खैरहनीमा आलोपालो गरेर बैंक खुल्ने

ध्रुवराज खनाल /

चितवन । चितवनको खैरहनी नगरपालिकामा पालो गरेर बैंकहरु खुल्ने भएका छन् । बैंक खोल्न प्रशासनबाट केही जटिलता भएपछि खैरहनी नगरपालिकाले सहजीकरण गर्दै आलोपालोमा बैंक खोल्न दिईने भएको हो । कुन बैंक कुन दिन खोल्ने भन्ने बारे बैंकका शाखा प्रमुखहरुले तालिकानै बनाएर नगरपालिकामा पेश गरेका छन् ।

सवै वैंकहरु खुल्दा भीडभाड बढ्ने हुँदा कोरोनाको समेत जोखिम बढ्ने भएकाले आलोपालो गरेर बैंक खुलाउन लागिएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए ।

मेयर चौधरीले संभव भएसम्म स्थानीय कर्मचारीबाटै बैंकिङ सेवा प्रदान गर्ने गरि वैंकहरुलाई सर्कुलर जारी गरिएको बताए । एउटमा बैंकमा दुई जना कि होल्डर चाहिन्छ । तर उनीहरु फरक फरक स्थान घर भएको हुने हुँदा समस्या हुदै आएको छ । लकडाउन पछि यहाँका बैंकहरुले पालो गरेर खोले पनि बीचमा धेरै बैंकहरु खुलेका थिए ।

जिल्ला प्रशासन कार्यालयले १० दिन बैंक नखोल्न भनिसकेको छ । तर अत्यावश्यक कामका लागि आर्थिक कारोबार गर्न बैंक आवश्यक पर्ने भएकाले व्यहारिकता हेरेर सेवा दिन वैंकहरुलाई आग्रह गरिएको खैरहनीका मेयर चौधरीले बताए । भरतपुरदेखी आउनु पर्ने बैंकका कर्मचारीहरुलाई सहजीकरण गरेर काम गर्ने वातावरण बनाउनु पर्ने उनले बताए । बैंकको सेवा प्रदान गर्ने विषयमा मंगलबार नगरपालिकामा यहाँका बैंकका शाखा प्रमुख र इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुखको उपस्थितीमा छलफल समेत भएको छ ।

प्रहरीले खैरहनीमै दुई दिन अघि एक बैंकका शाखा प्रमुखको मोटरसाईकलको चाबी नियन्त्रणमा लिएको थियो । छलफलमा माछापुच्छ्रे बैंकका पर्सा शाखा प्रमुख भानुभक्त अधिकारीले स्थानीय स्तरका कर्मचारी पर्याप्त नभएको हुँदा बैंक संचालनमा समस्या हुने बताए ।

स्थानीय तहसँग समन्वय गरेर सेवा प्रवाह गर्न केन्द्रिय कार्यालयले निर्देशन दिने, नेपाल राष्ट्र बैंकले नियमित बैंक खोल भन्ने र प्रशासनले बन्द गर भन्ने हुँदा समस्या परेको उनले बताए । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले कोरोना संक्रमितको संख्या वृद्धी हुदै जाँदा जोखिम बढ्ने हुँदा प्रशासनले कडाई गर्नु परेको बताए । बैंक खुल्दा भीडभाड हुने र त्यसैको मौका छोपी बाहानाबाजी गरेर बजार घुम्नेहरु पनि रहेको हुँदा कडाई गर्नु पर्ने प्रहरी निरीक्षक मगरले बताए ।

छलफल पछि बैंकका शाखा प्रमुखहरुले बैंक खोल्ने तालिका नगरपालिकामा वुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । छलफलमा खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया सहित खैरहनीमा रहेका एक दर्जन बढि बैंकका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । खैरहनीमा क वर्गको मात्र १५ वटा बैंक रहेका छन् । यहाँ २० भन्दा वढि बैंक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *