कोरोनाको त्रास : चिनियाँ देख्दा हच्किन्छन् स्थानीय

फागुन २०, लमजुङ । मर्स्याङ्दी-६ दिङदिङकी गीता अधिकारी ठूलीबेंसीस्थित जटेश्वर आधारभूत विद्यालय पढाउँछिन् । नजिकै चिनियाँ कम्पनीले निर्माण गरिरहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना छ ।  

उनी चिनियाँ क्याम्प हुँदै आउजाउ गर्छिन् । चिनियाँ कामदार क्वारेन्टाइनबिनै आएको थाहा पाएका गाउँलेले भने गीतालाई हेपाहा व्यवहार गर्न थालेका छन् । कोभिड सार्न सक्ने भन्दै गाउँलेले ‘गाउँ निकाला गर्नुपर्छ’ भन्नेसम्मको चेतावनी दिएको उनले सुनाइन् । 

‘बाटोमा हिँड्दै गर्दा दुई/चार जनाले मलाई गाउँ निकाला गर्नुपर्छ भन्दा रहेछन्,’ सोमबार ठूलीबेंसीमा आयोजित सचेतना कार्यक्रममा उनले भनिन्, ‘१४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने रातारात आएपछि गाउँले त मलाई पो निकाला गर्नुपर्छ भन्छन् ।’  

नाइचे गाउँ टोलसुधार समितिका अध्यक्ष केशबहादुर गुरुङका अनुसार चिनियाँले बनाउँदै गरेको ड्यामबाटै आउजाउ गर्नुपर्दा सकस छ । उनले भने, ‘हामीलाई कोरोना लागिहाले यो जिम्मा कम्पनीले बेहोर्छ कि नेपाल सरकारले ?’ 

कोभिड संक्रमित चीनका नागरिक रातारात आएर जलविद्युत् आयोजना निर्माणमा जुटेपछि स्थानीयले असुरक्षित महसुस गरेका छन् । आयोजनामा कार्यरत ३८ चिनियाँ यहाँ आइसकेका छन् । उतै रहेका १९ जनालाई आउन नदिन स्थानीयले सरकारसँग माग गरेका छन्, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।  

आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले उनीहरू आउनेबित्तिकै केही घण्टा आराम गरेर काममा खटिएका छन् । आइसकेका चिनियाँलाई मार्च १५ सम्म स्थानीयसँग नभेट्न, सँगै खानपिन नगर्न र काम नगर्न भनिएको गड्तौलाले बताए । 

चिनियाँ कामदार भित्रिएपछि न्यादी आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–६ र ७ का स्थानीय त्रसित बनेको भन्दै सचेत गराइएको छ । कोभिडप्रति नकारात्मक धारणा स्थानीयमा विकसित भएपछि जिल्ला प्रशासनको संयोजनमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको टोली सोमबार ठूलीबेंसी पुगेको थियो ।  

लमजुङ जिल्ला सामुदायिक अस्पतालका डा. वीरबहादुर स्याङ्तानले कुनै पनि रोगप्रति मानिसको नकारात्मक धारणा बाहिर आए यसले सबैलाई असर गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *