धरानमा हतियारसहित दुई जना पक्राउ

सुनसरी। धरानमा हतियारसहित दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान-१३ का मुलुकसिंह लिम्बु र अर्जुनधारा-७ झापाका प्रतिक्षजङ्ग क्षेत्री रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई शुक्रबार राती धरान ११ बाट इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो। पक्राउ परेका दुई जनाको साथबाट मेड इन चाइना क्यानडा लेखिएको १२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने म्यागजिन एक थान र २ राउण्ड गोली भेटिएको प्रहरीले जनाएको छ।
उक्त बन्दुक मुलुकसिंह लिम्बुको भएको खुलेपछि तत्काल लिम्बुको घर कोठामा तलासी गर्दा लङ राइफल र सो राइफलमा प्रयोग हुने म्यागजिन एक थान र २ राउण्ड गोली प्रहरीले फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
प्रहरीले उनीहरूलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको थियो। उनीहरू दुवैलाई आज आइतबार जिल्ला अदालत सुनसरीबाट मुलुकी अपराध (संहिता) ०७४ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए।








