काेरोना महामारीः घरमा बस्नेलाई ९ सुझाव !

चैत्र ९, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । हालसम्म नेपालमा यसको कुनै लक्षण नदेखिए तापनि भविष्यमा निम्तन सक्ने जटिलताका लागि राज्यसँगै नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनु आवश्यक छ ।  

संक्रमण फैलिएका देशहरुले अभ्यास गरेको सबैभन्दा प्रभावकारी उपाय भनेको ‘सेल्फ आईसोलेसेन वा क्वारेन्टान’ मा बस्ने हो । यो भनेको आफूलाई घर वा कोठामा राखेर संक्रमणको पहुँचभन्दा बाहिर रहने अभ्यास हो । यो रोग अरुबाट सर्ने रोग हो । अरुको सम्पर्कमै नआएको खण्डमा आफूलाई सुरक्षित राख्न सकिन्छ भन्ने मान्यता छ । तर, एक्लै आफूलाई बन्द कोठा वा घरमा राख्दा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अर्को नकारात्मक पक्ष छ । यसमा केही सावधानी अपनाउने हो भने यो अवस्थाबाट पनि छुटकारा पाउन सकिन्छ । त्यसका लागि हामी यी कुरामा ध्यान दिन सक्छौँ । 

१. धेरैदिन एक्लै एकै ठाउँमा बस्दा हामीलाई आफ्नो दैनिकी या दिनचर्याले सताउन सक्छ । कार्यालयमा जाने, मानिसहरुसँग भेटघाट गर्ने, साथीहरुसँग रमाइलो गर्ने वा अन्य कुनै नियमित काम गर्ने बानी परिसकेको हुन्छ । यस्तो अवस्थामा लामो समय एक्लै बस्दा मन र मस्तिष्कमा अनावश्यक कुराहरु खेल्न सक्छन् । त्यसो हुन नदिन फोन वा इन्टरनेटको माध्यमबाट साथी वा परिवारका सदस्यसँत नियमित कुराकानी गर्ने, विभिन्न पुस्तकहरु पढ्ने, फिल्म हेर्ने गर्नुपर्छ । 

यसो गर्दा हाम्रो ध्यान अन्तै मोडिन्छ र दिमागमा नकारात्मक कुराहरु खेल्न पाउँदैन । अझ उपयोगी पुस्तकले त मोटिभेसनको कामसमेत गर्छ । अथवा, आफूलाई अन्य सिर्जनात्मक काममा लगाउन पनि सकिन्छ ।  

२. बिहानभरी सुतेर तपाई १२ बजे उठ्नुहुन्छ र भोक लागेपछि जंक फुड वा जे सहज र छिटो हुन्छ त्यहि खाना खाने गर्नुहुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ । सकेसम्म बासी खानेकुरा पनि नखानुहोस् । यसले गर्दा ग्यास्टिक या अन्य स्वास्थ्य समस्या निम्तने सम्भावना रहन्छ । 

त्यसैले कति बजे उठ्ने, खाना कति बजे खाने, पढ्ने कुन समयमा, इन्टरनेट कतिबेला चलाउने, फिल्म हेर्ने वा अन्य काम गर्ने र सुत्ने कतिबेला भनेर दैनिक रुटिङ बनाउनुहोस् । सोहीअनुसार आफूलाई दैनिकीमा ढाल्नुहोस् । त्यसपछि तपाईंलाई यही समय र अवस्था प्रिय लाग्न थाल्छ ।  

३. व्यायाम र ध्यान अर्को महत्वपूर्ण पक्ष हो । शारीरिक स्वास्थ्यसँग मानसिक स्वास्थ्य पनि जोडिएको हुनाले सकेसम्म आफूलाई चलायमान बनाउनु आवश्यक छ । त्यस्तै, ध्यान गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने विकार तथा नकारात्मक भावहरु हराउँछन् । नकारात्मक कुराहरु सोच्नु या खेलाउनु मानसिक स्वास्थ्यका लागि निकै घातक हुन सक्छ । संगीत सुन्दै तपाईं नाच्न पनि सक्नुहुन्छ । 

तपाईंको आफ्नो जीवन हो यो समयलाई सकेजति इन्जोय गर्नुहोस् । यो समय भनेको अस्तब्यस्त जीवनलाई व्यवस्थित बनाउने अवसर पनि हो, यसलाई खेर नफाल्नुहोस् ।  

४. प्रकृतिसँग रमाउनु अर्को उत्तम उपाय हो । सम्भव छ भने बगैंचा या बालकुनीमा बसेर त्यहाँको प्राकृतिक सुन्दरतालाई ग्रहण गर्नुपर्छ । या, आफ्नो घर वा कोठाबाट देखिने बाहिरी दृश्यलाई नियालेर रम्न सकिन्छ ।  

कुनै रुख वा मन्दिरको सुन्दरता, खोला या हिमाल–पहाडको मनमोहकता, खेतबारी, विभिन्न प्रकारका घरहरु या अन्य कलात्मक चीज, बस्तु या स्थानलाई महसुस गरेर रमाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं झ्यालबाट आउने स्वच्छ हावा पनि ग्रहण गरिरहनु भएको हुन्छ । 

५. तपाईंलाई कुनै कुरामा रुची या प्यासन छ तर, समय अभाव वा अन्य कारणले त्यो काम पुरा गर्न सक्नुभएको छैन भने यो समयलाई अवसरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जस्तै, गिटार बजाउन सिक्न, अभिनय सिक्न वा कुनै ब्लग वा आलेख लेख्न प्रयास गर्न सकिन्छ । आफ्नो दैनिकीलाई डायरीमा टिपेर आजभन्दा भोलि कसरी अझ राम्रो र व्यवस्थित बनाउने भन्नेबारे सोच्नुभयो भने झन् राम्रो । 

६. जतिबेला पनि कोरोना भाइरसको प्रभावबारे समाचारहरु नपढ्नुहोस् । कोरोनाको बारेमा मात्र अपडेट हुन खोज्दा र दिमागमा यही चीजलाई बसाउँदा मनोटोनस हुन सक्छ । फेरि झूटा र अतिरञ्जित गर्ने समाचारहरु पनि आइरहेका हुन्छन् । 

त्यसैले आधिकारीक संचारमाध्यमले प्रकाशन, प्रसारण गरेका समाचारहरुलाई मात्र विश्वास गर्नुपर्छ । कोरोनाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे दिइएका सूचनाहरु ग्रहण गरेर व्यवहारमा लागू गर्नुपर्छ । तपाईं घरमा सुरक्षित हुनुहन्छ भन्ने सोच्नुहोस् र आशा गर्नुहोस् अरु पनि सुरक्षित हुनुहुन्छ । 

७. सबैभन्दा महत्वपूर्ण कुरा तपाईंले यो समयलाई आफ्नो आजादीको रुपमा लिन सक्नुपर्छ । सधैभरको दौडधूप र संघर्षबाट केही दिन बिश्राप लिने समय पाउनुभएको छ । यो समयमा तपाईंले आफू र आफ्नो जीवनलाई बुझ्न सक्नुहुन्छ । यो समयलाई सही सदूपयोग गरेर फलदायी काममा लगाउन सक्नुहुन्छ । 

तपाईं लेखक वा कलाकार हुनुहुन्छ भने आफ्नो विगतका कामबारे समिक्षा गरेर कमी–कमजोरी पहिल्याउँदै आगामी दिनको योजना बनाउनु सक्नुहुन्छ । जस्तै, कलाकारले आफ्नो पुराना अभिनयहरु हेरेर आनन्द लिने र राम्रा–नराम्रा पक्ष केलाउने, लेखकले आफ्नो पुस्तक पढेर आत्म समिक्षा गर्ने, राम्रा–नराम्रा कुरा केलाउने गर्न सक्छ । 

८. पुराना फोटोहरु हेर्दा पनि रिफ्रेसमेन्ट हुन्छ । फोन, ल्यापटकमा राखिएका होउन् या एल्बममा । त्यस्तै, आफूलाई मन पर्ने कपडाहरु एक ठाउँमा राख्ने, ती कपडाहरु कहाँ र कसरी किनेको हो सम्झने, आफूले बाल्यकालमा लगाएका कपडाहरु सम्झने गर्नु आफूलाई भुलाउने अर्को उपाय हो । आफ्नो कोठाको व्यवस्थापन गर्ने, साजसज्जा नयाँ तरिकाबाट गर्नेबारे योजना बनाउने गर्दा पनि रचनात्मक कार्य हुन्छ । 

प्रेमी, प्रेमिका या सथीभाइससँगका रमाइला क्षणहरु याद गर्ने गर्दा राम्रा पुराना यादहरुले जिन्दगीमा फेरि ताजकी थपिदिन्छ । आफ्नो कमी–कमजोरी केलाउने अवसर प्राप्त हुन्छ । अघि बढ्न उत्प्रेरणा मिल्छ । 

९. त्यसैगरी हामीले खानामा पनि विशेष ध्यान दिनुपर्छ । घरमा बसेर जंक फुड खाँदै फिल्म हर्ने वा इन्टरनेट चलाउनेमात्र गर्नु हुँदैन । यसो गर्दा तपाईंको स्वास्थ्य बिग्रन सक्छ । र, तपाईंलाई अस्पतालसम्म पुग्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था आयो भने तपाईं आइसोलेसनमा बसेको कुनै काम नभन । फलफूलहरु खाने, ताजा खाने कुराहरु खाने गर्नुपर्छ । घरमा छैन भने बजारबाट अनलाइनमा मगाउन पनि सकिन्छ । 

र, अन्त्यमा डाक्टर, स्वास्थ्यकर्मीको सल्लाह–सुझावलाई ग्रहण गर्नुपर्छ । कुनै समस्या भए तत्काल आफ्नो समस्याबारे फो सम्पर्क गरेर कसैलाई सेयर गर्न वा सिधै अस्पतालमा कुरा राख्न सकिन्छ । सानो समस्या पनि हामी आत्तिन सक्छौँ, यसो गर्दा आफ्नो समस्याबारे प्रष्ट हुन्छ । अवस्थाअनुसार द्धरेलु उपचार विधिहरु पनि अपनाउन सकिन्छ । 

(सुझावकर्ता कृष्ण आचार्य उपन्यास ‘अप्रिल फुल’ का लेखक तथा पत्रकार हुन्) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *