कोरोना भाईरसका कारण धरानमा बिभिन्न कार्यक्रम स्थगित

फाेटाे स्राेतः गुगल
फागुन २३, धरान । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण धरानमा तय गरीको बिभिन्न कार्यक्रमहरु स्थगीत गरिएको छ ।
यसरी तय भईसकेका कार्यक्रमहरु स्थगीत हुँदा धरानका बिभिन्न संघसंस्थाहरुलाई प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा हानी नोक्सानी पुगेको छ ।

कोरोना भाइरसकै कारण वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चार वर्ष यता हुन गईरहेको दिक्षन्त समारोह स्थगीत भएको छ । भोली शनिबार हुने भनिएको दिक्षान्त समारोह स्थगित भएको हो ।
सो समारोहलाई तयारी स्वरुप गरिएको खर्च बढने निश्चित छ । कोरोना भाइरसका कारण सरकारले नै सभा समारोह नगर्न सुझाए पछि प्रतिष्ठानले दिक्षान्त समारोह स्थगित गरेको हो । ‘हामीले सबै तयारी गरेका थियौं तर, विश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण दिक्षान्त समारोह स्थगित गर्नुपर्यो ।’ प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालले बताए ।
उनले सरकारले नै सतर्कता अपनाउँदै भेला सम्मेलन नगर्न आब्हान गरेपछि विद्यार्थी, चिकित्सक तथा दिक्षान्त समारोहमा उपस्थित हुनेहरुको स्वास्थ्यलाई ख्याल गरी तत्कालका लागि समारोह स्थगित गरिएको बताए । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको प्रमुख आथित्यतामा समारोह गर्ने तयारी गरेको थियो ।
उता धरनमा नै ८ मार्चमा भब्य रुपमा गर्न लागिएको ‘११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस’ को वृहत कार्यक्रम महिला सञ्जाल धरानले स्थगित गर्नु परेको छ । महिला सञ्जालले धरानले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दैे ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा हुन लागेको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।
सञ्जालकी अध्यक्ष सविता राई, सचिव कोपिला गौतम भटराई र कोषाध्यक्ष लहरुमाया जिमीले विज्ञप्ती जारी गर्दै ८ मार्चमा हुन पाएको कार्यक्रम आगामी राष्ट्रिय महिला दिवसको दिन मनाउने निर्णय भएको जानकारी दिएका छन् । सो कार्यक्रम पनि कोरोना भाईरसकै कारण सरकारले सभा सम्मेलन गर्न रोक लगाएकाले नै स्थगीत गर्नु परेको सञ्जालकी अध्यक्ष राईले बताईन ।
केही दिन अघि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले नेपाललाई कोरोनाको उच्च जोखिम सूचिमा राखेपछि सरकारले सजकता अपनाउँदै कुनै पनि सभा सम्मेलन नगर्न निर्देशन जारी गरिसकेको छ ।
सरकारको आह्वानलाई मध्यनजर गदैँ अन्तिम अवस्थामा आएर कार्यक्रम स्थगित गर्नुपरेको सञ्जालकी अध्यक्ष राईले बताइन् । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, तर कोरोना भाइरसको कारण स्थगित गर्नुपर्यो, ’अध्यक्ष राईले भनिन् ‘८ मार्चमा गर्न लागेको कार्यक्रम आगामी जेष्ठमा राष्ट्रिय महिला दिवशको दिन गर्छौ ।’
यसैबीच कोरोनाको भाईरसकै कारण अनेम संघ धरानको फागुन २५ गते हुन लागेको कार्यक्रम पनि स्थगित गरेको छ भने २५ गते नै धरानमा नेवार एकता समाजको पनि बिभिनन कार्यक्रम समेत स्तगीत भएको छ । उता सरकारले कोरोना भाइरस जोखिम भएका देशमा अध्ययनका लागि जाने तयारी गरेका विद्यार्थीलाई ‘एनओसी’ समेत नदिने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चीन, अष्ट्रेलिया, जापान, युरोप, यूके, अमेरिका, क्यानडा, साइप्रस, उत्तर कोरिया लगायतका देशमा अध्ययनकालागि जान शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटरको आवेदन दिएका र तयारी गरेका विद्यार्थीलाई तत्कालका लागि एनओसी नदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयले उच्च शिक्षाका लागि विदेश जाने तयारी पुरा गरेका, कलेजबाट अफर लेटर आएर भर्ना प्रक्रिया पुरा गरेका विद्यार्थीलाई समस्या हुने देखिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण नआउञ्जेल सम्मका लागि एनओसी बन्द गरिएपछि कन्सल्टेन्सी ब्यवसायी पनि प्रभावित भएका छन् ।
‘विद्यार्थीको स्वास्थ्य भन्दा ठूलो कुरा त केही हैन, तर कोरोना भाइरसले नेपाली विद्यार्थी र कन्सल्टेन्सी क्षेत्रलाई पनि असर गरेको छ ।
उता कोरोना भाइरस (कोभि–१९) का कारण विश्वभर ३ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको तथ्याङ समेत बाहिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्र्तराष्ट्रिय तथ्यांक अनुसार गत शुक्रबार बिहान सम्म ३ हजार ३८३ को ज्यान गईसक्दा विश्वभर उक्त भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ।
चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान परेको छ ईटलीमा १४८ र ईरानमा १०७ को मृत्यु भएको छ। इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन्।
त्यस्तै चीन पछि सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा गएकै शुक्रबारसम्म ६ हजार २ सय ८४ जना पुगेका छन् भने, ४२ जनाको मृत्यु भइसकेको छ । कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले कोरोना संक्रमित राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएका छन्।
विश्व स्वास्थ्य संगठनले भीड र समूहमा नबस्न सुझाव दिएको छ भने हात समय समयमा धुन आग्रह गरेको छ। हालसम्म ५५ हजार १८६ जना कोरोनाको उपचारपछि स्वस्थ बनेको बताइएको छ।








