सर्वत्र कोरोना त्रास : सकिन थाल्यो औषधि, भारतले लगायो निर्यातमा प्रतिबन्ध

फागुन २१, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ । नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन् । 

‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए । 

व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन् । तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन, यो समाचार आजको अन्नपूर्णमा छ । औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन् । 

पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रित छन् । ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ । नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन् । 

‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन् ।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन् । यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ । 

यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ । कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ । कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन् । अत्यधिक गर्मी क्षेत्रमा पनि भाइरसको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले कहिलेसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने जनाएको छ । 

भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध 

भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै आवश्यक पर्ने औषधि र औषधिमा प्रयोग हुने जैविक कण (एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट-एपीआई) को निर्यात प्रतिबन्ध लगाएको हो ।  

भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन् । चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो । पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो ।  

गत साता भारतको औषध विभागमा बुझाइएको प्रतिवेदनमा एमोक्सिलिन, मोक्सिफ्लोक्सेसिन, डक्सिसिलिनजस्ता एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्मको लामो सूची समावेश थियो । ‘नयाँ घटनाक्रम विकास भएकाले हामी व्यवसायीसँग छलफल गर्छौं,’ विभागका सूचना अधिकारी केसीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *