एम्बुलेन्ससहित नाकामै निगरानी कक्ष स्थापना

चैत्र ५, धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै कैलालीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना गरिएको छ । कोरोनाबारे सतर्कता अपनाउन धनगढी उपमहागनरपालिकाले बुधबार नाकामै निगरानी कक्ष स्थापना गरेको हो ।
निगरानी कक्षमा अहिले तीन शैया राखिएको छ । स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले अहिले तत्कालको लागि तीन शैया राखेर निगरानी कक्ष स्थापना गरिएको बताए । उनले आवश्यकताअनुसार निगरानी कक्षमा शैयासहित औषधि र स्वास्थ्यकर्मी थप्ने बताए ।
‘हामीले अहिलेको अवस्थालाई हेरेर नाकामै निगरानी कक्षा स्थापना गरेका छौं,’ उनले भने, ‘यदि कोरोना भाइरस संक्रणले ठूलो रुप लिएर विरामी बढ्यो भने थप शैयासहित औषधि र स्वास्थ्यकर्मी खटाउँछौं ।’

निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने व्यवस्था मिलाइएको छ । चेकजाँच गर्ने उपकरण र उपलब्ध औषधिहरु पनि राखिएको छ । निगरानी कक्षसंगै एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । ‘सकेसम्म कोरोनाको संक्रमण नेपाल भित्रिन नदिनेतर्फ लागिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यदि भाइरस भित्रिहाल्यो र संक्रमण फैलियो भने हामीले पूर्वतयारी गर्नैपर्छ । त्यसको प्रयासस्वरुप हामीले नाकामै एम्बुलेन्ससहित निगरानी कक्ष राखेका हौं ।’
उनले नाकामा चेकजाँचको क्रममा आशंका लागेको व्यक्तिलाई निगरानी कक्षमा ल्याएर केही समय निगरानीमा राखिने र थप उपचारको लागि सम्बन्धित अस्पतालमा पठाइने बताए । बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान पनि निगरानी कक्षबाट सजिलो हुने उनको भनाई छ ।
बिरामीलाई आवश्यक पर्न सक्ने शाैचालय खानेपानीको ब्यवस्था पनि मिलाइएको छ । निगरानी कक्ष नेपाल भारत सिमाना त्रिनगरभन्सार कार्यालयको नवनिर्मित भवनमा राखिएको छ । त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गतेदेखि नै भन्सारनाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रिनेहरु व्यक्तिहरुको चेकजाँच गरिरहेको छ ।
ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गरिदैँ
कोरोना भाइरस सतर्कता अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकले धनगढी बजारका मुख्य चौकहरु र बसपार्कमा प्लाष्टिक पानीट्यांकीहरु राखेर हिडडुल गर्नेहरुका लागि साबुन पानीले हात धुने ब्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
यस्तै, कोरोनाबाट बच्न सकिने विषयमा प्रचार–प्रसार गर्ने, बजारमा हुन सक्ने कालाबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षा केन्द्र, बसपार्कलगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ ।








