धरानका हरेक वडामा तरकारी पुर्याइँदै, वडाध्यक्ष आफैँ खटिने

चैत्र १८, धरान । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले गरेको लकडाउनको आज ७ औँ दिन । दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सुनसरीको धरानमा चोकचोकमा तरकारी उपलब्ध गराउन सुरु गरिएको छ । 

सामाजिक दूरी कायम गरी उपभोक्तालाई गाडी, टेम्पो तथा अन्य साधनमार्फत् तरकारी वितरण गर्न शुरु गरिएको हो ।  

कोरोनाको जोखिम हुन नदिन स्थानीय प्रशासन र धरान उपमहानगरपालिकाद्वारा तरकारी बजार लगायतका स्थानहरु बन्द गराइएको छ । यस्ताे अवस्थामा धरानमा तरकारी बजार व्यवस्थापन समितिको सहकार्यमा विभिन्न वडाका वडा अध्यक्ष तथा कृषि बजार उपजले सहुलियतमा उपभोक्ताको दुरी कायम गरी हरियो सागसब्जी एवम् तरकारी बिक्री वितरण सेवा सुरु गरेको हो ।  

कृषि उपज बजार धरान–१३ ले लकडाउनमा तरकारीको अभाव हुन नदिने र उपभोक्तालाई सुलभ रुपमा वितरण गरिने जनाएको छ । फलफूल, आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी गराउँदै अगामी दिनमा थप सामाग्री विभिन्न स्थानहरुबाट धरान ल्याइने बताइएकाे छ ।  

धरानका थोक बिक्रेताका सहयोगीहरुले हाल धरानमा सुनसरीको स्थानहरुबाट हरियो तरकारी आपूर्ति भइरहेको र आलु प्याजको केही दिनका पुग्ने मौज्दात रहेको जानकारी दिएका छन् । 

धरानका मुख्य सब्जी मण्डीरु बन्द भएपनि चोक–चोकमा साँझपख, सटर तथा पसलहरु केही समयका लागी खुल्ला रुपमा तरकारीको सहज उपलब्ध भइरहेको छ । धरान नगरका बसपार्क छेउ सब्जी मण्डी, लगायतका विभिन्न वडा कार्यलय परिसर क्षेत्रमा दुरी कायम गरी हरियो तरकारी तथा फलफुल बिक्री वितरण भइरहेको छ ।  

अहिले धरान क्षेत्रका बजारमा आलु प्रतिकेजी ६०, प्याज प्रतिकेजी  ७०,टमाटर प्रतिकेजी  ५०, हरियो मटरकोशा प्रतिकेजी ६०, हरिया गट्टा प्रतिकेजी ७०, फूलकोवी प्रतिकेजी ६०, बन्दाकोवी प्रतिकेजी ३० तथा हरीयो खोर्सानी प्रति पाउको ५० मा बिक्री भइरहेको छ ।   

यसैबीच आफ्ना वडावासीलाई कसरी सहजरुपमा सागसब्जी वितरण गर्ने भनेर आज मंगलबार बिहान धरान–१३ स्थित कृषि बजारमा वडाध्यक्षहरुको बैठक समेत बसेको छ । मेयर, उपमेयर सहितको उक्त बैठकले भोलि बुधबारदेखि वडाध्यक्षहरुले नै आ–आफ्नो वडामा तरकारी वितरणको जिम्मा लिने निर्णय बैठकमा भएको छ ।  

हिजोदेखि वडामा कृषि बजारको गाडीले तरकारी वितरण शुरु गरेपनि कतिपय वडामा जनप्रतिनिधिहरुले समन्वय नगरिदिँदा सबै उपभोक्ताहरुले खरीद गर्न पाएका छैनन्। उपभोक्ताहरुको थप गुनासो आएपछि आज बिहानै वडाध्यक्षहरु सहित बैठक बसेर तरकारी वितरणलाई सहज बनाउने निर्णय लिइएको हो ।  

योसँगै भोलिदेखि वडाध्यक्षहरुको नेतृत्वमा विभिन्न ५ देखि १० ठाउँमा समय मिलाएर तरकारी वितरणको व्यवस्था मिलाइने कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =