कोरोना त्रास : विदेश जाने ७५ प्रतिशतले घटे, आन्तरिक उडानमा ४ अर्ब घाटा, कतार प्रहरीमा नेपाली

फागुन २४, काठमाडौ । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । आजको नागरिक दैनिकले चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।   

नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए। ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार नागरिकसँग भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन।’ 

रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ। सरकारले श्रम स्वीकृतिमा रोक नलगाए पनि वैदेशिक रोजगारीमा जाने (श्रमिक), पठाउने (म्यानपावर) र मगाउने (रोजगारदाता) को सहमतिमै संख्या घटिरहेको दाहालले बताए। ‘रोग फैलिएयता कुनै दिन त पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा कम उड्ने गरेका छन्,’ दाहालले भने। 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ कोरोना भाइरसको त्रासदी बढेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामात्र नभई गन्तव्य मुलुकबाटै मागपत्र आउने क्रम घटेको बताए। ‘केही दिनयता मलेसिया, साउदी अरेबियालगायतका मुलुकबाट आउने मागपत्रमा ७०/७५  प्रतिशतले गिरावट आइसकेको छ,’ उनले भने, ‘कुबेतलगायतका कतिपय मुलुकले विदेशी कामदार लिन रोक लगाइसकेका छन्।’ वैदेशिक रोजगारीका लागि मलेसिया र साउदी ठूला गन्तव्यको रूपमा परिचित छन्। 

अन्नपूर्णले ‘आन्तरिक उडानमा ४ अर्ब घाटा’ शीर्षकमा समाचार छापेको छ । आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। 

अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि भ्रमणका लागि नेपाल आउन पर्यटक हिचकिचाइरहेको संघका प्रवक्ता योगराज कँडेल शर्माले अन्नपूर्णलाई जानकारी दिए। ‘स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले नेपालबाट फर्किने पर्यटकलाई संक्रमण नभए पनि उनीहरूको देशमा क्वारेन्टाइन राख्ने डरले अहिले पर्यटक नेपाल आउन चाहँदैनन्’, उनले भने। 

पर्यटक भित्रिने क्रम घटेसँगै यसले मुलुकको आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने संघले उल्लेख गरेको छ। यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले सन् २०२० मा हवाई यात्रुमा आएको कमीले विश्वका वायुसेवा कम्पनीले ११३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको छ। यसबाट नेपाली वायुसेवा कम्पनीमा अछुतो रहने देखिँदैन। 

नेपालमा कोरोना संक्रमण शून्यको अवस्थामै हुँदा पनि यहाँ आउने पर्यटकको संख्या ओरालो लागेको छ। पर्यटक नआएपछि घरेलु वायुसेवा कम्पनीले उडान भर्दै आएका विभिन्न क्षेत्रका पर्यटकीय स्थलको उडान, माउन्टेन फ्लाइटलगायत उडान प्रभावित बन्न पुगेको छ। यो अवस्था अझै एक महिना लम्बिने हो भने दैनिक क्यान्सिलेसन ८० प्रतिशम्म पुग्ने बताइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारी भने अन्तर्राष्ट्रिय उडानमा कटौती नभएको बताउँछन्। यात्रु पाउने विमानले अहिलेसम्म उडान बन्द नगरेको विमानस्थलका प्रवक्ता देवचन्द्र कर्णले बताए। कोरोना संक्रमण फैलिएको चीनलगायत अन्य मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउने अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट नेपाल आउन कमी भएको छ। तर, मध्यपूर्वी एसियाबाट आउने पर्यटक संख्या बढेको छ। 

‘एडिबीको प्रक्षेपण : कोरोनाले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्छ’ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ । चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो ।  

कारोनाको असर कस्तो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडिबीले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ० दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडिबीले गरेको हो । नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ । पर्यटन क्षेत्रमा कुल गार्हस्थ उत्पादनको १ दशमलव ७५ प्रतिशत क्षति हुने आकलन गरिएको छ । कोरोनाको प्रभाव मध्यमस्तरमा मात्रै भयो भने कुल गार्हस्थ उत्पादनको ० दशमलव ०८ प्रतिशत क्षति हुने अनुमान पनि एडिबीको छ ।  

प्रकोप अनियन्त्रित भयो भने अर्थतन्त्रमा ठूलो क्षति पुग्ने विश्लेषण छ । यो सम्भावना मात्रै भएकाले एसियाली मुलुकहरूलाई सचेत बनाउन मात्रै यस्तो आकलन गरेको एडिबीको भनाइ छ । त्यस्तो अवस्थामा भने कुल गार्हस्थ उत्पादनको १ दशमलव ११ प्रतिशत अर्थात् ३७ अर्ब रुपैयाँ क्षति हुने आकलन पनि एडिबीले गरेको छ । पर्यटन, ट्रान्सपोर्ट र कृषि तथा खनिज क्षेत्र बढी प्रभावित हुने उसको आकलन छ । त्यस्तो अवस्थामा होटेल, रेस्टुरेन्ट क्षेत्रमा जिडिपीको २ दशमलव ५४ प्रतिशत, ट्रान्सपोर्ट क्षेत्र १ दशमलव ३३ प्रतिशत, कृषि तथा खनिज क्षेत्रमा १ दशमलव २२ प्रतिशत कमी हुने अनुमान एडिबीको छ । 

कान्तिपुरले ‘एसइई निर्धारित तालिकामै’ शीर्षकमा समाचार छापेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ६ मा तोकिएको एसइई निर्धारित समयमै हुने भन्दै हल्लको पछाडि नलाग्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।  कोरोना भाइरसको संक्रमणबारे सचेतना अपनाइएको र सरकार सर्तक पनि रहेकाले परीक्षा हुनेमा ढुक्क हुन मन्त्रालयले आग्रह गरेको हो ।   

‘कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन’, शुक्रवार मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकारले सम्भावित परिस्थितीलाई गम्भीर ढंगले विश्लेषण गरेको छ । मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ । एसइई पूर्वनिर्धारित तालिकामै सञ्चालन हुनेछ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओली हिंड्डुल गर्न थालेका छन् राजधानी दैनिकमा खबर छ । बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रवार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।  

मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मोबाइलमा कुरा गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु।’ 

सो क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले पहिलोपटक भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । तर, चिकित्सकहरूले अन्य कसैलाई पनि भेट्न दिएका छैनन् । चिकित्सकका अनुसार शुक्रवारदेखि उनलाई हिंँडडुल गराउन थालिएको ह। साथै प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको छ ।  

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचकहरू पनि सामान्य अवस्थामा छन् । क्रमिक रूपमा सुधार हुँदै आए प्रधानमन्त्री ओलीलाई सोमवार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । यद्यपि, स्वास्थ्यमा उतार चढाव देखिए केही दिन लम्बिन सक्ने चिकित्सकले बताएका छन् । 

यस्तै, प्रधानमन्त्रीलाई मिगौला दान गरेकी उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको छ । उनलाई पनि ठोस खानेकुरा दिन थालिएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *