मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हेमन्त कान्छाको सारंगी संघर्ष र सफलताको कथा

हेमन्त कान्छा रसाईली अर्थात् सारंगी वादक । लोकप्रिय गायक । मौलिक गीतका सर्जक । कुशल संगीतकार । परिचय अनेक छन्, बहुप्रतिभाशाली । 

तीमध्ये एउटा परिचय मिठो लाग्छ उनलाई– ‘सारंगी वादक हेमन्त कान्छा रसाईली’ ! 

उनको लगाव गायनमा थियो, भविष्य सारंगी बन्यो । सारथी पनि । 

उनले सारंगीको जगेर्ना गरेका छन् भने सारंगीले उनको भविष्य जगेर्ना गरिदिएको छ । सारंगी जति रेट्छन्, उति तिखारिँदो छ भविष्य । भन्छन्– ‘मेरो करिअरको सुरुवात गायनबाट भयो तर सफलताको श्रेय म सारंगीलाई दिन्छु । मेरो चिनारी यही हो । मेरो साथी नै सारंगी हो ।’ 

एउटा जिज्ञासा–, 

सारंगीलाई प्राथमिकता दिनुको कारण गायनभन्दा सजिलो भएर हो ? 

‘सारंगी वादन धेरै गाह्रो छ । यो सिक्नका लागि तपस्या गर्नुपर्छ । गहिराईमा डुब्नुपर्छ । जोकोहीले सारंगी बजाउन सक्दैन !’ 

नेपालको गन्धर्व समाजमा हुर्केको बाजा हो, सारंगी । तपाईँको पहिचान कसरी बन्यो ?  

हेमन्तले संघर्षका ती दिनहरु सम्झिए, जतिबेला उनीसँग केवल दुई विकल्प थिए…! 

०५८/५९ सालतिरको कुरा । एकदिन ठमेल बजारतिर डुल्दै थिए हेमन्त । सानैदेखि गीत/संगीतमा लगाव राखेका उनको नजर सारंगीतिर पर्यो । 

३ सय रुपैयाँ तिरे र किने । कहिले १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो । 

आफूप्रतिको त्यो कठोर तपस्याले सारंगी प्रभावित भयो, उनलाई चिन्यो । 

…तर विडम्बना, हेमन्तले चिनेनन् ! गायकीको भूत जो सवार थियो । 

०६२/६३ सालतिर ‘काँचो सुन्तला’ गीतमा उनी आफैँले बजाएका थिए सारंगी । त्यसपछि २०/२५ वटा गीतमा बजाए । त्यतिबेला अलिकति लाज लाग्यो । ‘धुन पो बिगारेँ’ कि भन्ने डर भयो, टुंगियो सारंगीसँगको यात्रा ! 

‘गायक नै बन्छु’ भन्ने अठोटका साथ यताउति भौँतारिए । गाए पनि । गाएका सबै गीतबाट राम्रो प्रतिक्रिया त पाए तर सफल हुन सकेनन्, जति सोचेका थिए । जिविकोपार्जन गर्नैै कठिन भयो । 

भविष्य अन्धकार लाग्न थाल्यो । गर्ने के त अब ? 

हात लागे दुई विकल्प, सारंगी बजाउने या विदेश जाने ! 

सारंगी फेरि साइड लाग्यो, रोजाईंमा पर्यो ‘वैदेशिक रोजगार’ । ‘जापानमा भविष्य राम्रो छ’ भन्ने सुनेका थिए, त्यतै जाने तयारी थाले । 

सोचेका थिए– ‘जापानमा सारंगी बजाएर अथवा सिकाएर भएपनि ज्यान पाल्छु ।’ 

तर सोचेजस्तो भएन, पैसा फस्यो । ‘प्लान चौपट’ । न यता न उता ! 

मुहार पुस्तिका अर्थात् सामाजिक सञ्जाल हेरेर ती पीडा भुलाउँदै, दिन बिताउँदै थिए ।  

अचानक राकेश सोनीको म्यासेज आयो– ‘तिमी सारंगी बजाउँछौ होइन ?’ 

‘उम, हो ।’ 

‘भोलि बिहान मेरो स्टुडियोमा आऊ, एउटा गीतमा सारंगीको धुन राख्नु छ ।’ 

…त्यसपछि बुनियो ‘सारंगी सपना’ ! 

जापानका लागि पैसा फसेपछि हेमन्तले सपना नै सारंगीको देख्न थाले । कल्पना बन्यो उही । भविष्यको यात्रा सारंगीबाटै सुरु गरे, गन्तव्य पनि यही हो उनको । गर्नुछ त केवल ‘अझै राम्रो’ । 

खुशी छन् हेमन्त– ‘मेरो करिअरको मुख्य जग नै सारंगी हो । वर्तमानमा जे–जति पाएको छु, यसैबाट पाएको छु । सारंगी बजाएरै नाम, दाम, इज्जत कमाएको छु । यसैबाट ज्यान पालेको छु ।’ 

५० भन्दा बढी गीतमा आवाज दिएका हेमन्तले पछिल्लो समय गायनलाई पनि प्राथमिकता दिन थालेका छन् । आफ्नो ‘भाग्यमानी’ गीतबाट उनी गायनमा फर्किएका हुन् ।  

उनले १० हजार बढी गीतमा सारंगी बजाएका छन् । भाग्यमानी, बालापन, किन होला खै, झुटो माया, मरेछ नि लाहुरे, कर्मै हाराको, रेलको ढोका बन्द, तिम्रो नै माया, खै सरकार लगायत उनका धेरै गीतहरुले राम्रो प्रतिक्रिया बटुलेको छ ।   

०००          ०००                ००० 

म्याग्दीको मालिका गाउँपालिका–४ की तुलसरा रसाईलीका ७ सन्तानमध्ये कान्छा हेमन्तले ६ कक्षासम्म गाउँमै अध्ययन गरे, जतिबेला उनी १२ वर्षका थिए । 

त्यसपछिको आधा बाल्यकाल काठमाडौंमा बित्यो । धापासीस्थित तिलिङटार माध्यमिक विद्यालयमा अध्ययन सुरु गरे । हेमन्त बाल्यकालमा चञ्चले स्वभावका थिए । उट्पट्याङ पनि जान्दथे धेरथोर । सिकाईमा गहिरो लगाव थियो उनको, अहिले पनि छ ।  

गीत/संगितमा सानैदेखि तल्लिन हुन्थे, मरिहत्ते गर्थे । काठमाडौंबाट चाडवाडमा घर फर्कँदा त्यहाँका गन्धर्व जातिले सारंगी बजाउँथे, लट्ठ पर्थे हेमन्त । सारंगीको धुन र गायन जब–जब उनको कानमा ठोक्किन्थ्यो तब मनमा एउटा तरंग पैदा हुन्थ्यो– ‘म पनि सारंगी किन्छु, गीत गाउँछु ।’ 

अहिले हेमन्त बजाउँछन्, लट्ठ पर्छन् दर्शक/श्रोता ! 

सुरुसुरुका दिनमा त सपोर्ट थिएन कसैबाट । दिन–प्रतिदिनको ‘असफलता’ ले सायद दिक्क थिए परिवार, सन्तानको ‘भलो’ जो चाहन्छन् । अहिले साथ मिलेको छ परिवारको । 

तर ती कठोर संघर्ष बेलाबेला चस्किन्छन्– चसक्क, चसक्क । ती दिनहरु सम्झिँदा भावुक हुन्छन् हेमन्त । आँशु आउँछ रे आँखामा ! 

‘जिन्दगी एउटा उत्तरचढाव हो । खुशी पनि थिए, दुःख पनि थिए, सुख पनि थिए । ती पलहरु नै मेरा संघर्षका सिँढी हुन्, जसलाई पार गर्दै यहाँसम्म आइपुगेको छु । हौसला मिलेको छ ।’ 

सारंगीको जगेर्ना कसरी गर्न सकिन्छ ? 

– ‘मैले जस्तै गरी बजाउनुपर्छ !’ 

– ‘सारंगी कहिल्यै नमर्ने बाजा हो । हामीले नबजाएसम्म, नसुनेसम्म यसको जगेर्ना हुँदैन ।’ 

– ‘नयाँ पिँढीलाई प्रोत्साहन गरिदिनुस्, यस्ता गीत र बाजाको संरक्षण यसै हुन्छ !’ 

प्रतिकृयाहरु
Loading...