राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देश के होला ? : उपप्रधानमन्त्री

फागुन १८, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको आरोप लगाएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देश के होला भनी प्रश्न गरे ।   

उनले भने, “राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्, यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।”सञ्चार क्षेत्रले यस्तोखाले परिवेश बुझ्न जरुरी रहेको बताउँदै उनले लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रियामा रही देश र जनताको हितका लागि प्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सुझाव दिए ।   

उनले विभिन्न पेशामा संलग्न भए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय कार्यक्रममा एकाकार हुन सबैमा आह्वान गरे । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको उनले उल्लेख गरे । “आफू जहाँ गए पनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पु¥याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसले निरन्तरता पाउनुपर्छ”, उनले भने । 

समारोहमा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा बस्दै आउकी गीतकार अम्बिका गुरुङले उपलब्ध गराएकी हुन् । 

पत्रकारद्वय मेनका ढुङ्गाना (अछाम) र प्रकाशसिंह (बाजुरां)लाई जनही ५०० डलर राशिको  इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा रहेकी सुनिता खत्रीले सौजन्यस्वरुप उपलब्ध गराएकी हुन् । ढुङ्गानालाई छाउपडी र सिंहलाई कुपोषणसम्बन्धी खोजमूलक समाचारका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । 

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षसँग आवश्यक छलफल नै नगरी अघि बढाइएको भनी गुनासो गरेका थिए । नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्र व्यावसायिक रुपमा अघि बढिरहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =