गाउँपालिका उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध दुर्व्यबहारको उजुरी

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यबहार गरेको आरोपसहित उजुरी दिएकी छन् ।

यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यबहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुर्व्यबहार सहन नसकेर उजुरी दर्ता गराएको जानकारी दिइन् ।

“मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ”, उनले भनिन् । उनले पत्रकार सम्मेलनमार्फत दुर्व्यबहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गरेकी छन् ।

कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुर्व्यबहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । “उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुर्व्यबहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ”, प्रनाउ धामीले भने । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजुरी परेको प्रहरीले जनाएको छ ।

यो घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन । दुर्व्यबहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताए । बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उनले प्रतिक्रिया दिए ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको जनाए । यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *