कोरोना त्रास : मनकामना मन्दिरमा पूजा गर्न रोक

चैत ८, काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजआजा गर्न रोक लगाइएको छ ।  

कोभिड–१९ को संक्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए । 

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको घुइँचो हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको हो । मनकामना मन्दिरमा दैनिक करीब तीन हजार ५०० भन्दा बढी भक्तजनले पूजा गर्ने गरेका छन् ।   

यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको संक्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 

अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले जानकारी दिए । चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ । उनकाअनुसार अब बिहान सधैंजस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । 

यो वर्षको चैतेदशैं आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैंको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *