बालुवाटारमा नयाँ ‘सेटअप’, वुहानका नेपाली ढुक्क, जडिबुटीमा छ प्रतिरोधी क्षमता

फागुन २८, काठमाडौ । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । ”बालुवाटारमा नयाँ ‘सेटअप’” शीर्षकमा आजको कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन ।  

मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरूको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् । 

प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’ 

बालुवाटारको प्रधानमन्त्री निवास हातामा दुई मुख्य भवन थिए । प्रधानमन्त्री निवास र मुख्य सचिव निवास । प्रधानमन्त्री निवास रहेको पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएपछि प्रधानमन्त्री ओलीको बसाइ मुख्य सचिव निवासमा छ । अहिले त्यही भवनमा सरसफाइ भइरहेको हो । उक्त भवन प्रधानमन्त्रीको पुरानो निवासभन्दा केही साँघुरो छ । 

प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यसँग पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्याहार गरेको अनुभव रहेका कारण खानपानलगायत उनको व्यक्तिगत सरसफाइलाई व्यवस्थापन गर्न धेरै कठिनाइ नहुने देखिए पनि अहिले ओली फरक भूमिकामा रहेकाले अन्य विषयको व्यवस्थापन गर्न भने चुनौती छन् । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएको समाचार नागरिकले प्रकाशित गरेको छ ।   

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने पनि चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधार देखिए पनि तत्काल डिस्चार्ज गर्न नहुने बताइन्।  

उनले डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने जानकारी दिइन्। ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौं, भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन’, उनले भनिन्। उनका अनुसार अहिले नै डिस्चार्ज गर्न सकिने भए पनि घरमा समेत अस्पतालको जस्तै ख्याल गर्नुपर्ने भएकाले अस्पतालमै राखिनेछ। 

परिवार स्रोतले पनि घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्न आग्रह गरेको डा. शाहले जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने छ। औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहे पनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यससम्बन्धी ज्ञान भएकाले संकट नआउने उनको भनाइ छ । 

अन्नपूर्णले ‘न ग्यास न मास्क’शीर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । मंगलबार बिहान ११ बजे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें।  

तर कतै पाइनँ। एक थान सिलिन्डर मिलाइदिनुपर्‍यो।’ यो कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो। महर्जनको कुरा नटुंगिँदै अर्का एक सर्वसाधारण लाइनमा आइसकेका थिए। 

विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्षेत्रमा कुनकुन कम्पनीको ग्यासको डिपो छ र उपलब्धताका विषयमा ग्यास उद्योगसँग आवश्यक पहल गरिने जवाफ मात्रै फर्काउन पाए। ‘हेलो विभाग ! म भक्तपुरबाट सोनम मगर बोलेको। यहाँ ग्यास र मास्क पाइएन। ग्यास नपाए मेरा बालबच्चा र जहान भोकै बस्नेछन्।’ 

पोखरेलले मगरसँग भने, ‘मगरजी तपाईंको गुनासो मैले टिपें। सरोकारवाला निकायसँग सहकार्य गरी सकेसम्म तपाईंलाई ग्यास उपलब्ध गराउन प्रयास गर्छौं।’ लगत्तै लाइनमा आइपुगेका अर्का सर्वसाधारण झापाका उमेश कार्कीले पनि त्यस्तै गुनासो तेर्साए। ‘सर हाम्रोतिर मास्क र ग्यासको चरम अभाव भयो। किन्न पाइएन। हुनेखानेले पहुँचको भरमा ३–४ वटा सिलिन्डर पाए। जसरी पनि एउटा सिलिन्डर उपलब्ध गराइदिनुपर्‍यो,’ कार्कीले भने। 

कार्कीलाई पनि पोखरेलले ग्यास उपलब्ध गराउन सकेसम्म प्रयास गर्ने बाचा गरे। लगत्तै अर्को फोन उठाए। काठमाडौं बागबजारकी राधिका तामाङले ग्यास नपाएर कठिन भएको गुनासो गरिन्। हटलाइनमा एक घण्टामै करिब डेढ सय संख्यामा गुनासा आउँछन्। कतिपयको गुनासो टिप्नै नभ्याउने पोखरेलले बताए। गुनासो केलाएर काठमाडौंमा सकेसम्म अनुगमन टोली पठाउने गरिएको छ। 

विभागले बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरी जानकारी गराउँदै आएको छ। कोरोना भाइरसको सन्त्रासका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु सञ्चित गर्न थालेपछि हटलाइन व्यस्त छ । 

वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएको समाचार गोरखापत्रमा छ ।  नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो ।  

गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन। 

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ । विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ । 

वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भने, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छ” उनका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । 

यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो । भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ ।  

नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ । 

नयाँ पत्रिकाले सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको समाचार छापेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । 

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । 

०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *