लकडाउन थप एक हप्ता लम्बिन सक्ने

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि घोषित ‘लकडाउन’बारे आज सरकारले थप निर्णय लिने भएको छ। पछिल्लो पटक थपिएको ‘लकडाउन’को अवधि १५ गते (सोमबार) सकिँदै छ।

‘लकडाउन’बारे ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ। उच्चस्तरीय समितिले लकडाउनको स्वरूप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने विषयमा छलफल गर्ने छ। छलफलको निष्कर्षअनुसार सरकारलाई सुझाव सिफारिस गर्नेछ।

उच्चस्तरीय समितिले दिएको सुझावअनुसार मन्त्रिपरिषद् बैठकले लकडाउनबारे थप निर्णय लिने समितिका एक सदस्यले जानकारी दिए। स्वास्थ्य मन्त्रालयअन्तर्गत योजना विभागका प्रमुख गुणराज लोहनीका अनुसार नेपालमा कोरोना सङ्क्रमणको अवस्था र छिमेकी मुलुकको स्थिति समेत विश्लेषण गरी लकडाउनबारे निर्णय गरिनेछ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउनबारे सामान्य छलफल भएको थियो। मन्त्रिपरिषद बैठकले लक डाउन थप्ने नथप्ने निर्णय गर्ने अधिकार समन्वय समितिलाई दिएको थियो। पछिल्ला दिनमा उपत्यकामा कोरोना सङ्क्रमित नभेटिए पनि बाहिर जिल्लामा भेटिँदै गएको छ। त्यस्तो अवस्थामा लकडाउन खोल्दा सङ्क्रमण बढ्ने सम्भावना भएकोले लकडाउनको अवधि एक हप्ता थप हुन सक्ने स्वास्थ्यमन्त्रालय स्रोतले जनाएको छ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या हाल ४९ पुगेको छ। जसमध्ये ११ जना निको भएर घर फर्किएका छन्। सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने नीति लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =