कोभिड –१९ ददेरिमा सञ्चालनमा रहेको हेल्थ डेक्स बन्द

चैत १५, प्यूठान । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन दाङ र प्यूठान जिल्लाको सीमानाका सरुमारानी गाउँपालिका वडा नं २ ददेरिमा सञ्चालनमा रहेको हेल्थ डेक्स बन्द गरिएको छ ।
सो नाकाबाट आवतजावत नै बन्द भएपछि डेक्स बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख तथा विपद् व्यवस्थापन समितिका सदस्य विशाल सुवेदीले जानकारी दिए। जिल्ला विपद व्यवस्थापन समितिको निणर्य अनुसार सो स्थानहुँदै आवतजावत गर्नेको स्वास्थ्य परीक्षण गर्न डेक्स स्थापना गरिएको थियो ।

स्वास्थ्यकर्मीको टोलीले बाहिरबाट गाउँ आएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गर्ने गरेको उनले बताए । स्वास्थ्य जाँचका क्रममा सम्भावित कोरोना भाइरसको लक्षण देखिए क्वरेन्टाइनमा राख्ने प्रवन्ध मिलाइएको छ ।
हालसम्म एक हजार ८९९ जनाको स्वास्थ्य जाँच गरिएको मध्ये सम्भावित कोरोना भाइरसको जोखिम कोहीमा देखिएको छैन । प्रमुख सुवेदीले लकडाउनको अवधिमा घरभित्रै बस्न र स्वास्थ्यमा समस्या आइपरे आफ्नो कार्यालयलाई जानकारी दिन आग्रह गरे ।








