मातातीर्थ औँशीः मैले बुहारीलाई सम्झिएँ

सुजता निङ्लेकु-  आज वैशाख कृष्णपक्ष औँशी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमालाई विभिन्न मिष्ठान्न भोजनका साथै राम्रा कपडा लगाउन दिने, खुशी र प्रेमभाव साटासाट गरी आमाप्रति कृतज्ञता जाहेर गर्ने चलन छ ।

आमा नहुनेले नजिकैको तिर्थमा गएर दिवंगत आमाको नाममा पिण्ड दान पनि गर्दछन् । आमा टाढा हुने र विवाह गरेर गएका चेली पनि आज माइती आउने गर्छन्, आमालाई मिठा मिठा परिकार खुवाउन ।

तर यो वर्षको आमाको मुख हेर्ने दिन टाढा बसेका छोराछोरीका लागि खल्लो बनेको छ । कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण गत वर्षभन्दा यो वर्ष आमाको मुख हेर्ने दिन अधिकांशको खल्लो नै रहन्छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि दिन–प्रतिदिन बढ्दो रुप लिइरहेको छ । यो अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रस्थानमा रहेर जिम्मेवारी निभाइरहेका छन् ।

आज सबैले आफूलाई जन्मदिने आमालाई सम्झिरहँदा मैले भने भने मेरी भदैनीकी आमालाई सम्झिएँ । हुन त आमाको महिमा कुनै शब्दले व्याख्या गर्न सकिँदैन । तर मेरी भदैनीकी आमा स्वास्थ्यकर्मी पनि हुन् । वर्तमान अवस्था स्वास्थ्यकर्मीका लागि चुनौती नै बनेको छ ।

चार वर्षकी छोरी, श्रीमान् र घरपरिवारको हेरचाहसँगै बिरामीको रेखदेख साधारण अवस्थामा ठिकै भएपनि अहिलेको अवस्थामा कठिन छ । तर मलाई तिमिप्रति पूर्ण भरोसा छ, जस्तोसुकै परिस्थितिलाई आफ्नो बनाउन सक्छ्यौ तिमी ।

घरको जिम्मेवारी, बच्चाको रेखदेखसँगै अस्पतालको काम कसरी सम्हाल्दै छौ तिमी ? म पनि टाढा छु । नजिकै छु र पनि टाढा भएझैँ लाग्ने खै कस्तो खाल्को भाइरस आयो । न आफ्नो भनेर भेट्न जान पाउने न आफ्नो भनेर नजिक बोलाउन पाउने । खैर तिमि जोगिएर काम गर्नु है ?

भरसक मास्क, पीपीईको प्रयोग गर्नु । तिमिसँगै घरमा परिवार छन्, त्योभन्दा पनि सानी ४ वर्षकी छोरी छिन्, उनको पनि राम्रो ख्याल राख्नु है !

००००

जुन दिन तिमि आमा बन्दै छौ भन्ने खबर मेरो कानमा परेको थियो । जिन्दगीको सबैभन्दा वृहत खुशी प्राप्त भएको थियो । तिमीले ९ महिना मेरी भदैनीलाई गर्भमा राख्दै लोकसेवा आयोगको परिक्षाका लागि तयारी गर्दा तिमिप्रति सम्मानको भाव प्रकट भएको थियो । र तिम्रो जन्म दिने बा–आमालाई पनि सलाम छ, तिमि जस्ती आँटिलो छोरी जन्माएकोमा ।

गर्भमा भदैनी अनि मस्तिष्कमा पढाइको भार, त्यसमाथि त्यही समय बन्दै थियो घर पनि । कति गाह्रो भएको थियो होला है ? एउटा ज्यानले अनेकन भार थेग्न ? त्यहि भएर त तिमिप्रति सम्मानका भाव कहिल्यै मर्दैन मेरो मनमा ।

हामी दुई दिदीभाइ मात्रै, कहिलेकाहीँ अरुको दिदिबहिनी देख्दा लाग्थ्यो हाम्रो किन भएनन् । सायद तिमिलाई तिम्री आमाले मेरो दिदिबहिनी, बुहारी, साथी सबैका भूमिका निर्वाह गर्नलाई जन्माउनुभएको भएर होला है ?

थाहा छ ? तिमी लगभग ९ घण्टा व्यथा लागेर छट्पटी रहँदा मेरो श्वास रोकिएलाझैँ भएको थियो । दमकको आम्दा अस्पतालमा तिम्रो छट्पटाइ देख्न नसकेर हामी दिदीभाइ पालैपालो बाहिर निस्किरहँदा तिमी पिडा खप्न नसकेर मेरो भाईलाई गाली गरेको याद छ ?

तिम्रो त्यो बेलाको दुखाई, भोगाई, तिमिलाई बाहेक अरुले कहाँ महसुस गर्न सक्ला र ? ९ घण्टाको लामो पिडा खपाईपछि पनि साधारण तरिकाले बच्चा जन्माउन नसक्ने अवस्था भएपछि तिमिलाई अप्रेशनका लागि बल्लतल्ल स्वीकार गराएको बिर्सन सकिन्न ।

तिमि कति बहादुर आमा, अन्तिम अवस्थामा पनि मेरो सन्तान अप्रेशन नगरी जन्माउँछु भन्ने प्रण राखेकी । तर हामीलाई तिमिसँगै पुकुलीको ज्यानको माया थियो नि लाटी !

केही समयको पर्खाइपछि २०७३ भदौ १४ गते लगभग ९ बजे तिमीले पहिलो सन्तानको रुपमा छोरी अर्थात् हाङमा लिम्बू र मलाई मेरी भदैनीको पहिलो रुवाई महसुस गर्न दिँदा मेरो आँखा रसाएको थियो नि !

त्यो खुशीको आँशु थियो । तिमिलाई धेरै, धेरै धन्यवाद है, मलाई परी जस्तै भदैनी उपहार स्वरुप दिएकोमा । हाङमा लिम्बुको आगमनसँगै तिम्रो लोकसेवा परिक्षाको नतिजा पनि प्रकाशन भएको थियो । छोरीसँगै तिमीले तिम्रो मेहनत र लगनशिलताको नतिजा प्राप्त गरेको दोश्रो खुशीमा पीडा भुलेर मुस्कुराएको तिम्रो ओठ अझै भुल्न सकेकी छैन ।

००००

मलाई जिउने तरिका सिकाएकी छौ तिमीले । मेरा हरेक अप्ठायारामा मेरो ढाल बनेर उभिदिँदा मैले संसार जित्ने आँटसम्म गरेँ ।

आज जुन अवस्थामा आएर एक्लै उभिने हिम्मत गरेँ, एक्लो छु रपनि तिमी साथमा छौ जस्तै आभास हुन्छ । तिमिले मेरो हरेक कठिन परिस्थितिमा बुहारी भन्दा धेरै बहिनी अनि बहिनीभन्दा पनि धेरै आमाको भूमिका निर्वाह गरेकी छौ । त्यसैले त आजको दिन मेरी भदैनीकी आमा अर्थात् तिमीलाई सम्झिएकी हुँ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *