नआत्तिनुहाेस, कोरोना संक्रमण हुँदैमा सबैको मृत्यु हुँदैन : डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् । सहि सुचना नै मानसिक तनाब न्यून गर्ने प्रमुख कारक हो । तसर्थ, यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन ।

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् । बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ । सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् । बाँकी ३ % को मात्र मृत्यु हुन्छ । बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ ।

– जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ, जोखिमवर्गमा पर्दछन् । जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप – १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन । जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ । बाहिरी वातावरणबाट बचाउनुपर्दछ ।

– सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ । अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ । नयाँ संक्रमित घट्दै गएका छन् ।

– सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ । मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यवसाय धरासायी भएकोमा चिन्तित छन् । अर्थात हरेक बर्ग चिन्तामा छन् । त्यो चिन्ता पनि समयले निको गर्नेछ । जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन् ।

– कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ । जसले आफैँ उत्पादन गर्छ, उ नै धनी र सम्मानित बन्नेछ । बाँझो जमिनमा मोतिका दाना फल्नेछन् । कृषि तथा पशुपंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ । हरेक देश आत्मनिर्भरको गोरेटोमा हिँड्नेछन् ।

– विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ । अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन । खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ । त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचआइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् । यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् ।

– भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड-१९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् । प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो । यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ । यो सस्तो तथा प्रभावकारी छ ।

– घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ ।

– नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् । अरु संक्रमितको अवस्था सामान्य छ । कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन । ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *