‘कोरोना देखिए उपचारकाे जिम्मा सरकारले लिन्छ’

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको उपचारको जिम्मा सरकारले लिने बताएका छन्। बुधबार प्रेस विफ्रिङमा स्वास्थ्य मन्त्री ढकालले नेपाली र विदेशीमा कुनै विभेद नगरी सबैको उपचार सरकारले गर्ने बताएका हुन्।
मन्त्री ढकालले नेपालमा भेटिएका कोरोना भाइरसबाट संक्रमितहरु आएका विमानहरुको विस्तृत जानकारी दिने भन्दै ती विमानबाट आएका अन्य यात्रुहरुको ‘फलो’ भइरहेको बताए। यस्तो अवस्थामा सबैले साथ दिन मन्त्री ढकालले आग्रह गरेका छन्। ‘यस्तो अवस्थामा हामी सबैको साथबाबट यसको सामना गर्छौँ। हाम्रो सानो असावधानीले/खेलाचीले परिवार, छिमेक, समाज र देशमा क्षति पुग्न सक्छ। त्यसैले यस विषयमा खेलाची नगरौँ,’ उनले भने।
मन्त्री ढकालले तीन दिनभित्र चीनबाट स्वास्थ्य सामाग्री आइपुग्ने समेत जानकारी दिए। सरकारले यसअघि नै चीनसँग कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री माग गरिसकेको छ।

‘तत्कालै चीनमार्फत हामीलाई चाहिने सामाग्री उपलब्ध गराउने सम्बन्धमा सरकारको तर्फबाट ठोस पहल भइरहेको छ,’ उनले भने, ‘तीन दिनभित्र माग भएका सामाग्रीहरु ल्याउन सफल हुने विश्वास लिएका छौं। हामी आज बेलुकासम्म ल्याउने सम्पर्क व्यक्तिहरु टुंगो लगाएर त्यसको व्यवस्थापन गर्ने काममा लाग्नेछौं।’








