दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने गृहको निर्णय

चैत्र १३, काठमाडौं । गृह मन्त्रालयले लकडाउनको अवधिभर खाद्यलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ ।  बिहीबार सिंहदरवारमा बसेको बैठकले खाद्य सामाग्री, एलपी ग्याँस, दुध, तरकारी र फलफूललगायत वस्तुको उपलब्धता सहजीकरणका लागि यस्तो  निर्णय गरेको हो । 

काठमाडौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका गोदामबाट समेत विक्री वितरण तथा आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी बनाउन ७७ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाभित्रका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं विक्रेताहरूले आफ्नै डेलिभरी भ्यान (गाडी) मार्फत् आवश्यकता बमोजिम दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिका लागि व्यवस्था मिलाउने निर्णय गरेको हो । 

यस्ता सामान बोक्ने गाडीहरूलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउन तथा पसलहरू सञ्चालन, उपभोक्ताको माग संकलन र वितरणमा महानगरीय प्रहरीलाई सुरक्ष व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ । 

गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार उपभोक्ताको माग संकलन र खाद्य सामाग्री वितरण कार्यलाई सहज बनाउन प्रत्येक खाद्य स्टोर तथा पसलहरूलाई टोल–फ्रि एवं अन्य फोन नम्बर उपलब्ध गराई प्रचारप्रसारको व्यवस्था मिलाइएको छ । इन्टरनेटको पहुँच भएकाहरूका लागि ‘अनलाइन’ मार्फत् वस्तु उपलब्ध गराउने निर्णय छ। उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सबै नगरपालिका र गाँउपालिकाका वडा कार्यालयहरूलाई निर्देशन दिएको छ । 

कालोबजारी, चर्को मूल्य, कृत्रिम अभाव र जम्माखोरी कार्यविरुद्ध कडाइका साथ लाग्ने समेत जानकारी दिइएको छ । कालोबजारी र मूल्यवृद्धि गर्ने विरुद्ध ११४९ टोल–फ्रि नम्बरमा उजुरी दिन समेत आग्रह गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =