कोटेश्वरमा माधव नेपाल पक्षको गोप्य भेलाको निष्कर्षः ओलीले बैठक नबोलाए राजिनामा सम्म माग्ने तयारी

काठमाडौं । सत्तारुढ नेकपा भित्रको आन्तरिक विवाद छताछुल्ल भएसँगै पार्टीका शिर्षस्थ नेताहरु आ–आफ्ना पक्ष बलियो बनाउन लागि परेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छाँयामा परेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरुसँग आज सामूहिक छलफल गरेका छन् ।

अध्यादेश प्रकरणमा देखिएको विवादले नेकपाभित्र धुव्रीकरण भइरहेका बेला नेता नेपालले गरेको छलफलमा एक दर्जन नेता सहभागी भएको स्रोतको दावि छ । नेपालले बोलाएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अध्यादेश फिर्ता भए पनि त्यससँग र अन्य विषयमा छलफल गर्नुपर्ने भएकाले तत्काल स्थायी कमिटी बैठक बोलाउनुको अर्को विकल्प नरहेको सुझाव दिएको बताए । आफुहरुले अध्यादेश फिर्ता हुनुपर्छ भनेको र त्यो फिर्ता भइसकेको भएपनि अन्य जोडिएका विषयहरु रहेकाले समिक्षा गर्न आवश्यक रहेको ज्ञवालीले बताए ।

‘सरकारको कामको समीक्षा गर्नुपर्ने बेला भएको छ । अन्य बिषय पनि छन्, ती विषयमा छलफल गरेर संस्थागतरुपमा निर्णय गर्नुपर्छ । त्यसको लागि स्थायी कमिटी नै हो र आवश्यक परे केन्द्रीय कमिटीको बैठक पनि बस्नुपर्छ । बैठकको लागि नेताहरुले पहल गर्नुस, भनेर माधव कमरेडलाई सुझाव दिएका छौं ।’ ज्ञवालीले भने ।

उनले छलफलमा नेता नेपालले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन पहल भइरहेको बताएको जनाए । नेकपामा पार्टी एकीकरणका केही काम टुङ्ग्याउन बाँकी रहेकोले एकीकरणका काम टुङ्ग्याउन भएको ढिलाईबारे पनि नेपालले बोलाएको छलफलमा कुरा भएको नेता ज्ञवालीले बताए । ‘एकीकरणका काम अझै बाँकी छन् । त्यो टुङ्ग्याउनेतर्फ ध्यान छैन ।

नेताहरुले अरु अनावश्यक काममा हात हाल्ने काम भइरहेको छ । त्यसकारण यसमा समीक्षा हुनु पर्यो । मूल्याङ्कन हुनु पर्यो । गल्ती भएको छ भने कहाँबाट भएको छ ? यसको उपचार के ? भन्नेबारेमा टुङ्गो लगाउनु पर्यो । त्यसको लागि बैठक र छलफल नै हो ।’ ज्ञवालीले भने ।

स्थायी कमिटी बैठक बोलाउन नेकपाका २० जना स्थायी कमिटी सदस्यले बुधबार नै अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र बुझाएका थिए । बैठक बोलाउन अध्यक्ष प्रचण्ड सहमत भएपनि अर्का अध्यक्ष ओलीबाट अहिलेसम्म कुनै प्रतिकृया आएको छैन । यदि, अध्यक्ष ओलीले बैठक नबोलाएको खण्डमा उनको राजीनामा समेत मागिनेसम्मको कोटेश्वर गोप्य बैठकमा छलफल भएको बताइएको छ ।

सरकारले गरेका पछिल्ला विवादित निर्णयका कारण उत्पन्न नेकपाको जटिल आन्तरिक राजनीतिले प्रधानमन्त्री ओलीको कुर्छी नै खतरामा परेको समेत धेरैले आँकलन गरिरहेका छन् । विकशिल पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीसंग शनिवार मात्रै नेकपा नेता बामदेव गौतमले बालुवाटार मै गएर छलफल गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई जटिल समस्या समाधानका लागि राजीनामा गर्न सुझाव दिंदा बालुवाटार मै चर्काचर्की भएको थियो ।

नेता गौतमको सुझावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्विकार गरि उल्टै हिम्मत भए प्रधानमन्त्रीबाट हटाउन चुनौती समेत दिएका थिए । त्यसपछि आइतबार साँझ अबेरसम्म चलेको नेपाल समुहको कोटेश्वर गोप्य बैठकलाई अर्थपुर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *