कोरोनाको त्राससँगै अस्तव्यस्त गुद्रि बजार

चैत्र १०, विराटनगर । सधैँ अस्तव्यस्त देखिने गुद्रि बजार कोरोना भाइरस सङ्क्रमणको त्राससँगै बिसाएको आभास हुन्छ । ग्राहकहरू भिडभाड पातलो नै देखिन्थ्यो । सधैँ तराजु उचाल्न भ्याइ, नभ्याई हुने गुद्रिका तरकारी व्यापारीहरू ग्राहकको पर्खाई मा देखिन्थे ।
सधैँ मध्य दिनमा पनि सवारी साधनको भिडभाड, ग्राहकहरूको भिड भाडले पाइला चाल्न हम्मे हम्मे पर्ने गुद्रि बजार सोमबार मध्य दिउँसो पुग्दा रित्तिएको जस्तो अर्थात्, गुद्रि बजारमा बजार नै कोरोनाको त्राससँगै क्वारेन्टाइनमा बसेको अनुभूति हुन्थ्यो । विराटनगर ६ की २८ वर्षिया तरकारी व्यापारी आशा शाह ग्राहकको प्रतीक्षामा टोलाईरहेकी थिइन् । २५ वर्षदेखि तरकारी व्यपार गर्दै आईरहेकी बताउने शाहले पहिलेको तुलनामा अहिले व्यापारमा धेरै घाटा भएको बताउँछिन् । उनी भन्छिन् कोरोना भाइरसको त्रासले घरबाट मान्छे नै निस्कन छाडिसकेको छ, सामान पनि छैन व्यापार पनि भनेजस्तो छैन ।
उनको अनुसार होलसेलबाट प्रति मुठा १० रुपैयाँको दरले ल्याउने साग अहिले २० देख २५ रुपैयाँ सम्म पर्दछ भने उनले ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्ने गरेकी छिन् । सधैँ ३ हजार देखि ४ हजारसम्म बिक्री हुने उनको पसलमा अहिले कोरोना भाइरस सङ्क्रमणको चौतर्फी हल्लासँगै व्यापार ओरालो लागेको उनले बताइन् । ५ जनाको परिवार तरकारी व्यापारबाट नै चल्दै आइरहेको अब भात खान पनि धौ, धौ पर्ने अवस्था आइसकेको छ ।

त्यस्तै आशा शाहको छेवैमा बस्दै तरकारी बेच्दै आइरहेकी ४० वर्षिया इन्दु पासवान विराटनगर ६ मा बस्दै आइरहेकी छिन् । बिहान ७ बजेदेखि गुद्रि बजारमा उनको दैनिकी सुरु हुन्छ । डेढ दशकदेखि गुद्रि बजारमा तरकारी व्यापार गर्दै जीविकोपार्जन गर्दै आइरहेको बताउने पासवानको तरकारी व्यापारबाट नै ७ जनाको परिवार पालिँदै आइरहेको छ । उनी भन्छिन् ‘सधैँ ६ हजार ७ हजारको व्यापार हुन्थ्यो तर आजभोलि व्यापार घटेको छ, २ हजार पनि कमाई हुँदैन ।’
कोरोना भाइरस भनेको थाहा छ ? भन्ने प्रश्नमा उनले भनिन थाहा छ नि हजुर, घरमा बस्दा पेट भोकै हुन्छ ।
पातलिएको गुद्रि बजारमा सामान खरिद गन कै लागि विराटनगर जनपथ टोलबाट आएका रवि भट्टराई कोरोनाको त्राससँगै बजार आएको बताउँछन् । उनी भन्छन् के गर्नु रोग लाग्छ भन्दैमा खालि पेटले मान्दैन । कोरोनाको चौतर्फी हल्ला भएसँगै अहिलेको परिस्थितिमा तरकारीको भाउ आकासिएको उनले बताए । आइतबारसम्म प्रति किलो ३० रुपैयाँ रहेको आलुको दाम आज प्रति किलो ५० रुपैयाँ रहेको छ । भने प्रति किलो २० रुपैयाँ पर्ने गाँजर हाल प्रति किलो ५० रुपैयाँ रहेको छ । पहिलेको तुलनामा अहिले तरकारीको भाउ महँगिएको उनले सुनाए ।
त्यस्तै सब्जीमण्डि तथा गुद्रि बजार व्यवस्था समितिका केन्द्रीय उपाध्यक्ष पशुपति भागवतका अनुसार ९० प्रतिशत भारतबाट आलु, प्याज साथै हरियो साजसब्जि आउने गरेको छ भने १० प्रतिशत मात्रै नेपाली बजारबाट तरकारी आउने गरेको छ । १० प्रतिशतले विराटनगरका आम जनतालाई तरकारी नपुग्ने उनले बताए । दसैँ तिहारको समयमा भने ५० प्रतिशत धनकुटा, सिधुवा लगायतका स्थानबाट तरकारी आयात हुने गरेको भागवतले बताए ।
‘गोदाममा अझै विराटनगरबासीका लागि ३ देखि ४ दिनसम्मका लागि तरकारी पुग्ने गरी स्टक रहेको छ’ उनले भने,‘त्यस समय पश्चात् तरकारीको सटेज हुनसक्छ ।’
‘प्रदेश सरकारलाई यो समय दबाब दिन पनि कठिन छ त्यही भएर सरकारको निर्णय प्रति हामी सकारात्मक नै छौ, हामी रहे त हाम्रो व्यापार सधैँ रहिरहन्छ’ उनको भनाइ छ ।








