बर्दियाबाट भारत फर्किएका दुई जनामा कोरोना पुष्टि, दुई गाउँ सील

काठमाडौं । बर्दियाबाट भारत फर्केका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए ।

नेपालबाट भारत फर्किएपछि उनीहरूको बहराइचस्थित स्थानीय अस्पतालमा वैशाख ८ गते परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको हो । भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् उक्त कुराको जानकारी गराएको हो । उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ ।

बीबीसीका अनुसार भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको छ । सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको छ ।

सम्भावित सङ्क्रमित व्यक्ति भएको भन्दै रोग फैलिन नदिन बर्दियाको सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालये बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *