कोरोनाको सामना गर्न सरकारका निर्णय पालना गरौंः प्रचण्ड

२०७६ चैत ९ गते

चैत्र ९, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धिका लागि अपील समेत गरे। उनले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तूहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारसँग आग्रह गरे।
साथै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न समेत उनले अनुरोध गरे। ‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन्।

२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित