‘कांग्रेसलाई समाप्त पार्न कम्युनिस्टहरु लागि परेका छन्’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिं लामाले मुलुकको विकासका लागि नेकपा नेतृत्वको सरकारले दुई वर्षका सपना बाड्नु वाहेक केही गर्न नसकेको बताएका छन् । मकालु खबरसँगको विशेष साक्षात्कारमा बोल्दै सांसद लामाले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको पनि दावि गरे । बर्तमान सरकारले संस्थागत र नीतिगत भ्रष्टाचार गरेर मुलुकको अर्थतन्त्र धरासायी बनाउँदै लगेको जिकिर गर्दै अबको तीन वर्षमा यहि अवस्था रहिरहे मुलुक टाट पल्टने ठोकूवा गरे ।   

नेता लामाले कांग्रेस भित्रको किचलोले पनि संसदमा पार्टीको भूमिका कमजोर भएको स्विकार गर्दै पार्टी सभापतिलाई असफल बनाउनेहरु पनि सक्रिय रहेको औल्याए । प्रस्तुत छ, सांसद लामासँग गरिएको कुराकानीको संक्षेपः 

दुई तिहाईको सरकार भएपछि कांग्रेस त संसद र सडकमा हरायो नी ?   

नेपाली कांग्रेस कहिँ हराएको र कांग्रेसको भूमिका कमजोर भएको छैन । नेपालको राजनीतिमा ढुंगामुढा गर्ने, रेलिङ भाँच्ने, तोडफोड गर्ने, बन्द हड्ताल गर्दा मात्र पार्टीको भूमिका देखिने रहेछ । वास्तवमा प्रजातन्त्रमा सांकेतिक भाषामै विरोध जनाउनु उपयुक्त हुन्छ । कांग्रेस कुनैपनि विषयमा विरोधै गर्न टायरै जलाउनु पर्ने, ढुंगामुढा नै गर्नुपर्ने, बन्द हड्ताल नै गर्नुपर्ने कुरामा विस्वास गर्दैन । बैचारिक रुपमा आफ्ना कुरा उठान गर्नुपर्छ भन्नेमा विस्वास गर्छौं ।   

तर, कांग्रेसले दुई तिहाईको सरकारले ल्याएका कतिपय विधेयक र राष्ट्रिय महत्वका विषयमा बोल्नै सकिरहेको छैन नी ?   

राष्ट्र, राष्ट्रियता, जनजिविका, मानवअधिकार, शुशासन र अभिब्यक्ति स्वतन्त्रताका पक्षमा कांग्रेसले जुनसुकै सरकार आएपनि बोलिरहेको छ । दुई तिहाईको सरकार गठन भयो भनेर मौन बसेको पक्कै छैन । बर्तमान सरकारले राष्ट्रियता, जनजिविका, मानवअधिकार, वाक स्वतन्त्रता र शुशासनका विरुद्ध ल्याएका जुनसुकै विषयमा कांग्रेसले सदनमा कुरा उठाइरहेको छ । र, कांग्रेसले अधिनायकवाद तर्फ उन्मुख सरकारलाई खबरदारी गरेकै कारण तपाई हामी बोल्न सकिरहेका छौं ।   

मैले त संसदमा प्रतिवेदन नै बुझाएको छु कि सरकारले विधेयकहरु ल्याएर जनतालाई कुण्ठित गराउने काम गर्दैछ । भ्रष्टाचारलाई संरक्षण गर्दैछ ।   

यो सरकारले आफुलाई बाहिरबाट टेक्नोलोजी फ्रेण्डली देखाएपनि टेक्नोलोजीमा नितीगत भ्रष्टाचार गर्न उद्यत छ । चाहे त्यो फोरजी होस, चाहे वाइडबडी वा सेक्युरिटी प्रिन्टिङ प्रेस । यी विषयमा कुनै निश्चित मुल्य नहुने हुँदा सरकार प्राइसलेस विषयमा डरलाग्दो भ्रष्टाचार गर्न लागि परेको छ । जसको विरोधमा हामीले सदन देखि सडकसम्म विरोध गरिरहेका छौं । हामी सरकारका अधिनायकवाद र भ्रष्टाचारका सन्दर्भमा सधैं खबरदारी गरिरहेका छौं ।   

सेक्युरिटी प्रेस खरिदमा तत्कालिन सञ्चारमन्त्रीको संलग्नता छैन भनेर प्रधानमन्त्री स्वयंले भनिसक्दा किन विस्वास नगर्ने ?   

सञ्चारमन्त्रीलाई जोगाउन प्रधानमन्त्री लाग्नु भएको त उहाँकै अभिब्यक्तिले प्रष्ट भइहाल्यो नी । २७ अरब हुँदा ७० करोड दिने भनेर अडियोले प्रष्ट बोलिरहँदा प्रधानमन्त्रीले कुन नैतिकताले सञ्चारमन्त्रीका पक्षमा बोल्दैहुनुहुन्छ ? प्रधानमन्त्री आफु भ्रष्टाचारीको मुखपनि हेर्दिन भन्नुहुन्छ तर, आफ्नै घरमा भ्रष्टाचार गर्नेलाई संरक्षण गर्दै हुनुहुन्छ । मन्त्री जस्तो पदमा बसेर वार्गेनिङमा लागेको प्रष्ट भइरहँदा उनलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिने हैन कि, कारवाही नै हुनुपर्दथ्यो । विडम्बना योछकि बहुमतको सरकारका प्रधानमन्त्री आफैं उहाँलाई जोगाइरहनु भएको छ । प्रधानमन्त्रीका भनाई र गराईमा आकाश जमिनको फरक आइरहेकोले उहाँलाई विस्वास गर्न सकिँदैन । प्रधानमन्त्रीको अभिब्यक्तिले सेक्युरिटी प्रेसमा उहाँको संलग्नता छ भन्ने आशंका उब्जिएको छ । 

नेकपालाई मात्र दोष दिएर कांग्रेसले उन्मुक्ति पाउँछ, शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा पनि विवादास्पद निर्णय भएका छन् नी ?   

कांग्रेसका केहीले ब्यक्तिगत रुपमा भ्रष्टाचार गरे होलान् र कारवाहीमा पनि परेका छन् नी । तर, नेपालको इतिहासमा तपाईले कुनैपनि कम्युनिस्ट मन्त्रीहरुलाई कानुनी दायरामा ल्याएको देख्नु भएको छ ? कम्युनिस्टले भ्रष्टाचारै गरेको छैन र ? यति समुहलाई कौडीको भाउमा सरकारी सम्पत्ति दिँदा भ्रष्टाचार भएन ? ललिता निवास जग्गा प्रकरणमा पार्टीका मान्छेलाई कसरी जोगाईयो ? सेक्युरिटी प्रेस प्रकरण, पदाधिकारी नियुक्तिमा खुलेआम नीतिगत भ्रष्टाचार भइरहेको छ । संस्थागत भ्रष्टाचार सबैभन्दा खतरनाक कुरा हो । अहिलेपनि मन्त्रिपरिषद् मार्फत ठूल्ठूला भ्रष्टाचार भइरहेका छन् जसको विरुद्ध कतै उजुरी गर्न सकिँदैन । जहाँसम्म सभापति देउवाको कुरामा उहाँले आफु संलग्न भएको प्रमाणित भए कारवाही भोग्न तयार छु भनेर भनिसक्नु भएको छ ।   

कम्युनिस्ट सरकारलाई भ्रष्टाचार गर्न कांग्रेसले नै प्रोत्साहन गरेको भन्छन् नी ?   

सरकारलाई ‘भ्रष्टाचार गर’ भनेर कांग्रेसले कसरी भन्छ ? कांग्रेसका केही ब्यक्तिहरु ब्यक्तिगत रुपमा भ्रष्टाचारमा मुछिए, जेलनेल भोगे त्यो अलग कुरा हो । त्यस्ता ब्यक्तिलाई कांग्रेसले जोगाउने काम पनि गरेको छैन । तर, यहाँ त पार्टीका कुनै जिम्मेवार मन्त्रीले नै खुलेआम वार्गेनिङ गरेको सार्वजनिक हुँदा प्रधानमन्त्री अगाडी सरेर बचाउनु हुन्छ । मन्त्रिपरिषद्बाट नितीगत भ्रष्टाचार गर्नुहुन्छ । सरकारले गरेका नीतिगत भ्रष्टाचारका विरुद्ध कांग्रेसले विरोध गर्दा कांग्रेसलाई समाप्त पार्न कम्युनिस्टहरु लागि परेका छन् ।   

सरकारले गरेका नीतिगत भ्रष्टाचारमा कांग्रेसले खुलेर विरोध गर्न नसक्नुको कारण के हो ? 

हामीले सदनमा मात्र हैन सडकमा पनि सरकारले दुई तिहाईको आडमा संस्थागत र नीतिगत भ्रष्टाचार गर्दैछ, जनताको अभिब्यक्ति स्वतन्त्रता हनन गर्दैछ । राज्यका संबैधानिक अंगहरुलाई कमजोर बनाउँदैछ भनेर पटकपटक भनिरहेका छौं । सरकारले मिडियालाई कमजोर बनाउन कठोर विधेयक दर्ता गरायो, त्यसको विरुद्ध कांग्रेसले सदनमा आवाज नउठाएको भए अस्तिको अडियो सार्वजनिक हुन्थ्यो ? तपाई खुलेर सरकारको विरोध गर्न सक्नुहुन्थ्यो ? पक्कै सक्नुहुन्नथ्यो ।   

नागरिक अधिकारप्रति जिम्मेवार प्रतिपक्ष भएको हिसाबले कांग्रेसले निरंकुश कम्युनिस्ट अधिनायकवादका विरुद्ध शशक्त आवाज उठाइरहेको छ । र, कांग्रेस भएर मात्रै यो सरकारले जनताको सर्वभौम सत्ता खोस्न सकिरहेको छैन ।  

कम्युनिस्टहरुको विरोध गर्दा एक दशक यता कांग्रेस पनि त जनताका नजरमा गिर्दै गइरहेको छ नी, पटकपटक विवादमा परेको छ ?   

कांग्रेसको सिद्धान्त र उद्देश्य फरक छ । ‘कांग्रेसले मुखमा रामराम बगलीमा छुरा’ गरेर ढाँटेर राजनीति गर्न सक्दैन । हो, पार्टीलाई जनताले जनमत दिएनन् । त्यसको कारण कांग्रेस कमजोर भएर हैन कि, एक दशक यता स्थायी सरकार नहुँदा जनतामा निराशा थियो । एमाले माओवादी मिलेर दुई तिहाईको बहुमतको स्थायी सरकारको लोभ देखाए । र, जनताले पनि एकपटकलाई विस्वास गरौं नत भनेर सत्तामा पुर्याएका हुन् । तर, कम्युनिस्टहरुले जनतालाई धोका मात्र हैन दुई तिहाईको नाममा अधिनायकवाद लाद्ने काम गर्दैछन् । राज्यको ढुकुटी रित्तो बनाउने काम गर्दैछ । पहिला कांग्रेसको पालामा विदेशी लगानीकर्ता खुलेर लगानी गर्न आउँथे । तर, अहिले आउन सकिरहेका छैनन् ।   

अमेरिकी मिलेनियम च्यालेज (एमसीसी) परियोजनामा कांग्रेस भित्रपनि दुई धार देखिनुको कारण के हो ?   

यो विषयमा कांग्रेस भित्र खासै अन्तरद्वन्द्व छैन । सभापति देउवाकै प्रधानमन्त्री कालमा एमसीसी परियोजना आएको हो । कांग्रेसले देश विकास र मुलुकको उर्जा शक्तिलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने हो भने यो परियोजना स्विकार्नु पर्छ भनेको छ । सत्तारुढ कम्युनिस्ट पार्टीहरु भित्रको मतभेदले परियोजना विवादमा आएको हो ।   

एमसीसी परियोजना जस्ताको तस्तै पारित गर्दा भोली मुलुकलाई दुरगामी असर गर्दैन ?   

कसैले कुनै सहयोग, अनुदान दिन्छ भने केही न केही स्वार्थ र शर्त त राखेकै हुन्छ । एमसीसी परियोजनामा पनि उनीहरुले स्थायीत्वका लागि शर्तहरु राखेका हुन् । शर्त राख्दैमा त्यसमा विचलित हुने, अहिले नै आर्मी आइहाल्छ कि, नेपालको सार्वभौम सत्ता नै समाप्त हुने होकी भनेर आत्तिनु पर्ने अवस्था छैन । अमेरिकाले भ्रष्टाचार नहुने, जनताले चुनिएको प्रतिनिधि भएको, पूर्णप्रजातन्त्र भएको देशलाई अनुदान दिने गरेको छ । यो परियोजना आउँदै गर्दा कांग्रेसको सरकार थियो, मुलुकले नयाँ बाटो अवलम्बन गर्दैथ्यो । भारतसँग नेपालको उर्जालाई अन्तराष्ट्रिय तहमा पुर्याउने छलफल भइरहँदा अमेरिकाले नै नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने तर, त्यसका लागि आम्दानीको स्रोत सुनिश्चित गर्ने भनेर रणनीति बनाएको हो ।   

नेपालको उर्जालाई अन्तराष्ट्रिय बजारमा नपुर्याईकन मुलुकको विकास संभव छैन, त्यसकालागि ठूला प्रशारणलाईन र पूर्वाधार बनाउनुपर्छ । भारतीय क्षेत्रमा उर्जा प्रशारण लाइन बनाउन भारतको स्विकृति चाहिने भएकोले एमसीसी अनुमोदनमा भारतकोपनि समर्थन चाहिन्छ भनिएको हो । तर, हाम्रो अस्तित्व नै समाप्त हुन्छ भनेर नचाहिँदो हल्ला फिँजाउने काम गरियो ।   

भारतसँग गरेका कतिपय सन्धि सम्झौताले मुलुकलाई प्रतिकूल असर गरेकाले पनि एमसीसीमा भारतलाई समेत जोड्दा अर्को समस्या आउँछ कि ?   

भारतसँग भएका कतिपय सन्धि सम्झौताहरु विवादित हुनुको एउटा कारण हामी आफैं हौं । हामी स–सानो विषयमा विवाद गरिरहन्छौं । यति सस्तोमा किन दिने, यो किन दिने ? उ किन दिने ? राष्ट्रको हित विपरित छ, भारतको अनुकूल छ । यस्ता अनेक अर्थ लगाएर विवाद निकालेपछि कहाँ विकास हुन्छ ?   

देश बनाउनुपनि छ, ऋण लिनुपनि छ तरपनि, हामी अनेक वहानामा लडिरहेका छौं । जसले गर्दा पटक–पटक यस्ता ठूला आयोजनाहरु विवादित भइरहेका छन् ।   

कसैको गुलामी बन्नु र दास हुनुमा फरक हुन्छ । गुलामीले मालिकले सेतोलाई कालो भन्दा कालै भन्छ दासले चैं गुलामको भन्दा अलिक अगाडी बढेर कालो हैन यो सेतो हो भनेर भन्न सक्छ । हामी गुलामी बन्न हुँदैन, दास त हामी हो । ७५ प्रतिशत भारत प्रति निर्भर छौं । हामी भारतप्रति दास हुन बाध्य छौं । दुई ठूला देशको विचमा रहेर दुवैलाई मिलाएर लैजान सक्नुपर्छ । सरकार फेरिने वित्तिकै कुटनीति फेरिने हुँदैन । अहिले त्यही भइरहेको छ ।   

अहिले प्रधानमन्त्रीले राज्यका शक्तिहरु आफ्ना मातहतमा ल्याएका छन्, कांग्रेसले कसरी हेरिरहेको छ ?   

कांग्रेसले यो विषयमा प्रधानमन्त्री शक्तिशाली हुँदैछन्, राज्यका महत्वपूर्ण निकाय आफुमा निहीत गरेर अधिनायक बन्दैछन् भनेर पटकपटक भन्दा कसैले पत्याएनन् । मिडियाले पनि पत्याएनन् । ब्यापारीले पनि पत्याएनन् । हामीले जनताको अभिमतलाई स्विकार गरेर प्रधानमन्त्रीका गलत निर्णयका विरुद्ध खबरदारी गर्दापनि पत्याएनन् ।   

एउटा ब्यक्ति शक्तिशाली हुँदा त्यसले अधिनायकवाद त ल्याउँछ र जनताका अधिकार पनि कूण्ठित गर्छ । प्रधानमन्त्रीलाई मात्रै सर्वशक्तिमान बनाउँदैमा मुलुकको विकास हुँदैन ।   

मुलुकको विकास गर्न कस्तो रणनीति आवश्यक छ ?   

मुख्य कुरा हामीले देशलाई कुन हिसाबले विकास गर्न खोजिरहेका छौं त्यो क्लिएर हुनुपर्छ । हाम्रो भौगोलिक अवस्था, आर्थिक, सामाजिक, सांस्कृतिक परिवेश अनुसार मुलुकलाई कुन मोडलमा लैजाने हो त्यसैगरी रणनीति बनाउनुपर्छ । विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गर्दै विकासका पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक छ । विडम्बना, हामीले विज्ञान र प्रविधिलाई तिरस्कार गरिरहेको छौं । सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना गरेको छ, तर त्यहाँ दिने बजेट सबैभन्दा कम छ । मन्त्री समेत जान मान्दैनन् । सरकारलाई ‘आइदेउ मन्त्री खाइदेउ’ भन्ने अवस्था छ । जापान, अमेरिका, चाइना जस्ता शक्तिशाली देशहरुको विकास त्यहि विज्ञान र प्रविधिको भरमा भयो हाम्रो चैं हेयका दृष्टिकोणले हेरिन्छ । भन्नुको तात्पर्य, अब मुलुकको विकास गर्ने हो भने हामीले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनुपर्छ । विदेशबाट बैज्ञानिक, डाक्टर, इन्जिनियर ल्याएर देश बन्दैन आफ्नै देशमा त्यस्ता जनशक्ति उत्पादन गर्ने हैसियत बनाउनु पर्छ ।   

तपाईसँगको अहिलेसम्मको कुराकानीको सार ओली सरकार दुई वर्षमा असफल भयो ?   

असफल मात्र हैन ओली सरकार पूर्ण असफल भएको छ । यस्तो काण्डैकाण्ड भएको पूर्ण बहुमतको सरकार इतिहासमै छैन । स्थायी सरकार त जनताले चाहेर नै बनाएका हुन् नी तर, खै जनताका चाहना अनुसार काम गर्न सकेको ?   

जनताले दिएको अभिमतको केपी ओली सरकारले मिसयूज गरेको छ । भ्रष्टाचार गर्दिन भनेको छ, आफ्नै घरमा  भ्रष्टाचारीलाई संरक्षण गरेको छ । शुशासन कायम गर्छु भन्छ एउटा बालिका बलात्कार हत्याकाण्डका अभियुक्त पक्राउ गर्न सक्दैन । सभामुख जस्ता ब्यक्तिहरु आफैं बलात्कार केसमा पर्छन् । भ्रष्टाचारमा ठूला माछा समात्छौं भनेको छ, टनकाटन सुन गायव भएको आफ्नै नेताहरुले भनिरहेका छन् । हिजो मदन भण्डारी मारिए ‘हत्या भयो सरकारमा गएर छानविन गर्छौं’ भन्थे तर त्यसपछि पटकपटक सरकारमा गएका कम्युनिस्टहरुले छानविन गर्न सकेनन् । सरकारी ढुकुटीको चरम दुरुपयोग भएको छ । सरकारी सम्पत्ति कौडीको भाउमा सकिएको छ । उद्योग कलकारखाना दिनप्रतिदिन बन्द भइरहेका छन् । यो भन्दा असफल के हुन सक्छ ?   

संसदमा कांग्रेस कमजोर हुनुको कारण आन्तरिक द्वन्द्वले हो ? तपाईहरु आफुआफु लडिरहनु भएको छ ?   

पार्टीभित्र झमेला भयो भने त्यसले केही प्रभाव त पर्छ नै तथापि, संसदमा हामी कमजोर छैनौं । राष्ट्रियता, शुशासन, जनजिविकाका कुरा उठाउन कांग्रेसले कुनै कसर बाँकी राखेको छैन । पार्टीभित्र आफु अनुकुल विधान बनाउन लागे । विधान बहुमतले पारित पनि गर्न नदिने, निर्णय पनि गर्न नदिने अवस्था छ । प्रजातन्त्रमा बहुमतको निर्णय गरेर अल्पमतको कदर गर्नुपर्दथ्यो तर, त्यसो हुन सकेन । यसले पार्टीलाई अगाडी बढाउन दिँदैन ।   

पार्टी सभापतिले गलत गरेको होभने तपाईहरु उहाँका विरुद्ध एक भएर किन जानुहुन्न ?   

पार्टीभित्र महाधिवेशनको बेला गुट उपगुट हुन स्वभाविक हो । तर, महाधिवेशन सकिएपछि त जो नेतृत्वमा जान्छ उसलाई त सहयोग गर्नुपर्छ नी । यहाँ त सहयोग गर्ने हैन कि, बहुमतको निर्णयपनि नमान्ने अनी गुटउपगुट चलाउने काम भयो । यसले पार्टीलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसभित्र आइडोलोजी देखाउने हैन कि कसरी हुन्छ विरोध मात्र गर्ने परिपाटी विकास भयो । विधि विधान पनि खोज्ने, भागवण्डा पनि खोज्ने ? यस्तोपनि हुन्छ ?   

अब कांग्रेसलाई अगाडी बढाउन के गर्नुपर्ला ?   

महाधिवेशन आउँदैछ । महाधिवेशनमा सबै विषयहरुमा घनिभूत छलफल हुन्छ । मतभेदहरु महाधिवेशनमा टुंग्याइन्छ । सबैभन्दा ठूलो कुरा पार्टीभित्र गुटको राजनीति अन्त्य गरिनुपर्छ ।   

१४ औं महाधिवेशन भनेकै समयमा होला ?   

पार्टी नेतृत्वले चाह्यो भने भनेकै समयमा हुन्छ नत्र हुँदैन । पार्टीलाई बलियो बनाएर लैजाने हो भने १४ औं महाधिवेशन भनेको समयमा हुनुपर्छ ।   

नेतृत्व परिवर्तनको संभावना कस्तो छ ?   

कांग्रेसमा अहिले नै पार्टी चलाउने, सभापति हुने मान्छे देखिएको छैन । पार्टी चलाउन त्यत्ति सजिलो कहाँ छ ? पुरानो जेनेरशनमा देउवा भन्दा सक्षम नेतृत्व देख्दिन । नयाँ जेनेरेशनबाट आउन सक्नुपर्छ । सभापतिमा उठ्छु भन्नु र उठेर देखाउनु फरक कुरा हो । सदस्यबाट सभापति भएर गएको पनि देखिएको छैन । तथापि, सभापति हुन सबैलाई विस्वास दिलाएर जानसक्ने मान्छे हुनुपर्छ ।   

कांग्रेसको नेतृत्व कोइराला भन्दा बाहिर गएर पार्टीमा समस्या आयो पनि भन्छन् नी ? 

त्यसमा कुनै सत्यता छैन । कोइराला खानदान भन्दा बाहिरको मान्छे आउन नहुने भन्ने कांग्रेसको विधानमा छैन । र, कांग्रेस कोइरालाहरुको पेवा पनि होइन । पहिला गिरिजाबाबुले कांग्रेस हाँक्दा कोइरालाहरुले गर्दा पार्टी विग्रियो भन्नेपनि थिए । त्यसकारण यो कूतर्कको अर्थ छैन । मुख्य कुरा जो आएपनि राम्रो र सबैलाई मिलाएर लैजान सक्ने क्षमताको आउनुपर्छ । वीपी कोइरालाको आदर्शलाई अवलम्बन गर्न सक्ने जुनसुकै आउन सक्छ । कोइराला भन्दैमा सबैजना वीपी जस्तै छन् भन्न मिल्दैन ।   

अन्तमा, अब मुलुक कता जान्छ ? कांग्रेसको भूमिका कस्तो रहन्छ ?   

अहिले मुलुक जर्जर अवस्थामा छ । जुनबाटोमा हिड्नु पर्दथ्यो गइरहेको छैन । देशको आर्थिक स्थिति डामाडोल छ । पूर्वाधार निर्माणमा सुस्तता छ । हामी भित्रपनि काम नगर्ने सामन्ती प्रवृत्ति हावी भइरहेको छ । कामै नगरी खाने सोच हावी भएपछि मुलुकको उत्पादनमा ह्रास आउँछ । यसले हामीलाई हरेक कुरामा परनिर्भरता तर्फ उन्मुख गराईरहेको छ । नेकपाको बहुमतको सरकारको दुई वर्ष त असफल भइसक्यो, अब तीन वर्षपनि यस्तै अवस्थामा रह्यो भने देश टाट पल्टने अवस्थामा जाँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *