समाजमा दु:ख परेकालाई सहयोग गर्दा मन शान्त हुन्छ : अध्यक्ष दाहाल

विराटनगर । पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ७ का  जगत प्रसाद दाहाल सेवा निवृत्त शिक्षक हुन् । २०११ सालमा जन्मिएका दाहाल २०४६ सालदेखि अध्ययनको सिलसिलामा विराटनगर भित्रिएका थिए । २८ वर्षसम्म शिक्षक पेसामा आधा जीवन बिताएका उनी हाल विराटनगर ३ भूपी मार्गमा बस्दै आई रहेका छन् । दाहालले शिक्षक पेसाबाट अवकाश पाएसँगै समाजसेवा तर्फ पाइला मोडे ।   

तत्कालीन विराटनगर वडा नम्बर ४ को टोल सङ्गठनको सचिव भएसँगै उनी सामाजिक कार्यमा होमिएका थिए । हाल उनले २०६१ सालमा सुरु भएको सामुदायिक सेवा केन्द्रको अध्यक्षमा रहेर कार्यभार सम्हालिरहेका छन् ।   

बिहान ५ बजेबाट मर्निङ वाकसँगै उनको दैनिकी सुरु हुन्छ । उनको घरमा भन्दा पनि अधिकांश समय सामाजिक कार्यमा नैै बित्ने गर्दछ । अवकाश पछिको १९ वर्षे लामो सामाजिक कार्यानुभवको विषयमा रहेर विराटनगरस्थित भूपी चोकमा भेटिएका अध्यक्ष दाहालसँग मकालु खबरकी संवाददाता सुजाता लिम्बुले गरेको संक्षिप्त कुराकानी :   

हाल के मा व्यस्त हुनुहुन्छ ?   

स्वभावैले पनि म फुर्सदिलो मान्छे, यस्तै सामाजिक काममा नै व्यस्त छु ।   

तपाईँ लामो समय शिक्षक पेसामा आबद्ध हुनुभयो, समाजसेवा प्रति कसरी पाइला मोडियो ? 

पछिल्लो समय समाजमा धेरै विकराल समस्याहरू देखिएको मलाई आभास भयो । कमजोर मान्छेले न्याय शुलभरुपले पाउन नसक्ने अवस्था देखे, न्याय पाउने भए तापनि अन्यायमा परेका कतिपय मानिसहरू सम्बन्धी निकायमा पुग्न नसकेर न्याय पाउन नसकेका घटनाहरू पनि देखे । यस्ता व्यक्तिहरूलाई सेवा, सहयोग गर्न सके समाजमा नयाँ वातावरण सृजना हुन्छ भन्ने धारणाले मैले समाज सेवा तर्फ यात्रा अगाडी बढाएको हो ।   

२८ वर्ष शिक्षक पेसा र १९ वर्षको लामो समयसम्म समाजसेवामा जीवन बिताउनुभयो दुवै पेसामा तपाईँले के फरक पाउनुभयो ?   

लामो हाँसोसहित, भन्नै पर्ने हो भने हामी शिक्षक त माझी हौँ, हामी डुङ्गा तारिरहन्छौँ, हामीले तारेका विद्यार्थी इन्जिनियर, डाक्टर कोही शिक्षक नै भएर आएका छन् । हामी उही रहन्छाँै । तर यसो भनिरहँदा शिक्षक पेसा पनि सामाजिक कार्य नै हो । कलिला मस्तिष्कलाई शिक्षाको उज्यालो बाटोतर्फ लग्न पाउँदा र सही  मार्ग निर्देशन दिन पाउँदा आफैमा गर्व महसुस हुन्थ्यो । अझ उनीहरूले राम्रो नतिजा ल्याउँदा आफूले पढाएका विद्यार्थीले राम्रो क्षेत्रमा काम गरिरहेको थाहा पाउँदा गर्वले छाती चौडा हुन्छ ।   

त्यस्तै समाजमा दुख पाएका, पिडामा परेकालाई सहयोग गर्न पाउँदा र उनीहरूको अनुहारमा हाँसो देख्दा मेरो मन शान्त हुन्छ । म शिक्षक हुँदा १० देखि ४ बजे विद्यार्थीलाई सेवा दिन पाउँथे । अब अवकाश पाएपछि स्वतन्त्र भएर चौबिसै घण्टा सेवा प्रदान गर्न सक्छु । फरक केही छैन भोगाइ र गराई फरक होलान् तर मेरो विचारमा दुवैको कर्म एउटै जस्तो लाग्छ ।   

आर्थिक पक्ष कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

आजसम्म आर्थिक पक्षमा खासै समस्याहरू आइपरेका त छैनन् । समस्या आइपरिहाल्यो भने पेन्सनबाट आएको केही रकम खर्चिन्छु । घरबाट परिवारको साथ सहयोग छ । छोराबुहारी जीवनसंगीनीले पनि साथ दिए कै छिन् । त्यस्तो समस्या त खासै परेको छैन ।   

पछिल्लो समय सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी  एक अर्काका समन्वय भएर विभिन्न काम गरिरहनुभएको छ, समुदाय साझेदारी कस्तो खालको संस्था हो ? 

हो हामी लगभग एक वर्ष देखि सामुदायिक प्रहरी साझेदारीसँग समन्वय गरेर नै काम गरी रहेका छौँ । सामुदायिक प्रहरी साझेदारी भनेको प्रहरी र आम जनतासँग सम्बन्धी काम गर्ने संस्था हो । जुन प्रहरी र जनता साझेदारीको रूपमा रहन्छ । सामुदायिक सेवा केन्द्रमा प्रहरीहरू पनि रहन्छन् । हाम्रो कार्यालय कंचनबारीमा छ त्यहाँ दुई जना प्रहरी कार्यक्षेत्रमा छुट्ट्याइएको छ ।   

विगतदेखि आजसम्म सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी साझेदारीले समाजका लागि कस्ता खालका कामहरू गर्दै आएका छन् ? 

दुवै संस्था जनताको हित र समाजको हितका लागि भएकाले हामी सर्वप्रथम त सामाजिक क्रियाकलापहरू गर्ने गर्दछौ । समाजमा भएका विसङ्गति, विकृतिहरूलाई निर्मूल बनाउने उद्देश्ये जनचेतनामूलक कामहरू पनि गर्दै आईरहका छौँ । 

समाजमा हुने गरेका आपराधिक घटनाहरूको न्यूनीकरण गर्ने कार्य गर्दछौँ । त्यस्तै सरसफाइ, स्वास्थ्य सम्बन्धी कामहरू गर्दै आइरहेका छौँ । विकास निर्माण, महिला हिंसा सम्बन्धीको कार्यक्रमहरू पनि गर्ने गरेका छौ ।   

त्यस्तै समाजमा हुने साना तिना झैँ झगडालाई समाज भेला पारी प्रहरीको रोहबरमा मिलाउने काम गर्दछौँ । यदि हामी बिच मिल्न नसकेको खण्डमा प्रहरी कहाँ पठाउने गर्छौँ ।   

विकास निर्माणका कार्य भन्नु भयो नि, कस्ता खालका विकास निर्माणका कार्यहरू भए त संस्थाको माध्यमबाट ? 

अहिले विराटनगर महानगरपालिको विभिन्न क्षेत्रहरूमा विकास निर्माण कार्य चलिरहेको अवस्था छ । त्यही अनुसार बाटोमा कहीँ होम पाइपको आवश्यकता परेको खण्डमा नगरपालिकाले राखेका छैनन् भने हामी एउटा डेलिकेट जस्तो गर्छौ र होम पाइप राख्ने काम गर्दछौ ँ। वृक्षा रोपण पनि गर्ने गरेका छौँ ।   

महिला हिंसा सम्बन्धी कस्ता खालका समस्याहरू आउने गर्दछ तपाईँहरू माझ ? 

अधिकांश महिलाहरू श्रीमान् लागु औषधमा परी घर झगडा गर्ने, कुटपिट गर्ने श्रीमती, छोराछोरीलाई बेवास्ता गर्ने जस्ता घटनाहरू आउने गर्दछ । यस्ता खालका घटनालाई सकेसम्म हामी बुद्धिजीवी, प्रतिष्ठित व्यक्तिहरूलाई जम्मा गरेर सम्झाउने संस्थाको रोहबरमा नै मेलमिलापको वातावरण खोज्छौँ कतिपय समस्या समाधान गरेर मिलाएर पठाएका पनि छौँ । नमिल्ने घटनालाई  सम्बन्धित निकायमा पठाउने गर्दछौँ ।   

कतिको सन्तुष्टि हुनुहुन्छ ?   

आजभोलि त प्रहरीको पनि साथ, सहयोग मिलेकाले विगत भन्दा पछिल्लो समय काम गर्न पनि सहज वातावरण भएकाले सन्तुष्टि नै छु ।   

अधिकांश समाजसेवामा होमिने व्यक्तिहरू आफ्नै व्यक्तिगत लगानीमा सेवा दिँदै आइरहेका हुन्छन्, सरकारको तर्फबाट कस्तो खालको अपेक्षा राख्नुभएको छ ? 

हुन त समाजसेवा गर्नु भनेको धार्मिक कार्य हो । कसैको हितका लागि काम गर्नु पाउनु भनेको गर्विलो विषय हो । तर कहिलेकाहीँ गाह्रो अप्ठयारोहरु आइपर्दा राज्यले पनि साथ दिए काम गर्न अझ सहज हुने थियो । हुन त सामुदायिक सेवा केन्द्र देशैभरि छरिएको छ । प्रहरीमा सामुदायिक शाखा भनेर पनि छ । तर राज्यले भने साधारण खर्चको पनि व्यवस्था गरेको छैन । सामान्य आर्थिक सहयोग सरकारको तर्फबाट भइदिए सहज हुने थियो । किन भने जनता भन्दा ठुलो प्रशासन हुनै सक्दैन । हामी जनतासँग साझेदारी भएर काम गर्ने भएकाले सरकारसँग आर्थिक पक्षको अपेक्षा राखेका छौँ ।   

सामुदायिक सेवा केन्द्रको अवधारणा कसरी निर्माण भयो ? 

जब म शिक्षा पेसाबाट अवकाश पाए, तत्पश्चात् यहाँको नगरपालिकाले टोल सङ्गठनको सचिव बनाए । त्यो बेला तत्कालीन ४ नम्बर वडाको म सचिव भए, तत्पश्चात् प्रत्येक टोल टोलमा मिटिङ राख्न जाँदा कसैले पानी, बाटोका समस्या देखाउँथे । टोलवासीको समस्यालाई  नगरपालिकाको पहलमा विकास निर्माणको कार्य हुन थाले पनि विडम्बना टोल सङ्गठन आधिकारिक हुन सकेन । हाम्रो कुरामा नेपाल प्रहरीले साथ दिने भयो । यसमा प्रशासनिक पनि भयो यसले पक्कै सेवा सुविधा पनि पु¥याउँछ भन्ने हिसाबले काम गर्न सुरु गरियो । त्यसपछि साझेदारी प्रहरी निर्माण भयो यो क्षेत्रमा प्रहरीले खेलेको भूमिका प्रंशनीय नै छ । किनभने हामीलाई प्रशासन पनि चाहिन्छ ।   

सामुदायिक प्रहरी साझेदारीसँग सहकार्य गर्दाको अनुभव ? 

विगतका दिनहरूमा प्रहरी देख्ने बित्तिकै भाग्ने डराउने गर्दथे जनताहरू । पछिल्लो समय सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लिएर जब नेपाल प्रहरी जनता माझ आउन थाले तत् पश्चात् प्रहरी माथि हुने नकारात्मक अवधारणा हटेको छ । प्रहरी भनेको पक्रिहाल्ने अभद्र व्यवहार गर्ने होइन हामी सर्वसाधारणलाई चाहिने नै संस्था हो भन्ने धारणा जागेको छ । यो हिसाबले पनि प्रहरीले ल्याएको प्रहरी मेरो साथी भन्ने नाराले सार्थकता पाएको छ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *