‘कोरोना विरुद्धको लडाई मिलेर परास्त गरौँ’

चैत १७, चितवन। सरकारले लकडाउनको समयावधि थप गरेपछि त्यसबाट पर्न सक्ने असहजताका विषयमा खैरहनी नगरपालिकाले राजनीतिक दल र उद्योग व्यावसायिक सङ्गठनका प्रतिनिधिसँग छलफल गरेको छ।   

नगरपालिका प्रमुख लाममणी चौधरीको आह्वानमा सोमवार भएको छलफलमा नगरपालिकाले कोरोना भाइरस संक्रमण हुन नदिन गरिरहेको क्रियाकलापबारे जानकारी गराउँदै अबको योजनामा सुझाव लिएको हो। लकडाउनबाट परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको नगर प्रमुख चौधरीले बताए।   

सबैको साझा समस्या हो नगर प्रमुख चौधरीले भने, ‘सबै पक्ष मिलेर कोरोना भाइरसलाई परास्त गर्नुछ।’ नगर प्रमुख चौधरीले कोरोना भाइरसको संक्रमण हुन नदिन र लकडाउनका कारण समस्यामा परेकाहरूलाई राहत वितरण गर्न लागेको तयारीका विषयमा जानकारी गराएका थिए।   

नेकपा खैरहनी नगर अध्यक्ष लक्ष्मी ढकालले कोरोना भाइरसको संक्रमण हुन नदिन स्थानीय सरकारले गरेको प्रयासको प्रशंसा गर्दै सङ्कटको अवस्थामा नागरिक अनुशासित हुनु पर्ने बताइन्। सरकारले लागू गरेको लकडाउनलाई बेवास्ता गर्दा भोलि दुर्घटना हुन सक्ने भएकाले सबै नगरवासी सचेत बन्नु पर्नेमा उनको जोड थियो। 

नेपाली काँग्रेस नगर सभापति शशि खनियाले लकडाउनका कारण ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेलाई राहत वितरण गर्नु पर्ने र हुने खानेलाई पनि सहज रूपमा वितरण प्रक्रिया अवलम्बन गर्नु पर्ने सुझाव दिए। उनले नगरको १३ वटै वडामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु पुर्‍याउने वातावरण बनाउनु पर्ने बताए।   

छलफलमा उद्योग वाणिज्य सङ्घ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, चितवन उद्योग सङ्घ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ,खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ खैरहनीका महासचिव कुमार खनालले नगरमा पर्ने समस्यालाई समाधान गर्न नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताए।   

इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले आवश्यक भन्दा पनि अत्यावश्यक वस्तुलाई प्राथमिकता दिनु पर्ने बताए। सो अवसरमा प्रहरी निरीक्षक मगरले सुरक्षा अवस्थाका बारे जानकारी समेत गराएका थिए। छलफलमा खैरहनीका उपमेयर सुनिता थपलिया, प्रवक्ता रामशरण पाण्डे, खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, प्रशासकीय अधिकृत दामोदर अधिकारीको पनि उपस्थिति थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =