प्रतिनिधिसभा बैठक : कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुँदै

फागुन २३, काठमाडौं । प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड-१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिदै छ ।   

संघीय संसदले जारी गरेको संभावित कार्यसूची अनुसार नेपाली काँग्रेसका सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठक बिहान ११ बजे बस्ने छ ।  

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न लागिएको बताए । 

प्रस्तावमा विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नको जवाफ सरकारले सदनलाई दिनुपर्ने उल्लेख छ । 

यस्तै बैठकमा बैठकमा भारतको अतिक्रमणमा परेको कालापानीबारे संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव पेश गर्ने र सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने कार्यसूची रहेको छ । 

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भुभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको सो संकल्प प्रस्ताव सचिवालयमा दर्ता भएको छ । 

यससँगै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *