दुलही तयार थिइन् तर जन्ती आएनन्

फागुन २८, जनकपुरधाम । विवाहको रौनक र उत्साहले धनुषाको नगराइन नगरपालिका-२ जटहीस्थित मुसहरी टोलमा आइतबारको साँझ उल्लासमय थियो । स्थानीय बेचनीदेवी सदाकी छोरी पूजाको विवाहको भव्य तयारी थियो ।  

छिमेकी मुलुक भारतबाट करिब ६० हजार खर्चेर ल्याइएको पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए । स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए । परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएर जन्ती कुरिरहेका थिए । घरमा कोही गीत गाउँदै थिए भने कोही नाच्दै थिए । सजिएकी बेहुली पूजा पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन् । जन्तीलाई नास्ता खुवाउन मिठाईसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार पाक्दै थिए । तर यो खुसी टिक्न पाएन । 

घर परिवार तथा टोलवासीले राति २ बजेसम्म कुरेर बसे तर जन्ती आएनन्, कारण थियो बिहेअघि नै दाइजोमा मोटरसाइकल नदिनु । आइतबार राति करिब १० बजेदेखि नै घरपरिवारले बेहुला र उनका बुवालाई फोन गर्न थाले, २ बजेसम्म पनि कसैको फोन उठेन । अनि आफन्त तथा परिवारको खुसी रुवावासीमा परिणत भयो । बेचनी बेहोस हुन थालिन्, घरिघरि दाँती लाग्न थाल्यो । 

‘दुई बजेपछि एक पटक फोन उठाएर केटाका बाबुले बिहेअघि मोटरसाइकल नदिएको भन्दै यो विवाह हुन्न भनेर जवाफ फर्काए,’ पूजाकी आमा बेचनीले भनिन्, ‘हामीले जन्तीको स्वागतमा कुनै त्रुटि हुन दिन्नौं भन्यौं । जसरी पनि भोलि गाडी दिइहाल्छौं । जन्ती लिएर आउनुस् भन्यौं, बिलौना गर्‍यौं तर मानेनन् । फोन काट्दििए अनि उठाउनै छाडे ।’ 

करिब २० दिनअघि पूजाको विवाह धनुषाधाम नगरपालिकास्थित भुतही पटेर्वा बस्ने रोहित सदाका छोरा सुशीलसँग तय भएको थियो । विवाहमा जन्तीलाई भव्य स्वागत गर्ने, २ तोला सुन, फर्निचर र प्लाटिना मोटरसाइकल दाइजो दिने सहमति भएको थियो । त्यसैअनुरुप धुमधामका साथ सामाजिक परम्पराअनुसार फलदान (इन्गेजमेन्ट) पनि भयो । फलदानमै करिब ५० हजार रुपैयाँ खर्च भएको बेचनीले बताइन् । 

ज्याला मजदुरी गर्ने पूजाका बुवा सुकदेव सदाले गाउँका विभिन्न व्यक्तिसँग महिनाबारी पाँच प्रतिशत ब्याज दिनेगरी ५ लाख रुपैयाँ कर्जा लिएका थिए । ‘हामी गरिबलाई हतपत कसैले कर्जा दिनै मान्दैनन्, बेंगलोरमा होटेलमा छोरा काम गर्दैछ, उसैले कमाएर तिर्ला भनेर जसोतसो ऋण गरेका थियौं,’ ९ सन्तानकी आमा बेचनीले भनिन्, नागरिकमा समाचार छ ।   

बिहेका दिनसम्म भएको पैसा खर्च भइसकेपछि दुई चार दिनपछि मोटरसाइकल किनेर दिने योजना बनाएको उनले सुनाइन् । जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे । घरमा न बेहुला भेटिए न उनका बुवा । दुवै जना लुकेर बसेका थिए । 

‘वडाध्यक्ष, वडासदस्य सबैलाई रातिमै फोन गरें । त्यहाँका स्थानीय पनि जम्मा भए र बेहुलाको बुवालाई सोधखोज गर्दै जाँदा १ घण्टापछि आए,’ बेहुलाको घर पुगेका जटहीका स्थानीय राकेश चौधरीले घटना सुनाउँदै थपे, ‘सुकदेव नागरिकता र १ लाख रुपैयाँ लिएरै पुग्नुभएको थियो । तत्कालै पैसा दिएर सहमति गरेर केटाको बाबुलाई जन्ती ल्याउन आग्रह गर्‍यौं ।’ तत्कालै जन्ती ल्याउने सहमति नभए पनि वडाध्यक्ष र स्थानीयको रोहबरमा घर परिवारसँग छलफल गरी अर्कै मितिमा विवाह गर्ने सम्झौता भयो । 

पूजाकी आमा बेचनी मंगलबार बिहेभोजका लागि ल्याएको काउली काटेर सुकाउने तयारीमा थिइन् । जन्तीका लागि पकाएको भात सुक्दै थियो । घर सुनसान देखिन्थ्यो । सबै निराश देखिन्थे । घटनाबारे सोध्नसाथ बेचनीको आँखाबाट आँशु छचल्किन थाल्यो ।  

‘म गरिब बर्बाद भएँ । हामीलाई बदनाम गर्न उनीहरु (बेहुला पक्ष) ले कुनै कसर छोडेनन्,’ उनले भनिन्, ‘५ लाखको क्षति भयो । भोजभात, मिठाई सारा चीज बर्बाद भयो ।’ अर्को मितिमा विवाह गर्न दुवै पक्षबीच मौखिक सहमति भए पनि बेहुलापक्षको दाइजो मोह र क्रुर व्यहवारले उनी छोरीको विवाह नगर्ने पक्षमा छिन् । 

मोटरसाइकलकै कारण विवाह रोकिएपछि त्यस घरमा छोरी सुरक्षित नरहने उनलाई लागेको छ । ‘डर लागिरहेको छ । फेरि पनि केही मागे के गर्ने ? अहिले यस्तो हर्कत देखाइराखेका छन् । भविष्यमा यातना दिए के गर्ने ? यस्ताले छोरीलाई मारदिन पनि सक्छन्,’ उनले गुनासो गरिन् । दाइजोको कारण विवाह गर्न नमानेका केटा पक्षले क्षतिपूर्ति दिनुपर्ने र उनीहरुलाई कारबाही हुनुपर्ने उनको माग छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *