सरकारी पेन्सन त्यागेर राजनीतिक अभियानमा लाग्न खरेललाई कँडेलको सुझाव

चैत्र १, काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पूर्व डिआईजी रमेश खरेललाई सरकारी पेन्सन त्यागेर राजनीतिक अभियानमा लाग्न सुझाव दिएका छन् । हालैमात्रै ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गरेका खेरेललाई ईन्जिनियर दिपेन्द्र कँडेलले राजनीतिक अभियानमा लाग्न सुझाव दिएका हुन् ।
उक्त अभियानको मुख्य नारा ‘सुशासनका लागि भ्रष्टाचारको अन्त्य गरौं’ भन्ने छ । कँडेलले कुनैपनि नेपाली नागरिकले नेपालको समृद्धि र सुशासनको बारेमा सोच्नु अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै खरेलले पनि अभियान सञ्चालन गर्नु राम्रो पक्ष भएको तर्क गरे ।
यद्यपी उनले खरेलले सरकारी पेन्सन खाएर सरकारकै विरोध गर्नु अवैज्ञानिक तथा गैरराजनैतिक कदम हुने टिप्पणी गरे । उनले खरेलमात्रै नभएर सरकारी पेन्सनधारीहरुले राजनीतिक अभियान र त्योसँग सम्बन्धित अभिव्यक्ति दिने हो भने पेन्सनको सुविधा त्याग्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘अहिले मैले रमेश खरेलजीलाई यो प्रश्न तेर्साए, यस्तै प्रश्न नैतिकताका आधारमा अरुलाई पनि लागू हुन्छ ।’

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै कँडेलले खरेलले अभियानको अलावा नयाँ पार्टी जन्माउन खोजेको हो भने पनि त्योपनि नेपालको लागि प्रत्युपादक हुने भविष्यवाणी गरे । उनले भने,‘म त सन् २०१६ देखि नै नेपालमा पूरानै दल र ती दलका स्थापित नेताहरुबाट नै यो देशको विकास र समृद्धि हाँसिल गर्न सकिन्छ भनेर बोल्ने व्यक्ति हुँ, आज पनि मेरो त्यहीँ अडान कायमै छ ।’
कँडेलले आफूले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापित् भएको नयाँ शक्ति पार्टी, रविन्द्र मिश्रको नेतृत्वमा खोलिएको साझा पार्टी लगायतका नयाँ पार्टीको बारेमा पनि यस्तै खाले टिप्पणी गरेको स्मरण गराए । उनले भने,‘नेपालमा नयाँ शक्तिलगायतका साना दलहरु नेपाल र नेपालीको भविष्य कोर्न नसक्ने दल हुन्, र तिनीहरुलाई निस्तेज गरेर छाड्नेबारे मैले तत्कालिन समयदेखि नै उद्घोष गर्दै आएको छु, आज उहाँहरुको स्थान् कहाँ छ भन्ने कुरामा यहाँहरु सबै जानकार हुनुहुन्छ ।’
यदि रमेश खरेलले सक्रिय राजनीति गर्न चाहेको हो भने पूरानै स्थापित् राजनीतिक दल मध्ये एकमा गएर आफ्नो राजनीतिक भविष्य खोज्नुपर्ने कँडेलको सुझाव छ ।
उनले भने,‘उहाँले यो बाटो समात्दा नै उहाँको हित हुन्छ । यही नै उहाँको लागि सबैभन्दा छिटो बाटो हुनेछ । बरु, उहाँले ती पार्टीभित्र प्रवेश गरेर त्यहाँ रहेका विकृति, विसंगतिको बारेमा उजागर गर्नुपर्यो ।’
उनले रमेश खरेललगायत अरु अभियन्ताहरु पनि पूरानै दलमा प्रवेश गरेर देश निर्माणको अभियानमा अघि बढ्नु नै देश र जनताको हितमा हुने ठोकुवा गरे ।








