‘कोरानाका विरामी हेर्ने डाक्टरलाई मास्क छैन, नगरपालिकाका नर्सहरु फुल लेयर चस्मा लगाएर सेल्फी खिच्छन्’

चैत्र १३, दाङ । सरकारले कोरोना भाइरस संक्रमण परीक्षण र उपचारमा खटिने चिकित्सक कर्मचारीलाई आवश्यक सुरक्षा ब्यवस्था नगर्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु असुरक्षित भएर काम गर्न बाध्य छन् । प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई सरकारले सुरक्षाका लागि चाहिने सुरक्षाका पोशाक नदिँदा कार्यरत चिकित्सकहरु नै भाग्नुपर्ने अवस्थामा सृजना भइरहेको कार्यरत चिकित्सकहरुले बताएका छन् ।   

कोरोना भाइरस संक्रमणको आशंकामा प्रतिष्ठानमा आएका विरामीको उपचार र स्वाब परीक्षण संकलन गर्दा चिकित्सकहरुलाई चाहिने पीपीई नहुँदा उनीहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । प्रतिष्ठानका डीन डा. बसन्त लामिछानेले पीपीई त परै जावोस एन ९५ मास्क समेत नभएको बताए । ‘प्रतिष्ठानमा अभावै अभाव छ, हामीसँग पीपीई परको कुरा मास्क पनि छैन ।’ प्रतिष्ठानका डीन डा. लामिछानेले मकालु खबरसँग भने ।   

प्रतिष्ठानमा कोरोना संक्रमणको आशंकामा आएकाहरुको रिपोर्ट कोरोना पोजेटिभ आए आफुहरु नै आइसोलेसनमा बस्नुपर्ने भन्दै ज्यानकै जोखिम मोलेर उपचारमा खटिनुपर्दा पनि राज्यले चिकित्सकहरुको सुरक्षामा चासो नदिएको बताए । ‘जोखिमपूर्ण केसहरु भर्ना गरेका छौं, राउण्ड पनि लिनुपरेको छ । भोली तिनीहरुको रिपोर्ट पोजेटिभ आयो भने आफैं आइसोलेसनमा बस्नुपर्ने स्थिति छ ।’ डीन डा. लामिछानेले बताए ।   

प्रा.डा. संगिता भण्डारी, उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्ग 

प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई मात्र हैन, वार्डमा काम गर्ने नर्सहरुसँग समेत पीपीई नहुँदा उनीहरु पनि असुरक्षित छन् । ‘मुखमा लगाउने मास्क समेत नहुँदा हामी त डरले नै मर्ने भयौं ।’ फिवर क्लिनिकमा काम गर्ने एक चिकित्सकले भने । 

राप्ती प्रतिष्ठानमा गतिलो लेजर थर्मोमिटर समेत छैन । प्रतिष्ठानमा रहेका केही थर्मोमिटरहरु विग्रिएको तथा केहीमा ब्याट्री समेत नहुँदा सामान्य ज्वरो आएका विरामीसम्म जाँच्न समस्या छ । ‘थर्मोमिटर एउटा मात्रै छ, त्यसलेपनि राम्रोसँग काम गरेको छैन । एउटा थर्मोमिटरले इमरजेन्सी चलाउनु र वार्ड चलाउनु कि फिवर क्लिनिक चलाउनु ?’ डीन लामिछानेले प्रतिष्ठानमा कोरोना भाइरस संक्रमण उपचारमा अपनाइने सुरक्षाका सामग्री नहुँदा चिकित्सकहरुको मनोवल समेत गिरेको बताए ।   

प्रतिष्ठानमा कोरोना भाइरसको स्वाब परीक्षण संकलन गर्ने किट अभाव छ । प्रतिष्ठानले अहिलेसम्म भर्ना भएका विरामीहरुको स्वाब टेकूमा पठाएपनि रिपोर्ट आइनसकेकाले उनीहरुलाई राख्ने वा डिस्चार्ज गर्ने अन्यौलता बढेको छ । ‘आज छैटौं दिन हो, रिपोर्ट आइसकेको छैन, विरामीहरुले गाली गर्न थालिसके । जवरजस्ती काउन्सेलिङ गरेर राखिरहेका छौं ।’ डा. लामिछाने भन्छन् ।   

कोरोनाकै आशंकामा आएका विरामीलाई रिपोर्ट नआई डिस्चार्ज गर्न मिल्दैन । भोली रिपोर्ट पोजेटिभ आइदिए त्यसले महामारीको रुप लिनसक्छ । तर, प्रतिष्ठानमा आइसोलेसनमा रहेका विरामीलाई खाना खुवाउन समेत समस्या पैदा भएको छ । बजारहरु बन्द रहेकाले प्रतिष्ठानले खाद्यान्न किनेर समेत ल्याउन सकेको छैन । प्रतिष्ठानमा सञ्चालित फिवर क्लिनिकमा आएका मध्ये छ सात जना आइसोलेसनमै राख्नुपर्ने अवस्थाका छन् । खासगरी ट्राभल्स गरी आएका विरामीहरु प्रतिष्ठानमा आएकाले उनीहरुलाई त्यत्तिकै छाड्न मिलेको छैन ।   

प्रतिष्ठानले केहि दिनअघि तीन वटा स्याम्पल टेकूमा पठाएको भएपनि रिपोर्ट आएको छैन । दुई वटा स्याम्पल त प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले आफैं बोकेर राजधानी आएकी छिन् । उनी हिजो विहानै तीन बजे संकलित स्याम्पल लिएर ११ बजे टेकू आइपुगेकी हुन् । स्याम्पल बोकेर राजधानी आउने साधन नहुँदा समस्या पैदा भएको छ ।   

प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले स्थानीय र प्रदेश सरकारले समन्वय नगरेको गुनासो गरिन् । पटकपटक नगरपालिका र प्रदेश सरकारसँग कोरोना उपचार र परीक्षणमा आइपरेका समस्या राख्दा उनीहरुबाट सहयोग नआएको बताइन् । ‘मैले मेयर र सिडिओलाई पटकपटक फोन गरेको छु, प्रदेश सरकारको सामाजिक सेवा मन्त्रीलाई गरेको छु, प्रदेशको स्वास्थ्य सेवाको डाइरेक्टरले त फोन नै उठाउँदैनन् ।’ डा. भण्डारीले मकालु खबरसँग भनिन्–‘विरामी भर्ना गरेका छौं, केहित उपाय गरिदेउ भन्दा रेस्पोस गरेनन् ।’ उनले मेयर र सिडियोको सहयोग जिरो भएको जिकिर गरीन् । ‘मेयर र सिडियोले केही सहयोग गरेनन्, मेयरले त जति सक्दो गर्नुस, नसके मरे मर्छन् भनेर जवाफ दिए ।’ उनले भनिन् । डा. भण्डारीले प्रदेश सरकारका मुख्यमन्त्री र स्थानीय नगरपालिकाले आफुलाई असहयोग गरेको बताइन् । 

डा. भण्डारीले कोरोना भाइरस परीक्षणको किट प्रदेश र स्थानीय सरकारले उपलब्ध गराउनु पर्नेमा प्रतिष्ठानलाई नदिएको बताउँदै पाँच वटा किट समेत आफुले ब्यक्तिगत रिलेसनमा मगाएर स्वाब लिइएको बताइन् । उनी जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का व्यक्तिको नमुना बोकेरै काठमाडौं आएकी हुन् । 

केन्द्र सरकार र स्वास्थ्य मन्त्रालयले केहि सहयोग गरिदेला कि भनेर राजधानी आएको बताउँदै भोली स्वास्थ्य मन्त्रालय गएर स्वास्थ्य मन्त्रीसँग कुरा राख्ने बताइन् । ‘केन्द्र सरकारले सबैतिर हेर्नुपर्ने बाध्यता होला, मन्त्रीज्यू र अन्य निकायसँग समन्वय गर्न आएकी हुँ ।’ डा. भण्डारीले भनिन् । ‘स्वाब परीक्षणको काम प्रदेश सरकारले गर्नुपर्ने भएपनि म काठमाडौं आउँदै थिए, एकैपल्ट दुईटा काम हुन्छ भनेर विहान तीन बजे स्याम्पल उठाएर आएको हुँ ।’ उनले प्रदेश सरकारले आफु मातहतका अस्पतालहरुलाई हेरेपनि प्रतिष्ठानलाई भने वाइपास गरेको जिकिर गरिन् । ‘स्थानीय निकायले विरामीलाई मास्क समेत नलगाई ल्याइदिन्छन् । हाम्रा डाक्टरहरु जो कोरोनाको विरामी हेरिरहेका छन् उनीहरु चैं सामान्य कपडाको मास्क र पञ्जा लगाएर विरामी हेर्छन् ।’ उनले भनिन्–‘अनी नगरपालिकाको मातृशिशु हेर्ने, स्तनपान र भ्याक्सिन लगाउनेहरु भने फुल लेयर गगल्स लगाएर सेल्फी खिचिरहेका छन् । यो भन्दा ह्युमिलिटी के हुन सक्छ ?’ 

यता घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भने प्रतिष्ठानले नै सहयोग नगरेको बताए । उनले प्रतिष्ठानकी उपकुलपतिले कोरोनाको आशंकामा आएका विरामीलाई नै फर्काई दिने चेतावनी दिएको जिकिर गरे । ‘उपमहानगरपालिकाले उहाँलाई के सहयोग गर्नुपर्ने हो ? हाम्रो सबै सम्पत्ति दिनुपर्छ भनेर हुन्छ ? स्थानीय तहले के गर्नुपर्छ भन्नु पर्छ नी, उल्टै विरामी फर्काइदिन्छु भन्नुहुन्छ ।’ उनले भने ।   

मेयर चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग अब आफुहरुको कुनै आश नरहेको पनि बताए । ‘हामीलाई यो प्रतिष्ठानले केही गर्ला, हाम्रा लागि काम गर्ला भनेर आश छैन । उहाँले केही गर्न सक्नुहुन्न भने अब हामीलाई हस्तान्तरण गरिदिनुस हामी चलाईदिन्छौं ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =