राप्ति प्रतिष्ठानले सुरु गर्यो पीसीआरबाट कोरोना परीक्षण, दैनिक ९६ परीक्षण गर्न सकिने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । हिजोबाट दाङको घोराहीस्थित प्रतिष्ठानमा पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको हो ।
प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट शनिबारदेखि परीक्षण सुरु गरिएको जानकारी दिइन् ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति भण्डारी ।

उपकुलपति भण्डारीका अनुसार प्रतिष्ठानमा आइसोलेसनमा रहेका नौ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको छ । प्रतिष्ठान र प्रदेश सरकार विचको खिचातानीका कारण प्रतिष्ठानमा पीसीआर मेसिन आउन ढिलाई भएको थियो ।

सरकारले राप्ति स्वास्थ्य प्रतिष्ठानलाई कोरोना उपचार गर्न भनेपनि आवश्यक उपकरण र स्वास्थ्य सामग्री नदिँदा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरु असुरक्षाका विच कोरोनाका विरामीको उपचार गर्न बाध्य थिए । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री शंकर पोखरेल तथा स्थानीय नगरपालिकाविच सम्बन्ध समेत विग्रिएको थियो ।

जडित पीसीआरमा एकै पटकमा ९६ जनासम्मको परीक्षण गर्नसकिने क्षमता छ । ‘अब यस क्षेत्रका बिरामीलाई सहज हुने भएको छ । हामी बढिभन्दा बढि कोरोना परीक्षणमा जोड दिनेछौं ।’ उपकुलपपति डा. भण्डारीले भनिन् । प्रदेश–५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर राखिएको हो ।
दाङमा पीसीआर मेसिन नहुँदा कोरोना स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । हालसम्म जिल्लामा काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण गरिएको छ ।

बेलझुण्डीमा एक सय शैया क्षमताको कोरोना विशेष अस्पताल सञ्चालित छ । जिल्लामा विभिन्न अस्पतालमा एक सय ६६ आइसोलेसन र दुई सय ८८ क्वारेन्टाइन शैया रहेको छ । अहिलेसम्म एक सय आरडीटी किट ल्याएर क्वारेन्टाइनमा परीक्षण गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *