‘चीनबाट आएका विद्यार्थीले सरकारको प्रशंशा गर्दा कतिपयलाई सिटामोल खुवाउनुपर्ने अवस्था आयो’

भानुभक्त ढकाल, स्वास्थ्यमन्त्री 

फागुन १८, काठमाडौं । कोरोना भाइरस हाम्रो सय दिन भित्रको कार्यभित्र पर्दैनथ्यो । नचाहेर आइलागेको विषयमा हामी दुई महिनादेखि लागि परेका छौं । ३१ डिसेम्बरमा चीनमा एक जनालाई यो भाइरस लाग्यो । त्यसपछी चीनबाट एक जना विद्यार्थी जनवरी ९ मा नेपाल आउनु भयो । जनवरी १३ मा हामीले उहाँलाई परीक्षण गरेपछि जनवरी १३ देखि प्रत्यक्ष रुपमा हामी आजसम्म यहि विषयमा लागिरहेका छौं ।   

स्वास्थ्य मन्त्रालय सुधार गर्नुपर्यो भनेर कदम चाल्दै गर्दा शुरुमै नचाहेको विषयमा काम गर्नुपर्यो । सय दिनमा हामीले जति उत्साहपूर्ण रुपमा यी यी कामहरु गर्यौं भनेर भन्नु पर्दथ्यो त्यो सकेनौं ।   

क्याविनेटबाट गर्नुपर्ने कतिपय विधि र नितिका निर्णयहरु हिजोको भन्दा हामीले गतिका साथ गर्ने विस्वास दिलाएका छौं । सबै पुरा भए भन्ने हाम्रो दावि हैन । तर, हिजोको भन्दा हामी रफ्तारमा छौं । डेढ दुई वर्षभन्दा अगाडी देखि रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान तिर होस वा संस्थाका संरचनाहरुको पूर्णता दिने खालको काम गरेका छौं । 

समायोजन सम्बन्धी विषयमा हामीले करिब सात हजार माथिको समस्या समाधान गरेका छौं । यहाँ आइरहने साथीहरु देख्दा तपाईहरुलाई पुरानै समसया जस्ताको तस्तै रहेछ जस्तो लाग्नु स्वभाविक पनि हो । तर, त्यो क्रमसः घट्दैछ । धेरै फोहोरको डंगुर भएको ठाउँमा दुई चार ट्याक्टरले बोकेर लाने तय भइराख्दापनि नसकिँदा सम्म त फोहर छ भनेर मान्छेहरुले भन्नु स्वभाविक हो । स्वास्थ्य मन्त्रालय के हो र यसले के गर्छ भन्ने विषयमा लगभग केन्द्रसँग संबद्ध रहेका संस्थाहरुमा मन्त्री र राज्यमन्त्रीहरुको उपस्थितिमा एकाध ठाउँ वाहेक सबै ठाउँमा हामी आफैं गएर ती संस्थाहरुको अध्ययन गरेका छौं ।   

कतिपय थितिभन्दा बाहिर गएर मन्त्रालयभित्र गरिएका निर्णयहरुलाई विधिसंगत ढंगले अगाडी बढाउने काम गरेका छौं । केहि आन्तरिक जिम्मेवारीहरु समेत हेरफेर गरेका छौं ।   

अढाई वर्षदेखि १२ औं तहमा रिक्त रहेको तीन जना विशिष्ठ पदाधिकारीहरुको पदोन्नती भएको छ । विगतको मुल्यांकनमा एक नम्बरमा परेका ब्यक्तिहरु बाहिरिएर अरु हुने खालको परम्परालाई तोडिएको छ । विगतमा अन्यायमा परेका ब्यक्तिहरुले न्यायको अनुभूति गरेका छन् ।   

अस्पताल र अन्य क्षेत्रमा सुधार गर्नका निम्ति अलिक बेसी एक्सिलेटर दवाएर जाउँ भनेको ठाउँमा अतिरिक्त कामहरुले अलिक काम गर्न सकिएन ।   

कोरोना भाइरसका विषयमा कतिपय गरेका कुराहरु स्थापित गर्न नसकेका कारणले हामी माथि नै प्रश्नहरु बोकेर त्यसकै बोझले थिचिएर हिडनुपर्ने अवस्थामा छौं ।   

एयरपोर्टमा हाम्रै पहलमा सय डिग्री भन्दा माथि ज्वरो भए देखाउने मेसिन त राख्यौं तर, त्यो मेसिनबाट निरिक्षणको क्रममा ‘तिमी पास भएर गएका छौ’ भनेर सन्देश दिन सकेनौं । काम त हामीले गर्यौं तर, सरासर आउने हाम्रै नेताहरुले ‘हैन खैत त्यहाँ कसैले समातेन त, चेक गरेन त ?’ भनेर सोध्नुहुन्छ । हिजोबाट हामीले यो प्रश्नको जवाफ दिनको लागि प्रत्येक ब्यक्तिलाई निगरानी गरी प्लेन चढ्नु अघिपनि जाँचेर पठाउने र आएकालाई पनि जाँचेर पासै भएर आँए भन्ने विस्वास दिलाएर पठाउने ब्यवस्था गरेका छौं ।   

अहिलेसम्म कोरोना भाइरस एक जना चीनबाट आएका विद्यार्थीमा मात्र देखिएको छ । त्यो पनि नेगेटिभ भएको छ । अहिलेसम्म १७५ जना सहित २१८ जनालाई परीक्षणको क्रममा राखियो । एक जनाको पनि थप पोजेटिभ देखिएको छैन । तरपनि समाजमा भय र आतंक चै छ । ढुक्कले बोलौकि भन्दा भोली अवगालमा परिएलाकी भन्ने डर छ ।  

  

जतिखेर विद्यार्थीहरु चीनबाट ल्याउन ढिलो भइरहेको थियो । सरकारले चीनबाट विद्यार्थीहरु नल्याउने भो भनेर आलोचना गर्ने साथीहरु सदनमा पनि कराउँथे, सडकमा पनि कराए । अब ल्याउने भो भनेपछि मैले देख्ने ठाउँमा राख्नु भएन भनेर तीनै मान्छेहरुका अभिब्यक्ति आए । यो कुराले हामी कति जिम्मेवार छौं भन्ने कुरा देखाउँछ । पहिला इचंगु नारायणमा राख्ने कुरा थियो, मुख्य सचिव र सचिवज्यूहरुको टोली के पठाइएको थियो भोली पल्ट वडाध्यक्षको नेतृत्वमै जुलुस नै निस्किएर खबरदार यहाँ राख्न पाइन्न भने । चार ठाउँ हेरेपछि खरिपाटी लगेर राखियो । चीनमा भएका अशक्त र विरामीलाई यहाँ ल्याएर राख्छ भन्ने मनोविज्ञान त्यहाँको समाजलाई सम्प्रेषण गरियो ।   

विरामी ल्याएर राख्ने भएपछि डेरा भएकाले त छाडे घर भएकाले समेत छाडे भन्ने सुचना सम्प्रेषण गरियो । उता विद्यार्थीहरुलाई चैं लानै चाहँदैन, लग्यो भनेपनि कुन टापुमा लगेर गुफामै राख्ला कि जस्तो भयो । तर, आएका विद्यार्थीहरुले सरकारले हामीले सोचे भन्दा राम्रा ब्यवस्था गर्यो भनेर सरकारलाई धन्यवाद दिँदा कतिपय साथीहरुलाई सिटामोल खुवाउनु पर्ने अवस्था आयो । नगर्दा मात्रै हैन गर्दा पनि अपजस भोगेका छौं । तरपनि हामी सेवाभाव बाट विचलित भएका छैनौं ।   

हाम्रो विस्वास के छ भने १७५ जना विद्यार्थीहरु सकुशल रिलिज गर्न सक्छौं । हिजो मात्रै प्रधानमन्त्रीको निर्देशनमा बालुवाटारमा उच्चस्तरीय बैठक बसी आवश्यक कार्य योजना बनाउने भनेका छौं ।   

हिजो चीनबाट मात्र आतंक थियो । त्यहाँ छिमेकी भएपनि नेपालीहरुको उपस्थिति कम थियो तर, अहिले ६० वटा भन्दा बढि मुलुकमा कोरोना भाइरस फैलिएको छ । ती मध्येपनि दक्षिण कोरिया, अरब अलिपछि इण्डिया तिरपनि फैलियो भने यो चैं हाम्रा लागि सबैभन्दा भयावह हुन्छ । यस्तो अवस्थामा तयारी कसरी गर्ने भन्ने सन्दर्भमा हिजोको बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा मन्त्रीहरु सहितको उच्चस्तरीय समिति बनाएर आवश्यक तयारी गर्ने, ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।   

पहिलो सरकारको लक्ष्य कोरोना भाइरस हाम्रो देशको सिमानाभित्र प्रवेश गर्न नदिन केके गर्नुपर्छ सर्वोपरी हितमा केन्द्रीत भएका छौं ।   

यसका लागि अन्तराष्ट्रिय क्षेत्रबाट उडानहरु गर्ने देशहरुमा केही देशहरुमा जाने छाड्नै होकी भन्ने कुरा उठेको छ । एक दुई दिनमा औपचारिक निर्णय गर्छौं । संभावित जोखिम रहेका ठाउँहरुमा यात्रा गर्ने कुरामा सावधानी अपनाउने भनिएको छ ।   

यसका अतिरक्त नेपाल सरकार, आयएनजिओ, एनजिओहरु, संघसंस्थाहरुले अन्तराष्ट्रिय क्षेत्रहरुलाई समेटेर राष्ट्रमा आयोजना गरिएका कार्यक्रमहरु कत्तिको उपयुक्त हुन्छ ? संक्रमित राष्ट्रहरुमा राष्ट्रको प्रतिनिधित्व गरेर जाने कुरा कति उपयुक्त हुन्छ ? हाललाई त्यस्ता विषय कार्यक्रमहरु स्थगित गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा निष्कर्षको नजिक पुगेका छौं ।   

भिजिट २०२० को सन्दर्भमा हात अन्तराष्ट्रिय स्तरका प्रचारात्मक कार्यक्रम स्थगित गर्ने भनिएको छ । त्यत्ति मात्र हैन देशैमा गर्ने कार्यक्रमहरुमा पनि मूलतः ठूला र अनियन्त्रित हुने कार्यक्रम, मान्छेहरु भेट हुँदा अंगालो मार्ने, चुम्बन गर्ने शैली भन्दापनि टाढैबाट नमस्ते गर्ने शैली अवलम्बन गर्दा थोरै भएपनि कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्छ कि भनेर सार्वजनिक सुचनाको माध्यमबाट सचेतना फैलाउने छ ।   

 अस्पतालहरुका विषयमा ४३ वटा आइसोलेटेड वेडहरु तयारी अवस्थामा छ । विभिन्न अस्पतालहरुमा आवश्यक ब्यवस्था गन वाहेक, बैठक बस्ने, छलफल गर्ने काम गरिरहेका छौं । मन्त्रालयमा पनि निर्देशक सहितको टोली छ । अन्य मन्त्रालयमा पनि छ । क्वारेन्टाइनमा राख्ने सवालमा पनि टोली परिचालन गरेका छौं ।   

अस्पताल क्षेत्रमा हामीले प्रवाह गर्ने सेवाहरुमा हामीले तीन चरणमा कार्य बनाएका छौं । नआउञ्जेल सावधानी अपनाउने, आएपछि त्यसको उपचारका लागि सम्पूर्ण शक्रि लगाउने, महामारी नै भयो भने उच्च जोखिमको अवस्थामा पुगियो भने, त्यत्तिखेर चैं सबै अस्पतालहरु खाली गरेर यसैका लागी डिक्लिएर गरेर जानुपर्ला । तर, तयारी गर्दैछौं भनेर अहिले नै अस्पतालका वेडहरुबाट विरामी उठाएर मिडियाहरु लग्दा प्रचारका लागि त राम्रै होला तर मानवीयताका हिसाबले चैं उपयुक्त नहोला ।   

सावधानी अपनाउने, आउन नदिने, आइहाले अस्पतालहरुमा आवश्यक वेडहरुको ब्यवस्था गरी विरामीहरुलाई उपचारको ब्यवस्था गराउने र त्यो भन्दापनि माथिल्लो स्तरको आयो भने राज्यले स्वास्थ्य क्षेत्रको इमरजेन्सी पनि लगाउन सक्छ । त्यस्तो अवस्थामा कुन अस्पतालमा के छ हैन भएका सबै अस्पतालहरुमा यहि रोगका लागि प्रयोग गर्नुपर्ने हुन्छ । अहिले नै हामीले त्यो तहसम्म सोचिसकेका छैनौं । अहिले नै स्वास्थ्य क्षेत्रमा इमरजेन्सी लगाइहाल्ने अवस्था छैन । हाम्रोमा त एकै जनापनि संक्रमित भेटिएको छैन । तथापि, हामीले तयारी गरेका छौं ।   

मिडियाले पनि कोरोना भाइरसका विषयमा सावधानी अपनाउने खालको जनतामा जागरण दिने, हामीलाई पनि सचेत बनाउन मिडियाले भूमिका खेलोस भन्ने चाहन्छौं ।   

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय संहालेको एक सय दिनमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण रोकथामका विषयमा बोलेको कुराको सम्पादित अंश 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *