१४ दिन हिँडेर घर आइपुगेका श्रीमानको मृत्युः श्रीमती भन्छिन्– ‘मसँग पैसा छैन, छोरा जतिखेरै बिस्कुट मागिरहन्छ’

लखनउ । भारतको माथेकान्वा गाउँका एक युवकको हिँडेर घर आइपुगेको केही घन्टामै मृत्यु भएको छ ।

खल्तीमा ५ हजार रुपैयाँ बोकेर मुम्बई देखि १ हजार ५ सय किलोमिटर हिँडेर १४ दिनमा माथेकान्वा गाउँ आइपुगेका ३५ वर्षीय इन्साफ अलीको केही घन्टामै मृत्यु भएको हो । आफ्नो गाउँ आइपुगेका उनलाई क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमा लगिएको केही घन्टामै उनको मृत्यु भएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ ।

उनको के कारणले मृत्यु भयो, कोरोना संक्रमित हुन् या होइनन्, परीक्षण रिपोर्ट भने आउँन बाँकी छ । सावरमतीका पुलिस सुपेरिटेन्डेन्ट अनुपकुमार सिंहले क्वारेन्टाइनमा नै बिहानको नास्ता खाएको केही बेरमै अलीको मृत्यु भएको जनाए।

उनको शव अलग्गै राखिएको र स्वाब परीक्षणका लागि लखनउ पठाइएको उनले जानकारी दिए । उनीहरुले शव छोएकाले उनको परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा नै राखिएको उनले बताए ।

इन्साफ अली गाउँ पुग्दा सलमा माइत गएकी थिइन्। त्यसैले उनले भेट्न समेत पाइनन् । जब उनी पतिको मृत्युको खबर थाहा पाएर आइन, इन्साफको शव लगिसकिएको थियो । उनीहरुका ६ वर्षका छोरा छन्, इरफान।

इन्साफकी ३२ वर्षीया श्रीमती सलमा बेगम भन्छिन्– ‘अन्तिम पटक कुरा हुँदा इन्साफले बिस्कुटकै भरमा बाँचिरहेको बताएको थियो । त्यसपछि उनको मोबाइलमा ब्याट्री सकियो । क्वारेन्टाइनमा पुग्दा उनले वान्ता गरिरहेका थिए।’

अलीको मृत्युसँगै गाउँलेहरुले सलमा पनि संक्रमित भएको हुनसक्ने आरोप लगाउँदै उनलाई दुर्व्यवहार गरिरहेका छन्। उनी अहिले घरमा एक्लै छिन्।

उनलाई आफ्नो छोरोको चिन्ता छ, जो जतिखेर पनि बिस्कुट मागिरहन्छ। ‘उसलाई के होला ? मसँग पैसा पनि छैन’, उनले भनिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *