‘पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाइ छ’

  

सभापति देउवासँग उक्त विषयमा भेटेरै कुरा गर्ने भने पनि समय नपाएपछि महामन्त्री कोइरालाले शुक्रबार साँझ देउवालाई पत्र लेख्दै जिल्ला नेता विष्णुप्रसाद पौडेललाई विधानको धारा २५ (७) अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्ला सभापतिको अधिकार प्रदान गरिनु विधानको प्रतिकूल रहेको उल्लेख गरेका छन् । 

राजनीतिक रूपमा पनि यो कार्यले गम्भीर सांगठनिक विवाद सिर्जना गरेको भन्दै महामन्त्री कोइरालाले लेखेका छन्, ‘नवलपरासी जिल्ला विभाजनपश्चात् नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रिक्त रहेको सभापति पदमा नेपाली कांग्रेसको विधानको धारा ५० को उपधारा (८) बमोजिम साविक नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति अर्जुन पोख्रेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।’  

कार्यबाहक सभापति हुन विधानको धारा १२ (५) (क) (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था आकर्षित हुँदैन । यो व्यवस्था सभापतिको उम्मेदवार हुनका लागि मात्रै भएको भन्दै उनले लेखेका छन्, ‘धारा ५० (८) ले सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नुपर्ने छैन भन्ने व्यवस्था गरेको छ ।’ 

कार्यबाहक सभापतिले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिएन र विधानबमोजिम कार्यबाहक सभापति हुँदाहुँदै नयाँ सभापति तोक्ने कुनै वैधानिक बाटो नभएको भन्दै महामन्त्री कोइरालाले भनेका छन्, ‘तपाईद्वारा प्रेषित परिमार्जित पत्रमा उल्लेख भएको विधानको धारा २५ (७) जिल्ला नेतृत्व छनोटका सन्दर्भमा आकर्षित हुने देखिँदैन । यो धाराको व्यवस्था संगठनका निकाय गठनका सम्बन्धमा व्यवस्था गरिएको होइन ।’ 

पोख्रेल कार्यबाहक सभापति रहेको विषयलाई सर्वसम्मतिले निर्णय गरेको स्मरण गराउँदै कोइरालाले उनकै नेतृत्वमा संगठन समायोजनको काम पनि सकिएको उल्लेख गरेका छन्, नागरिकमा समाचार छ । ‘विधानको धारा ४५ मा भएको व्यवस्थाअनुरुप कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेकाले कार्यबाहक सभापति विधानबमोजिम जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा नयाँ निर्णय गर्ने कुनै कारण देखिँदैन,’ उनले लेखेका छन् । 

आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर साथीहरूको धेरै आलोचना सहँदै सभापतिलाई सहयोग गरेको जनाउँदै कोइरालाले लेखेका छन्, ‘हामीबीच छलफल र कुराकानी भइरहेको बखतमा विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरूलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरूको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाइ छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *