कोरोनालाई भित्रिन नदिनेगरि काम गरिरहेका छौं: डा. देवकोटा

फागुन २०, काठमाडाैँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताएका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  भने,‘कोरोनालाई नेपाल आउन नदिनु हाम्रो प्रमुख लक्ष्य हो । सोहीअनुसार काम गरिररहेका छौं । सरकारले राम्रो तयारी गरेको छ ।’ 

डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने, ‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्राे भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढि फरेनहाईट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’ 

उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होईन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाईएको पनि उनले जनाए । उनले भने, ‘अहिले १९ जनाको जनशक्तिले काम गरिरहेको छ । ६ वटा थर्म मिटर प्रयोग भएको छ । व्यवस्थापन चुस्तदुरुस्त बनाएका छौं ।’ विमानस्थलको सम्पूर्ण व्यवस्थापनसँग् आफूहरुको टिम बसेर समन्वय भैरहेको पनि देवकोटाले जनाए ।   

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाईएको उनले स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि ३० वटा बेड आईसोलेशन बेड राखिएको उनले जनाए । चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ । शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।   

उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परिक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाईजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि हिजोबाट आवश्यक गम्भिरताका साथ कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’  

भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाईए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए । उनले सरकारी उच्च तहबाट अन्तर्राष्ट्रिय विमानस्थल ‘लक्ड–अप’ गर्ने निर्णय नभएको स्पष्ट पारे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *