढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी भित्रका कुनै विषयमा  निष्कर्ष ननिकालेको र २० गते पुनः सचिबालय बैठक बस्नेगरी आजको बैठक सकिएको प्रवक्ता श्रेष्ठले भने ।

सचिबालय बैठक विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न बोलाइएको भएपनि कुनै पनि निष्कर्षमा पुग्न सकेन । २० गते पुनः सचिबालय बैठक बस्ने र सोही दिन स्थायी कमिटी बैठकको टुंगो पनि लगाउने भनिएको छ ।

‘सरकार, पार्टीको स्थायित्वका विषयमा छलफल भयो । छलफल जारी छ । यसबीचमा पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ । सोही बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ ।’ प्रवक्ता श्रेष्ठले बैठकबाट निस्कँदै गर्दा भने । हिजो मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भएको भेटघाटमा सचिवालय बैठक बस्ने समझदारी भए अनुसार आज साँझ बैठक बसेको थियो ।

बालुवाटार स्रोतका अनुसार बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । साथै तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेको स्रोतको भनाई छ ।

२० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताका अपेक्षा अनुसार सामाजिक आर्थिक कार्यक्रम ल्याउने विषयमा बैठकले उपर्युक्त निर्णय दिनेमा शिर्षस्थ नेताहरुको धारणा छ । ‘तत्कालका लागि पार्टी विभाजनको खतरा छैन, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति अधिकांश सचिबालय सदस्यहरुले विमती राखेका छन् । बाँकी कुरा २० गतेको बैठकमा हुनेछ ।’ एक सचिबालय सदस्यले मकालु खबरसँग भने ।

पार्टीभित्र शिर्षस्थ नेताहरु विचको रडाँकोले पार्टी विभाजनको अवस्था सृजना भएको छ । सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरुले सांसदको हस्ताक्षरसमेत चलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए । ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरुले समेत आजै हस्ताक्षर चलाएका थिए ।

सरकारले ल्याएका दुई अध्यादेशका कारण पार्टी विभाजनकै अवस्थामा पुग्ने देखिएपछि हिजोबाटै पार्टीका दोस्रो बरियताका नेताहरु पार्टी विभाजनको विपक्षमा उत्रिएका थिए । नेकपाका ओली, प्रचण्ड, नेपाल र खनाल पक्षका अधिकांश नेताहरुले पार्टी र सरकार भित्र देखिएका विवादलाई छलफलको माध्यमबाट हल गरिनु पर्ने र ओली सरकारलाई नै निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *