‘गिता’ छोएर कसम खाएका कमल थापाकाे भनाई-राप्रपा एकता किन ?

पटकपटक फुट र जुटको श्रृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकिकृत भएको छ। नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत मुल्य मान्यताको जगमा खडा भएको राप्रपाको एकिकरण पश्चात स्वभावतः सामान्य भएपनि केही तरंगहरु देखा परेका छन्। एकताको पृष्ठभूमि तथा भविष्यको संभावनावारे थुप्रै आशंका र आकलनहरु देखिएका छन्। कतिपयले ‘पुर्वपंच’ र ‘राजावादी’हरुको एकतामा पुर्व राजा ज्ञानेन्द्रको हात रहेको विश्वास गरेका छन् भने केहीले हिन्दुराष्ट्रको एजेण्डा बोक्ने दलको एकिकरणमा छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको प्रेरणा रहेको अनुमान गरेका छन्। यसैगरी विगतको पृष्ठभूमिलाई दृष्टिगत गर्दै राप्रपा एकता दिगो नरहने आशंका समेत गरिएका छन्। पार्टीको बैचारिक चिन्तनका वारेमा समेत अनेक प्रकारका टिकाटिप्पणीहरु भएका छन्। 

पार्टी एकतामा विभिन्न शक्तिहरुको भूमिका 

राष्ट्रियता र प्रजातन्त्रका पक्षधर, हिन्दुराष्ट्रका हिमायती र राजसंस्थाप्रति आस्थाराख्ने व्यक्ति,समुह र शक्तिहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकृत होस् भन्ने चाहना र सदभाव राख्नु अस्वाभाविक होइन।तर, राप्रपाको एकिकरणमा कुनै देशी बिदेशी शक्तिहरुको प्रत्यक्ष एवं परोक्ष भूमिका रहेको छैन। वास्तवमा राप्रपाको एकता पार्टीलाई मायागर्ने कार्यकर्ता, सहयोगी र शुभभचिन्तकहरुको निरन्तरको दवावको परिणाम हो। विगतमा राप्रपा एकिकृत भएर चुनावमा जांदा संधै जनताबाट उत्साहवर्द्धक समर्थन प्राप्त गरेको छ।  

पटकपटकको विभाजनले पार्टी, कार्यकर्ता र पार्टीले अवलम्बन गरेको बिचारको भविष्य माथि नै गंभीर प्रश्नचिन्ह खडा भएको तथ्य सर्वविदित छ। यो तितो अनुभव बोकेका पार्टी कार्यकर्ताहरूले कुनैपनि शर्तमा पार्टी एक होस् भन्ने चाहना राखेका थिए। पार्टी विभाजन कार्यकर्ताहरुबाट भएको होइन । नेताहरुको संकिर्ण स्वार्थको कारणबाट भएको हुंदा, पार्टी एकता नभए पार्टी परित्याग गर्न बाध्य हुने धारणा आमकार्यकर्ता पंक्तिबाट आईरहेको थियो। वास्तवमा पार्टी विभाजन पछि धेरै कार्यकर्ता पलायन समेत भएका छन्। 

अर्को तर्फ हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेन्डा बोकेको एकमात्र दल राप्रपा गत संसदिय चुनावमा तिन प्रतिशत मत पनि प्राप्त गर्न नसकेर राष्ट्रिय पार्टी बन्न बाट वंचित रह्यो। सनातन धर्ममा विश्वास राख्ने ९४ प्रतिशत जनता भएको देशमा उक्त एजेण्डा बोक्ने एउटै मात्र दलले प्राप्त गरेको मत अत्यन्त निराशाजनक र बिडम्बनापूर्ण रहेको छ। यद्यपि विभिन्न निकायहरुबाट भएका सर्वेक्षणले अझैपनि हिन्दुराष्ट्रको पक्षमा बहुसंख्यक नेपाली जनता रहेको देखाएको छ। राप्रपाको यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी विभाजन प्रमुख कारण रहेको देखिन्छ। यस तथ्यले पार्टी एकताको पक्षमा दवाव सिर्जना गरेको छ। 

यसका अतिरिक्त विगत बाह्र वर्षको राजनीतिक अभ्यासको क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी पटकपटक असफल प्रमाणित भएको तथा जनआकांक्षा अनुरुप कामगर्न नसकेको कारणले गर्दा कंग्रेस कम्युनिष्ट वाहेक अर्को एउटा शक्ति भैदिए हुन्थ्यो भन्ने आमजनताको भावनाले समेत पार्टी एकिकरणलाई प्रोत्साहित गरेको हो। पुर्व राजा वा अन्य शक्तिको सदभाव हुनसक्छ तर त्यो मुल कारक होईन। 

तेस्रो धारको उदय 

राप्रपाको एकिकरणबाट देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति प्राप्त गरेको छ। कंग्रेस कम्युनिष्ट पार्टीहरुबाट वाक्क दिक्क भएका जनताले भोट हाल्ने र भरोसा गर्न सकिने विकल्प पाएका छन्। साथै, यस एकिकरणबाट नेपालको राजनीतिमा तेस्रो बैचारिक धार र त्यसलाई प्रतिनिधित्व गर्ने ‘नयाँ शक्ति’को उदय पनि भएको छ। यहाँ नयाँ शक्ति शब्दको प्रयोग सोचिविचारी गरिएको हो। राप्रपाको ईतिहास करिव तिन दशकको भएपनि यसपटकको एकिकरणको क्रममा कायम गरिएको मान्यता,अवधारणा र संकल्पलाई दृष्टिगत गर्ने होभने राप्रपा नयाँ शक्तिको रुपमा स्थापित हुन उद्यत रहेको स्पष्ट बुझ्न सकिन्छ। 

२००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि हालसम्मको बहुदलीय प्रजातान्त्रिक अभ्यासको क्रममा नेपालको राजनीतिमा वामपन्थी र वामपन्थी झुकाव राख्ने विचारधारा र शक्ति निरन्तर हावि रहंदै आएको छ। प्रजातन्त्र प्राप्त हुनु अगाडीका आन्दोलन र क्रान्तीको मुख्य लक्ष्य र बिषयवस्तु स्वभावतः कसरि प्रजातन्त्र प्राप्त गर्ने भन्नेमा केन्द्रित थियो। जब प्रजातन्त्र प्राप्त भयो त्यसवखत राजनीतिक दलहरुमा राष्ट्रनिर्माणको स्पष्ट खाका, दर्शन र मार्गचित्र थिएन। फलस्वरुप ति दलका नेताहरुले पार्टीको आदर्श र नीति कायम गर्ने सन्दर्भमा नेपालको धरातलिय यथार्थका आधारमा मौलिक चिन्तन र राजनीतिक प्रणाली बिकास गर्नुको साटो भारतीय राजनितिक दलहरुको अनुसरण गर्ने सजिलो बाटो छाने। 

तत्कालीन समयमा भारतका दलहरु पनि पश्चिमा मुलुकमा प्रचलित सिद्धान्त र विचारबाट अत्यधिक प्रभावित रहेका थिए। युरोप र पश्चिमका अधिकांश मुलुकहरुमा त्यसबेला समाजवाद,पुंजिवाद, मार्क्सवाद जस्ता विचारहरुको बोलबाला थियो। बेलायत र युरोपका कतिपय देशहरुमा औद्योगिक क्रान्तिले सिर्जना गरेको गरिबी र असमानताको पृष्ठभूमिमा समाजवादी विचारधारा प्रवल रुपमा देखा परेको थियो। सन् १८४८ मा मार्क्स र एंगेल्सले ‘कम्यनिष्ट मेनिफेस्टो’ लेखे पछि बैज्ञानिक समाजवाद चर्चाको शिखरमा पुग्यो र अन्तत: साम्यवादको प्रयोग शुरुहुन थाल्यो। यि घटनाक्रमहरुबाट भारतीय राजनीतिक दलहरु अत्यन्त प्रभावित थिए। फलस्वरुप ब्रिटिश साम्राज्यवाद बिरुद्धको स्वतन्त्रता संग्रामको अग्रणी शक्ति भारतीय कंग्रेसले समाजवादको बैचारिक दर्शनलाई प्रयोगमा ल्यायो, जसलाई ‘नेहरुभियन समाजवाद’ भनेर चिनिन्थ्यो ।  

आफ्ना स्वर्गिय पिता जवाहरलाल नेहरुको विरासतलाई निरन्तरता दिन तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले सन् १९७६ मा समाजवादलाई संबिधानमा नै समावेश गरि दिईन् । नेहरु नेतृत्वको समाजवादको विकल्पमा साम्यवाद मुख्यरुपमा देखा पर्‍यो। नेहरुले अबलम्बन गरेको समाजवाद धेरै हदसम्म मार्क्सवादी चिन्तन बाट प्रभावित रहेको थियो।यहि परिवेशमा नेपालका राजनीतिक दलहरुले पनि भारतको बैचारिक एवं राजनीतिक प्रणालीको अन्धानुकरण गरे। नेपाली कांग्रेसले जवाहरलाल नेहरु, जयप्रकाश नारायण र राम मनोहर लोहियाको पदचिन्ह आत्मसात गर्‍यो। नेपाल कम्युनिष्ट पार्टीले पूर्णरुपमा भारतीय कम्युनिष्ट पार्टीको बैचारिक पथ अबलम्बन गर्‍यो। करिव ६० वर्ष लामो अभ्यासपछि उपरोक्त मान्यताहरुको औचित्य र महत्व माथि अहिले गंभीर प्रश्नचिन्ह खडा भएको छ।  

समाजवाद, मार्क्सवाद र साम्यवादको युग अन्त्य हुनलागेको स्पष्ट देखिन्छ। भारतमा कम्युनिष्ट पार्टी राजनीतिक मानचित्रबाट हराउन थालेको छ भने भारतीय कंग्रेस आफ्नो अस्तित्व रक्षाको अन्तिम संघर्षमा रहेको आभाष हुन्छ । यसै पृष्ठभूमिमा भारतीय दलहरुको बैचारिक अनुकरणबाट संपोषित नेपालका कंग्रेस र कम्युनिष्ट पार्टीहरुको राजनीतिक एवं बैचारिक उपादेयता क्रमशः कमजोर हुंदै गैरहेको बुझ्न कठीन छैन। बैचारिक उपयोगिता शिथिल हुंदै गैरहेको हुंदा नेपालका दुवै प्रमुख दलहरु राजनीतिक रुपमा असुरक्षित देखिन्छन्। यहि असुरक्षाको कारण कंग्रेस र कम्युनिष्ट दुवैमा तिव्र बैचारिक विचलन, गुटबन्दी र भ्रष्ट प्रवृत्ति हावी हुँदै गएको हो ‌। 

विगत दुई दशकमा देश र जनताले आमुल परिवर्तनको आशामा धेरै ठूलो मुल्य चुकाएको छ। तर, दुर्भाग्यवश यस अवधिमा जनताले सकारात्मक परिवर्तनको अनुभव गर्न पाएका छैनन्। उपरोक्त पृष्ठभूमिमा कंग्रेस र कम्युनिष्ट पार्टीहरुको विकल्पमा जनताले तेस्रो राजनीतिक शक्तिको आवश्यकता महसुस गरेका हुन्। यस्तो आवश्यकता परिपूर्ति गर्ने होडमा अहिले अन्य केही राजनीतिक दलहरु पनि देखिएका छन्। माओवादी, नयाँ शक्ति हुंदै उपेन्द्र यादव संग सहकार्य गर्न पुगेका डा.बाबुराम भट्टराई देखि रविन्द्र मिश्रले नेतृत्व गरेको दलहरु आफुलाई कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प हौं भन्ने दावी गरिरहेका छन्। दावीगर्न पाउने सबैको अधिकार हो। कुनै दलको आकांक्षालाई अवमुल्यन गर्नु उपयुक्त पनि हुंदैन।तर, कंग्रेस र कम्युनिष्ट पार्टीको पदचिन्हमा हिंडेर वा उनीहरु कै एजेण्डा बोकेर कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प हुन सकिदैन भन्ने यथार्थ घाम झैं छर्लङ्ग छ। 

अबको विकल्प राप्रपा सुशाशन र सम्बृद्धि प्राथमिकता 

उपरोक्त वास्तविकताको धरातलमा राप्रपामा मात्र वर्तमान अवस्थामा नेपाली कंग्रेस र कम्युनिष्ट पार्टीको विकल्प बन्ने बैचारिक एवं सांगठनिक चरित्र र क्षमता रहेको छ भन्दा शायद गलत हुनेछैन । अनुभवले खारिएका र लामो राजनीतिक यात्राका वावजुद भ्रष्टाचार र अनियमितताको कुनै दाग नगलागेका र ईतिहासको अग्नीपरिक्षामा उतिर्ण भएका नेतृत्व राप्रपामा रहेकाे छ । राप्रपा र राप्रपा (संयुक्त) बिच एकता हुंदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको वृहत चिन्तनमा आधारित सम्बर्द्धनवाद एकिकृत राप्रपाको बैचारिक दर्शन हुने समझदारी भएको छ। सम्बर्द्धनवादको अवधारणा नेपालको राजनीतिक क्षितिजमा नविनतम प्रयोग हो । क्रान्तिकारी परिवर्तन र परम्परागत मुल्य मान्यता बिच सामन्जस्यताको मध्यमार्गी बिचार हो । 

हिन्दुराष्ट्र र राजसंस्थाको मुख्य एजेण्डा बोकेको हुंदा राप्रपा राजनीतिकरुपमा पछि फर्कन खोजेकाे भ्रम कतिलाई परेको छ । वास्तवमा राप्रपाले २०६३ साल अघिको राजनीतिक व्यवस्था र संस्थाकाे पुनर्स्थापना गर्न खोजेकाे होईन । परिवर्तनकारी शक्तिहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झ‍ाैताको शासकिय स्वरुप, राज्य संरचना र सांस्कृतिक व्यवस्था कायम गर्न खोजेको हो । कसैलाई पनि निषेध नगर्ने, सबै अटाउने र सबै मिलेर देश बनाउने संस्कार र पद्दति निर्माण गर्न खोजेको हो । एकिकृत राप्रपाले सुशासन र सम्बृद्धिलाई प्राथमिक कार्यनीति बनाएको छ । आर्थीक परिवर्तन विनाको राजनीतिक परिवर्तन टिकाउ नहुने हुंदा भ्रष्टचार निवारण, रोजगारीको सिर्जना र सर्वसाधारण जनताको जीवनस्तरमा गुणात्मक सुधार राप्रपाको भावि कार्यदिशा हो । यस पृष्ठभूमीमा राप्रपा पुरानो बिचार, प्रवृत्ति र कार्यशैली बोकेको दल होइन, नवीन सोच र प्रतिबद्धता ग्रहण गरेको ‘नयाँ शक्ति’ हो भन्दा सर्वथा अतिशयोक्ति हुनेछैन। त्यसर्थ, नेपालको राजनीतिमा अबको विकल्प राप्रपा हो । 

सम्बर्द्धनवाद के हो? 

सम्बर्द्धनवाद मुलतः ‘मध्य-दक्षिणपन्थी’( center right) बैचारिक अवधारणा हो। यो अवधारणा परिवर्तन विरोधी होइन, निरन्तरता सहितको परिवर्तनको पक्षधर हो। सम्बर्द्धनवादले वैदिक सनातन मुल्य मान्यतालाई आफ्नो विचारको श्रोतका रुपमा लिएको छ। भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक उत्थानबाट मात्र राष्ट्रको सर्वोपरि हित हुन्छ तथा शरिर,आत्मा,मन र चेतनाको एकात्मक बिकास नै प्रत्येक व्यक्तिको आत्मोन्नतिको आधार हो भन्ने सिद्धान्त यो अवधारणाको मुख्य विशेषता हो। नागरिक स्वतन्त्रता, समावेशिता र मानवीय मूल्य प्रतिको प्रतिबद्धता यस बिचारधाराको आधारशिला हुन्। राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार र उदार अर्थतन्त्रलाई आर्थिक सम्बृद्धिको अनिवार्य शर्तका रुपमा सम्बर्द्धनवादले अंगिकार गरेको छ। कंग्रेस र कम्युनिष्ट पार्टीहरु समाजवाद र साम्यवादको वकालत गर्छन् तर व्यवहारमा राज्यनियन्त्रित पुंजिवादी अर्थतन्त्रलाई कार्यान्वन गर्छन् ।  

राप्रपामा यस्तो विरोधाभाष, द्विविधा र अन्याैल छैन । राप्रपा आर्थीक उदारवादमा बिश्वास गर्छ तथा अर्थतन्त्रमा बजार र नीजिक्षेत्रको महत्वपूर्ण भूमिकालाई सुनिश्चित गर्दछ । यिनै बैचारिक धरातलमा उभिएर राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र,राजसंस्था सहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नेपालको निमित्त उपयुक्त हुन्छ भनेको हो। उपर्युक्त अवधारणाको कारण राप्रपा राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोक्ने पार्टीका रुपमा स्थापित भएको छ। कंग्रेस र कम्युनिष्टको बिचार र बाटो असफल प्रमाणित भएको सन्दर्भमा राप्रपाको सम्बर्द्धनवाद राष्ट्रनिर्माणको बैचारिक मेरुदण्ड हुनसक्छ। 

राप्रपा पुर्व पंचहरुको पार्टी होइन 

बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात २०४७ साल जेठ १५ गते विगतमा पंचायतमा संगै काम गरेका नेताहरुको अग्रसरतामा राप्रपाको स्थापना भएको हो। साथै, विगतका कतिपय सकारात्मक पक्ष र उपलव्धीहरुलाई राप्रपाले अवलम्बन गरेको छ। तर, राप्रपा पंचायतको उत्तराधिकारी वा पुर्वपंचहरुको स्वामित्व रहेको पार्टी भने होइन। पंचायती व्यवस्था अन्त हुंदा जन्म नै नभएका युवाहरु तथा पंचायत बिरुद्धको आन्दोलनमा सहभागी भएका धेरै व्यक्तिहरु अहिले राप्रपामा संलग्न रहेका छन्। पंचायतको अनुहार नै नदेखेकाहरुलाई पंचायतको विरासत बोकाउनु अन्याय र अतिशयोक्ति हुन्छ।  

प्रजातन्त्र प्रति निष्ठावान तथा जनताको सर्वोच्चता,संविधान र बहुलवादलाई आत्मसात गर्ने राष्ट्रवादी प्रजातान्त्रिक शक्ति वास्तवमा राप्रपाको सहि पहिचान हो। फरक बिचार र मार्गचित्रका वावजुद राप्रपा संबिधान र लोकतन्त्र प्रति प्रतिबद्ध छ। संविधानको कतिपय प्रावधानहरु प्रति असहमत रहेता पनि राप्रपाले संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने नीति लिएको छ। संविधानको परिधिभित्र रहेर जनताको अभिमतबाट प्रजातान्त्रिकढंगबाट आफ्ना मान्यताहरु स्थापित गर्ने राप्रपाको रणनीतिक उदेश्य हो। 

अब राप्रपा कहिल्यै फुट्दैन 

देशमा हाल विद्यमान परिस्थिति, भूराजनीतिक अवस्था र जनताको चाहनालाई दृष्टिगत गरेर देशलाई एउटा बलियो र भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने उद्देश्यका साथ राप्रपाको एकिकरण भएको हो । पार्टी एकताको निर्णय संगै यो एकता कति दिन टिक्ने हो भन्ने आशंका समेत गरिएको छ । एउटै बिचार, एउटै उदेश्य, एउटै पृष्ठभूमी र एकै दिन जन्म भएको भएता पनि स्थापनाकालमा नै दुई अलग दलहरुको रुपमा अस्तित्वमा आएको राप्रपा विगतमा छ पटक फुटने र छ पटक जुटने काम भैसकेको हुंदा उक्त आशंकालाइ स्वभाविक ठान्नु पर्दछ । तर, यसपटकको एकता दिगो रहने केही आधारभूत कारणहरु रहेका छन् । कार्यकर्ताहरुको चाहना, देशको आबश्यकता र सिद्धान्तको ‌औचित्य माथिको खतरालाई दृष्टिगर्दा अब पार्टी फुटाउने हिम्मत शायद कसैले गर्ने छैन । साथै, पार्टी फुटाएर त्यसलाई चलाउने र व्यवस्थित गर्ने क्षमता, उमेर र वातावरण पनि कुनै नेतालाई उपलव्ध छैन । 

फेरि यसपटक पार्टी एकताको घोषणासभामा नेताहरुले हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ ‘गिता’ छोएर कसम खाएकोले गर्दा समेत अबको एकता स्थायि हुनेमा भर गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *