तरकारी बिक्न छाडेपछि सडकमै फाल्न किसान बाध्य

- भरतराज शर्मा(गोपाल)
धरान। सुनसरीका किसानहरू लकडाउनका कारण उत्पादन गरिएका कृषि उपज बिक्री नभएपछि सडकमा फाल्न बाध्य भएका छन्। बजारसम्म लैजाने व्यवस्था नभएकोले बारीमा उपज कुहिन थालेपछि बराह र भोक्राहा क्षेत्रका किसान निराश हुनुपरेको छ।
व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका किसान अहिले लकडाउनका कारण कृषि उपज बजारसम्म लैजान नपाएपछि सडकमा फाल्न बाध्य भएका हुन्। स्थानीय सरकारले पनि तरकारीको बजारीकरणमा सहजीकरण नगरेको गुनासो किसानको छ। उत्पादन भएको कृषि उपज बजार लैजान नपाएपछि एक ट्रयाक्टर तरकारी सडकमै फाल्न बाध्य भएको भोक्राहाका धनिलाल मेहताले बताए।
तीन बिघा जग्गामा तरकारी गरेका उनले लाखौंको कृषि उपज खेर जाने भएपछि निराश बनाएको सुनाए। तरकारी आफैले बजारसम्म लैजान प्रयास गरे पनि स्थानीयवासीले बाटोबाटै फर्काइ दिएको मेहताले सुनाए। यस्तो अवस्थामा तरकारी खेतीको लागि बैंकबाट लगेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताए।
सोही ठाउँका अन्य करिब १५ किसानले पनि बैंकबाट ऋण लगेर तरकारी खेती गरिरहेका छन्। ‘लकडाउन’को समयमा उत्पादित तरकारीले बजार नपाएपछि बैंकको व्याज कसरी तिर्ने भन्ने तनावमा परेको उनी सुनाउँछन्। उत्पादन तरकारी बजारसम्म पुर्याउन नसक्दा किसानको बारीमा कुहिन थालेको छ। सामान्य अवस्थामा आफूहरूले यहाँको तरकारी बजार धानिरहेको किसान सुनाउँछन्।
छिमेकी ठूल ठुला सहर विराटनगर, इटहरी, धरानलगायतका क्षेत्रबाट समेत तरकारीको माग भइआए पनि स्थानीय सरकारले बजारसम्म तरकारी लैजान मध्यस्थता नगरेको किसानले गुनासो गरेका छन्। अहिलेको अप्ठ्यारो परिस्थितिका कारण उत्पादित तरकारी बारीमा कुहिने अवस्था आएकोले आफ्नो उत्पादनको व्यवस्थापन गरिदिन किसानले आग्रह गरेका छन्।
यता बराह क्षेत्र नगरपालिका-९ का वडाध्यक्ष दीपक लिम्बुले लकडाउनको समयमा दुई स्थानीय तहहरूबीच समन्वय गरे किसानको उत्पादन बजारसम्म पुर्याउन सकिने बताए। तर त्यसको लागि हालसम्म कुनै पहल भने हुन सकेको छैन।








