युरोप, कोरिया, जापानसहित खाडीमा रहेका नेपाली पनि स्वदेश फर्कन नपाउने

चैत ७, काठमाडौं । सरकारले आज राति १२ बजेबाट ६८ देशबाट नेपाल आउने सबै यात्रुहरुलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न युरोप, खाडी तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोक लगाएको हो ।   

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार गरेको निर्णय आज रातिबाट कार्यान्वयन गर्न लागिएको हो ।  

बैठकले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै राष्ट्रहरु एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान गरी आउने सबै यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अब यी देशबाट नेपालमा कुनै पनि उडान हुने छैनन् भने ती देशमा रहेका नेपालीहरु पनि स्वदेश फर्कन नपाउने भएका हुन् । ती देशहरुमा २० लाखभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।  

पर्यटन मन्त्री योगेश भट्टराईले सरकारले यी देशबाट उडान नै नभएपछि त्यहाँ रहेका नेपाली नागरिक पनि फर्कन नपाउने बताए । उनका अनुसार ती देशमा रहेका नेपालीहरु अन्य ट्रान्जिट बनाएर समेत नेपाल आउन पाउने छैनन् । प्रतिबन्ध राति १२ बजेटबाट सुरु भई चैत ३० गतेसम्म कायम रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =